सीधै सामग्रीमा जाने

सृष्टि या संयोग?

सि क्युकम्बरको अचम्मलाग्दो छाला

सि क्युकम्बरको अचम्मलाग्दो छाला

 सि क्युकम्बर हेर्दा काँक्रोजस्तो देखिने एक जीव हो, जुन समुद्रको गहिराइमा र मुगा ढिस्कोहरूको चेपमा बस्छ। त्यसको जीउ गिर्खैगिर्खा परेको जस्तो र कहिलेकाहीँ चाहिँ काँडैकाँडा उम्रिएको जस्तो देखिन्छ। त्यो असाध्यै लचकदार हुन्छ; त्यसले आफ्नो जीउ केही मिनेट वा केही सेकेन्डमै मैनजस्तो नरम वा काठजस्तो कडा बनाउन सक्छ। यस्तो लचकताले गर्दा सि क्युकम्बर साँगुरो चेपहरूमा पनि सजिलै छिर्न सक्छ र भित्र छिरेपछि त्यसले आफ्नो जीउ कडा बनाउँछ, जसले गर्दा शत्रुले त्यसलाई चेपबाट तान्‍न सक्दैन। सि क्युकम्बरले यसो गर्न सक्नुको रहस्य त्यसको अचम्मलाग्दो छालामा लुकेको छ।

 विचार गर्नुहोस्‌: सि क्युकम्बरले आफ्नो छाला आवश्‍यकताअनुसार कडा, ठिक्कको र नरम बनाउन सक्छ। त्यसको लागि सि क्युकम्बरले छालामा भएका फाइबरहरूलाई जोड्‌ने वा छुट्ट्याउने गर्छ। यसो गर्न त्यसले आफ्नो शरीरमा भएका कडा वा नरम बनाउने प्रोटिनहरू प्रयोग गर्छ।

 कडा बनाउने प्रोटिनहरूले फाइबरहरूलाई जोड्‌न तन्तुमा स-साना पुलहरू बनाउँछ, जसले गर्दा छाला कडा हुन्छ। नरम बनाउने प्रोटिनहरूले चाहिँ फाइबरहरूलाई छुट्ट्याउने काम गर्छ, जसले गर्दा छाला नरम हुन्छ। सि क्युकम्बरले आफ्नो छाला यत्तिसम्म नरम बनाउन सक्छ कि त्यो पग्लनै लागेको जस्तो देखिन्छ।

 वैज्ञानिकहरूले सि क्युकम्बरको छालाको यस्तो लचकताको नक्कल गरेर विभिन्‍न कुराहरू बनाइरहेका छन्‌। तिनीहरूको एउटा लक्ष्य भनेको मस्तिष्कको शल्यक्रिया गर्दा चाहिने इलेक्ट्रोड्‌स बनाउनु हो, जुन मस्तिष्कमा ठीक ठाउँमा राख्न सकिने हदसम्मको कडा होस्‌ तर ठाउँमा पुगेपछि नरम पनि होस्‌। यस्तो खालको इलेक्ट्रोड्‌स बनाउन सकियो भने शरीरले त्यसलाई नस्विकार्ने सम्भावना कम हुन्छ।

 तपाईँको विचार कस्तो छ? सि क्युकम्बरको अचम्मलाग्दो छाला क्रमविकासको उपज हो या सृष्टि?