सीधै सामग्रीमा जाने

परिवारका लागि | वैवाहिक जीवन

के तपाईँलाई जीवनसाथीको कुनै बानीले गर्दा दिक्क लाग्छ?

के तपाईँलाई जीवनसाथीको कुनै बानीले गर्दा दिक्क लाग्छ?
  •   तपाईँको जीवनसाथीलाई सबै कुरा योजना बनाएर गर्न मन पर्छ तर तपाईँ भने ‘जे पर्ला, टर्ला’ भन्‍ने स्वभावको हुनुहुन्छ।

  •   तपाईँको जीवनसाथीलाई सबैसित घुलमिल हुन, रमाइलो गर्न मन पर्छ तर तपाईँ भने शान्त स्वभावको हुनुहुन्छ।

 के तपाईँलाई आफ्नो जीवनसाथीको कुनै बानीले गर्दा दिक्क लाग्छ? त्यसमा मात्र ध्यान दिनुभयो भने वैवाहिक सम्बन्धमा फाटो आउन सक्छ। त्यसैले बाइबल यसो भन्छ: “अरूको कुरा काटिरहनेले घनिष्ठ मित्रहरूबीच फूट गराउँछ।”—हितोपदेश १७:९.

 जीवनसाथीको कुनै बानीले गर्दा तपाईँहरूबीच खटपट हुन दिनुको साटो तिनको त्यस बानीको राम्रो पक्ष हेर्ने कोसिस गर्नुहोस्‌।

यस लेखमा

 जीवनसाथीको दिक्कलाग्दो बानीप्रति सकारात्मक दृष्टिकोण

 तपाईँको जीवनसाथीको दिक्कलाग्दो बानीको अर्को पाटो तपाईँलाई मन पर्ने गुण पनि हुन सक्छ। तीन वटा उदाहरण विचार गरौँ:

 “मेरो श्रीमान्‌ कुनै काम गर्नुपर्दा वा कतै जान तयार हुनुपर्दा एकदमै ढिला गर्नुहुन्छ। तर उहाँको यही बानीले गर्दा उहाँ सबैसँग र मसँग पनि धीरजी हुन सक्नुभएको छ। कहिलेकाहीँ उहाँको यो बानीले गर्दा साह्रै दिक्क लाग्छ तर उहाँको यही बानीको अर्को पाटो मलाई एकदमै मन पर्छ।”—चेल्सी।

 “मेरी श्रीमती हरेक कुराको योजना बनाउँछिन्‌ र सबै कुरा योजनाअनुसारै ठ्याक-ठ्याक भएको चाहन्छिन्‌ तर तिनको यो बानीले गर्दा कहिलेकाहीँ त दिक्क लाग्छ। तर अर्कोतर्फ तिनले एक-एक कुरा राम्ररी विचार गर्ने भएकोले तिनी हरेक कुराको लागि तयार अवस्थामा हुन्छिन्‌।”—क्रिस्टोफर।

 “मेरो श्रीमान्‌ जे कुरालाई पनि हल्कासित लिनुहुन्छ; यसले गर्दा मलाई दिक्क लाग्छ। तर सुरुमा यही स्वभावले नै मलाई उहाँप्रति आकर्षित गरेको थियो। जस्तोसुकै तनावपूर्ण अवस्थामा पनि शान्त रहने र नआत्तिने उहाँको बानी मलाई मन पर्छ।”—ड्यानिएल।

 चेल्सी, क्रिस्टोफर र ड्यानिएलले सिकेझैँ जीवनसाथीको बलियो र कमजोर पक्ष भनेको प्रायजसो एउटै गुणका दुई फरक पक्ष हुन्‌। त्यसैले जीवनसाथीको कमजोर पक्ष हटाउन खोज्नु भनेको सिक्काको दुइटा पाटोमध्ये एउटा पाटो हटाउन खोज्नुजस्तै हो। तपाईँले तिनको कमजोर पक्ष हटाउन खोज्दा बलियो पक्ष पनि स्वतः हट्‌छ।

 तर कुनै-कुनै बानीको सकारात्मक पक्ष नहुन सक्छ। उदाहरणको लागि, बाइबलले कसै-कसैमा “झट्टै रिसाउने” बानी हुन्छ भनी बताउँछ। (हितोपदेश २९:२२) त्यस्तो व्यक्‍तिले “हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचन”-जस्ता दुर्गुणहरू त्याग्न सक्दो कोसिस गर्नुपर्छ। aएफिसी ४:३१.

 जीवनसाथीको कुनै बानी दुर्गुण नै त नहोला। तैपनि त्यसले गर्दा तपाईँलाई दिक्क लाग्छ भने बाइबलको यो सुझाव लागू गर्नुहोस्‌: “यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई सहिरहो।”—कलस्सी ३:१३.

 साथै जीवनसाथीको त्यस बानीको सकारात्मक पक्षमा ध्यान दिने कोसिस गर्नुहोस्‌। सायद सुरुमा त्यही गुणले गर्दा नै तपाईँ तिनीप्रति आकर्षित हुनुभएको थियो। जोसेफ नाम गरेका एक श्रीमान्‌ यसो भन्छन्‌: “जीवनसाथीको दिक्कलाग्दो बानीमा मात्र ध्यान दिनु भनेको हिराको चमकमा नभई त्यसका तीखा धारहरूमा ध्यान दिनुजस्तै हो।”

 छलफलका लागि सुझावहरू

 सुरुमा यी प्रश्‍नहरू छुट्टाछुट्टै विचार गर्नुहोस्‌। त्यसपछि सँगै मिलेर आ-आफ्नो जवाफ छलफल गर्नुहोस्‌।

  •   जीवनसाथीको कुनै बानीले गर्दा वैवाहिक सम्बन्धमा खटपट भइरहेको छ कि? छ भने त्यो बानी कुन हो?

  •   त्यो बानी साँच्चै खराबै हो कि तपाईँलाई दिक्कलाग्दो लागेको मात्र हो?

  •   त्यो बानीको सकारात्मक पक्ष पनि छ कि? छ भने त्यो के हो अनि तपाईँलाई त्यो पक्ष किन मन पर्छ?