सीधै सामग्रीमा जाने

दिनेबारे बाइबलले के सिकाउँछ?

दिनेबारे बाइबलले के सिकाउँछ?

बाइबलको जवाफ

 बाइबल हामीलाई राजीखुसीले अनि उचित मनसाय राखेर दिन सिकाउँछ। यसो गर्दा लिने व्यक्‍ति मात्रै होइन दिने व्यक्‍ति पनि आनन्दित हुन सक्छ। (हितोपदेश ११:२५; लुका ६:३८) येसुले यसो भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

 कसरी दिँदा परमेश्‍वर खुसी हुनुहुन्छ?

 राजीखुसीले दियौँ भने परमेश्‍वर खुसी हुनुहुन्छ। बाइबल यसो भन्छ, “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

 मनैदेखि दिनु भनेको उपासनाको एउटा भाग हो र यसलाई परमेश्‍वर स्विकार्नु हुन्छ। (याकुब १:२७) खाँचोमा परेकाहरूलाई उदार भई मदत गऱ्‍यौँ भने परमेश्‍वरसँगै काम गरिरहेका हुन्छौँ अनि यस्तो दयालु कामलाई परमेश्‍वर आफूलाई सापटी दिएसरह ठान्‍नुहुन्छ। (हितोपदेश १९:१७) उदार भई दिने व्यक्‍तिलाई परमेश्‍वर इनाम दिनुहुन्छ भनी बाइबल सिकाउँछ।—लुका १४:१२-१४.

 कसरी दिँदा परमेश्‍वर मन पराउनुहुन्‍न?

 खराब मनसाय राखेर दिँदा, जस्तै:

 परमेश्‍वरले मन नपराउनुहुने कामकुराको लागि दिँदा। उदाहरणको लागि, जुवा खेल्न वा लागूपदार्थ सेवन गर्न अनि रक्सी पिउनको लागि कसैलाई पैसा दिन्छौँ भने त्यो गलत हो। (१ कोरिन्थी ६:९, १०; २ कोरिन्थी ७:१) त्यसैगरि, काम गर्ने क्षमता हुँदाहुँदै पनि काम गर्न नचाहने व्यक्‍तिहरूलाई दिनु उचित होइन।—२ थिस्सलोनिकी ३:१०.

 पारिवारिक जिम्मेवारी पूरा गर्न बाधा पुऱ्‍याउँदा। परिवारको शिरले परिवारको आवश्‍यकता पूरा गर्नुपर्छ भनेर बाइबलले सिकाउँछ। (१ तिमोथि ५:८) त्यसकारण परिवारको शिरले आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न नै नसक्ने गरी अरूलाई दिनु पनि राम्रो होइन। परमेश्‍वरलाई भेटी अर्पण गरेपछि आफ्नो आमाबुबाको हेरचाह गर्नुपर्दैन भनेर सोच्ने मानिसहरूको येसुले निन्दा गर्नुभयो।—मर्कुस ७:९-१३.