सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कसरी ध्यान दिन सक्छु?

म कसरी ध्यान दिन सक्छु?

 म किन ध्यान दिन सक्दिनँ?

 “पहिलाजस्तो मलाई किताबहरू पढ्‌न मनै लाग्दैन। अहिले त मलाई लामा अनुच्छेदहरू समेत पढ्‌न मन लाग्दैन।”​—⁠एलेन।

 “मैले चाहेको जस्तो तरिकामा भिडियो चलेको छैन भने म त्यसलाई छिटो-छिटो चलाउने गर्छु।”​—⁠मिरेन्डा।

 “कुनै महत्त्वपूर्ण कुरामा ध्यान दिइरहेको बेला मेरो फोन बन्द भयो भने ‘मलाई कसले मेसेज गर्दै होला?’ भनेर मात्रै सोच्ने गर्छु।”​—⁠जेन।

 के प्रविधिले हामीलाई ध्यान दिन बाधा पुऱ्‍याउँछ? कसै-कसैले पुऱ्‍याउँछ भन्छन्‌। लेखक र व्यवस्थापनसम्बन्धी परामर्शदाता निकोलस कार यसो भन्छन्‌, “हामी जति धेरै इन्टरनेट चलाउँछौँ, त्यति नै आफ्नो दिमागलाई भड्‌काइरहेका हुन्छौँ। त्यसो गर्दा दिमागले छिटो-छिटो जानकारी दिने काम त गर्छ तर त्यसले राम्ररी ध्यान दिन सक्दैन।”  a

 प्रविधिले तपाईँको ध्यान भङ्‌ग गर्न सक्ने तीन वटा अवस्था विचार गर्नुहोस्‌।

  •   कुराकानी गर्दा। मारिया नाम गरेकी एक युवती यसो भन्छिन्‌: “मानिसहरू आमनेसामने कुराकानी गर्दा समेत अगाडिको व्यक्‍तिलाई पूरा ध्यान दिनुको साटो आफ्नो फोनमा मेसेज पठाउने, गेम खेल्ने अथवा सामाजिक सञ्जाल चलाउने गर्छन्‌।”

  •   क्लासमा हुँदा। डिजिटल किड्‌स भन्‍ने किताब यसो भन्छ: “क्लास भइरहेको बेला आफूले मेसेज पठाउन, नेट चलाउन अथवा अरू मनोरञ्जनका कुराहरू हेर्न इलेक्ट्रोनिक डिभाइसहरू प्रयोग गर्ने गरेको कुरा थुप्रै विद्यार्थी बताउँछन्‌।” तिनीहरूले आफ्ना डिभाइसहरू “पढाइसित सम्बन्धित नभएका कुराहरू”-को लागि प्रयोग गरिरहेका छन्‌।

  •   पढ्‌दै गर्दा। बाइस वर्षीय क्रिस यसो भन्छन्‌: “हरेक चोटि मेरो फोनको घण्टी बज्दा त्यसलाई नहेर्न मलाई एकदम गाह्रो लाग्छ।” तपाईँ स्कुलको विद्यार्थी हुनुहुन्छ र तपाईँको इलेक्ट्रोनिक डिभाइसले तपाईँको ध्यान भङ्‌ग गऱ्‍यो भने तपाईँलाई एक घण्टाको होमवर्क पूरा गर्न दुई-तीन घण्टाभन्दा बढी समय पनि लाग्न सक्छ।

 निष्कर्ष: तपाईँ प्रविधिलाई ज्यादै महत्त्व दिनुहुन्छ भने प्रविधिको चङ्‌गुलमा फस्नुहुनेछ र तपाईँलाई ध्यान दिन गाह्रो हुनेछ।

ध्यान खलबलिएको दिमाग भनेको बेकाबु घोडाजस्तै हो, जसलाई तपाईँ आफ्नो काबुमा राख्न सक्नुहुन्‍न

 राम्ररी ध्यान दिन के-के गर्न सकिन्छ?

  •   कुराकानी गर्दा। बाइबल भन्छ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” (फिलिप्पी २:⁠४) अरूको कुरा ध्यान दिँदै सुनेर तिनीहरूप्रति चासो देखाउनुहोस्‌। उक्‍त व्यक्‍तिको आँखामा हेरेर कुरा गर्नुहोस्‌ र डिभाइसलाई आफ्नो ध्यान भङ्‌ग गर्न नदिनुहोस्‌।

     “कुराकानी गर्दा आफ्नो फोन हेर्न मन लागे तापनि त्यसो नगर्नुहोस्‌। कुरा गरिरहेको व्यक्‍तितर्फ पूरै ध्यान दिएर तिनीप्रति आदर देखाउनुहोस्‌।”​—⁠थोमस।

     सुझाव: कुराकानी गर्दा फोनलाई आफ्नो अगाडि नराख्नुहोस्‌। तपाईँको ध्यान भङ्‌ग गर्ने केही न केही कुरा फोनमा आउन सक्ने भएकोले फोन आफ्नो अगाडि राख्दा मात्रै पनि कुराकानीमा बाधा पुग्न सक्छ भनेर अनुसन्धानकर्ताहरू बताउँछन्‌।

  •   क्लासमा हुँदा। बाइबल भन्छ: “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।” (लुका ८:१८) यदि तपाईँको स्कुलले तपाईँलाई क्लासमा इन्टरनेट चलाउने अनुमति दिन्छ भने, यो सिद्धान्तलाई मनमा राख्दै पढाइमा ध्यान दिनुपर्ने बेला मेसेज चेक नगर्नुहोस्‌, गेम नखेल्नुहोस्‌ र अनलाइनमा च्याट नगर्नुहोस्‌।

     “क्लासमा अझै ध्यान दिने कोसिस गर्नुहोस्‌। नोट टिप्नुहोस्‌। सम्भव छ भने क्लासमा अगाडितिर बस्नुहोस्‌। यसो गर्दा अरू कुराहरूले तपाईँको ध्यान भङ्‌ग गर्नेछैन।”​—⁠क्यारेन।

     सुझाव: कम्प्युटरमा नोट टिप्नुको साटो कापीमा टिप्नुहोस्‌। अनुसन्धानले देखाएअनुसार यसो गर्दा तपाईँको ध्यान सजिलै भङ्‌ग हुनेछैन र लेखेको कुरा तपाईँलाई याद पनि हुनेछ।

  •   पढ्‌दै गर्दा। बाइबल भन्छ: “बुद्धि हासिल गर; समझ हासिल गर।” (हितोपदेश ४:⁠५) यसो गर्नु भनेको जाँचमा पास हुन पाठहरू सरसरती हेर्नु मात्र होइन बरु गहिरिएर बुझ्नु हो।

     “पढ्‌दै गर्दा म आफ्नो ट्याबलेटलाई फोन नआउने सेटिङमा राख्ने गर्छु र आफूले गरिरहेको कुरामै ध्यान केन्द्रित गर्ने कोसिस गर्छु। म नोटिफिकेसन पनि चेक गर्दिनँ। केही कुरा महत्त्वपूर्ण छ जस्तो लागेमा म त्यो लेखिहाल्छु।”​—⁠क्रिस।

     सुझाव: ध्यान नखलबलिने ठाउँमा पढ्‌ने गर्नुहोस्‌। त्यस ठाउँलाई सफा र व्यवस्थित राख्नुहोस्‌।

a द स्यालोस्‌​—⁠ह्वाट द इन्टरनेट इज डुइङ्‌ग टु आवर ब्रेन किताबबाट लिइएको।