यहोवाका साक्षीहरू “मलाई चासो छैन” भन्ने मानिसहरूलाई किन फेरि भेट्न जान्छन्?
यहोवाका साक्षीहरू परमेश्वरलाई र आफ्ना छिमेकीहरूलाई प्रेम गर्छन् र त्यही प्रेमले गर्दा तिनीहरू सबै मानिसलाई बाइबलको सन्देश सुनाउन उत्प्रेरित हुन्छन् अनि “मलाई चासो छैन” भन्ने मानिसहरूलाई समेत सन्देश सुनाउन पछि हट्दैनन्। (मत्ती २२:३७-३९) परमेश्वरप्रतिको प्रेमले गर्दा हामी मानिसहरूलाई ‘राम्ररी बुझाउने’ सन्दर्भमा येशूले दिनुभएको आज्ञा पालन गर्न उत्प्रेरित हुन्छौं। (प्रेषित १०:४२; १ यूहन्ना ५:३) त्यसैले पुरातन समयमा परमेश्वरका भविष्यवक्ताहरूले गरेझैं हामी पनि मानिसहरूकहाँ पटक-पटक परमेश्वरको सन्देश सुनाउन गइरहन्छौं। (यर्मिया २५:४) हामी छिमेकीहरूलाई प्रेम गर्छौं, त्यसैले मानिसको जीवन बचाउने “राज्यको सुसमाचार” सबैलाई सुनाउँछौं, सुरुमा चासो नदेखाएकाहरूलाई समेत फेरि सुनाउँछौं।—मत्ती २४:१४.
सुरुमा जाँदा घरधनीले चासो नदेखाएको तर पछि फेरि त्यही घरमा जाँदा चासो देखाउने मानिसहरू भेटिएको अनुभव हामी कहिलेकाहीं गर्छौं। त्यसो हुनुको तीन वटा कारण यसप्रकार छन्:
मानिसहरू कोठा सर्छन्।
घरका अरू सदस्यले हाम्रो सन्देशप्रति चासो देखाउँछन्।
मानिसहरू परिवर्तन हुन्छन्। आफ्नो व्यक्तिगत परिस्थिति वा संसारको अवस्था बदलिंदा मानिसहरूले “परमेश्वरको मार्गनिर्देशनको खाँचो” अझ महसुस गर्न थाल्छन् अनि उनीहरूमा बाइबलको सन्देश बुझ्ने इच्छा जाग्न सक्छ। (मत्ती ५:३) प्रेषित पावलजस्तै सुरुमा हाम्रो सुसमाचारको विरोध गर्नेहरूको मन पछि पग्लन सक्छ र उनीहरू हाम्रो सन्देशप्रति सकारात्मक हुन सक्छन्।—१ तिमोथी १:१३.
तर हामी कसैलाई पनि परमेश्वरको सन्देश सुन्न जबरजस्ती गर्दैनौं। (१ पत्रुस ३:१५) कसको उपासना गर्ने भन्ने सन्दर्भमा प्रत्येक व्यक्तिले आफैले निर्णय गर्नुपर्छ भन्ने कुराको हामी कदर गर्छौं।—व्यवस्था ३०:१९, २०.