सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू किन युद्धमा भाग लिंदैनन्‌?

यहोवाका साक्षीहरू किन युद्धमा भाग लिंदैनन्‌?

 निम्न कारणहरूले गर्दा यहोवाका साक्षीहरू युद्धमा भाग लिंदैनन्‌:

  1.  १. परमेश्‍वरको आज्ञा पालन गर्ने भएकोले। परमेश्‍वरका सेवकहरूले “आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली . . . बनाउनेछन्‌” अनि “युद्ध गर्न सिक्नेछैनन्‌” भनेर बाइबलले बताएको छ।—यशैया २:४.

  2.  २. येशूको आज्ञा पालन गर्ने भएकोले। येशूले प्रेषित पत्रुसलाई यसो भन्‍नुभएको थियो: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।” (मत्ती २६:५२) यसरी येशूले आफ्ना अनुयायीहरूले युद्ध गर्न हातहतियार उठाउनु हुँदैन भनेर सङ्‌केत गर्नुभयो।

     राजनैतिक मामिलाहरूमा तटस्थ रहेर ‘संसारको भाग नहुनु’ भनेर येशूले दिनुभएको आज्ञा येशूका चेलाहरू पालन गर्छन्‌। (यूहन्‍ना १७:१६) सैन्य गतिविधिको तिनीहरू विरोध गर्दैनन्‌ र सैन्य सेवामा भर्ती हुनेहरूको निर्णयमा पनि भाँजो हाल्दैनन्‌।

  3.  ३. अरूलाई प्रेम गर्ने भएकोले। येशूले आफ्ना चेलाहरूलाई “आपसमा प्रेम गर” भन्‍ने आज्ञा दिनुभयो। (यूहन्‍ना १३:३४, ३५) त्यसैले तिनीहरूले विश्‍वव्यापी भ्रातृत्व कायम राख्न सकेका छन्‌ र सँगी उपासकहरूसित तिनीहरू कहिल्यै युद्ध गर्दैनन्‌।—१ यूहन्‍ना ३:१०-१२.

  4.  ४. सुरु-सुरुका ख्रीष्टियनहरूको उदाहरण अनुकरण गर्ने भएकोले। धर्म र युद्धको विश्‍वकोश (अङ्‌ग्रेजी) यसो भन्छ: “येशूका सुरु-सुरुका चेलाहरूले सेनामा भर्ती हुन अनि युद्धमा भाग लिनदेखि सरासर इन्कार गरेका थिए।” किनभने “येशूले सिकाउनुभएको प्रेमको सिद्धान्त अनि शत्रुलाई पनि प्रेम गर्नुपर्छ भन्‍ने शिक्षासित यो कुरा मेल खाँदैन” भनेर तिनीहरूलाई राम्ररी थाह थियो। साथै सुरु-सुरुका ख्रीष्टियन र सैन्य सेवाबारे जर्मन धर्मविद्‌ पिटर माइनहोल्टले यसो भने: “ख्रीष्टियन हुनु र सैनिक हुनुलाई एकदमै असङ्‌गत ठानिथ्यो।”

समाजमा हामीले पुऱ्‍याएको टेवा

 यहोवाका साक्षीहरू असल नागरिक हुन्‌। तिनीहरू आफ्नो देशको लागि कुनै खतरा होइनन्‌। हामी सरकारी अख्तियारको आदर गर्छौं किनभने हामी बाइबलका यी आज्ञा पालन गर्छौं:

  •   “हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌।”—रोमी १३:१.

  •   “जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”—मत्ती २२:२१.

 त्यसकारण हामी देशको नियम-कानुन मान्छौं, कर तिर्छौं अनि जनहितको लागि गरिने सरकारी कामकुरामा योगदान पुऱ्‍याउँछौं।