सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“मेरो मनमा जवाफभन्दा प्रश्‍न धेरै थिए”

“मेरो मनमा जवाफभन्दा प्रश्‍न धेरै थिए”
  • जन्म मिति: १९७६

  • जन्म स्थान: होण्डुरस

  • पृष्ठभूमि: चर्चका पास्टर

मेरो विगत:

 मेरो जन्म होण्डुरसको ला सेइबामा भएको थियो। पाँच जना छोराछोरीमध्ये म कान्छो हुँ र म एक्लो छोरा हुँ। परिवारमा म मात्र बहिरो हुँ। हामी बस्ने टोल सुरक्षित थिएन र हामी धेरै गरिब थियौँ। काम गर्ने ठाउँमा मेरो बुबाको दुर्घटना भयो र उहाँ बित्नुभयो। त्यसपछि हाम्रो जीवन झनै कष्टकर भयो। त्यतिबेला म करिब चार वर्षको मात्र थिएँ।

 मेरा दिदीहरूको र मेरो हेरचाह गर्न आमा काममा धेरै खटिनुहुन्थ्यो तर मेरो लागि लुगा किनिदिन आमासँग कहिल्यै पैसा हुँदैनथ्यो। पानी पर्दा न्यानो कपडा नभएकोले जाडो सहेर बस्नुपर्ने हुन्थ्यो।

 हुर्कँदै जाँदा मैले होण्डुरस साङ्‌केतिक भाषा (LESHO) सिकेँ, जसले गर्दा मैले अरू बहिराहरूसँग कुराकानी गर्न सकेँ। तर मेरी आमा र दिदीहरूलाई साङ्‌केतिक भाषा आउँदैनथ्यो। त्यसैले उहाँहरू मसँग जसोतसो इसारा गरेर बोल्नुहुन्थ्यो। तर आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो र मलाई खतराहरूबाट जोगाउनुभयो। आफूलाई जति साङ्‌केतिक आउँथ्यो, त्यसैको भरमा आमाले मलाई चुरोट र रक्सी खानु हुँदैन भनेर सम्झाउनुहुन्थ्यो। यसले गर्दा म कुलतहरूमा फस्नदेखि जोगिएँ र यसको लागि म आमाप्रति आभारी छु।

 म सानो छँदा आमाले मलाई क्याथोलिक चर्च लैजानुहुन्थ्यो। तर त्यहाँ दोभासे नभएकोले म केही बुझ्दिनथेँ। मलाई साह्रै झ्याउ लाग्थ्यो। त्यसैले दस वर्षको भएपछि चर्च जानै छोडिदिएँ। तर म परमेश्‍वरबारे अझ धेरै कुरा जान्‍न चाहन्थेँ।

 सन्‌ १९९९ मा २३ वर्षको छँदा मैले अमेरिकाबाट आएको एक जना महिलालाई भेटेँ। तिनी इभान्जेलिकल चर्चको सदस्य थिइन्‌। तिनले मलाई बाइबलका कुराहरू सिकाइन्‌ र अमेरिकी साङ्‌केतिक भाषा (ASL) पनि सिकाइन्‌। बाइबलका कुराहरू मलाई धेरै मनपऱ्‍यो। त्यसैले मैले पास्टर बन्‍ने निर्णय गरेँ। ख्रिष्टियनहरूले बहिराहरूलाई दिइरहेको तालिम लिन म पोर्टो रिको गएँ। सन्‌ २००२ मा म ला सेइबा फर्केँ र केही साथीहरूसित मिलेर बहिराहरूको लागि चर्च खोलेँ। तिनीहरूमध्ये एक जना प्याट्रिसिया थिइन्‌ र पछि मैले उनीसित विवाह गरेँ।

 चर्चको पास्टर भएकोले म होण्डुरस साङ्‌केतिक भाषामा प्रवचन दिन्थेँ, बाइबलका कथाहरूका चित्रहरू देखाउँथेँ अनि बहिराहरूलाई बुझ्न सजिलो होस्‌ भनेर ती कथाहरू अभिनय पनि गरेर देखाउँथेँ। म नजिकैका सहरहरूमा गएर बहिराहरूलाई ढाडस दिन्थेँ र समस्यामा परेकाहरूलाई मदत पनि गर्थेँ। म मिसनरी भएर अमेरिका र जाम्बिया पनि गएँ। तर हाँसउठ्‌दो कुरा त मलाई बाइबलको विषयमा खासै थाह थिएन। मलाई जे सिकाइएको थियो र मैले चित्रहरूबाट जे बुझेको थिएँ, त्यही सिकाउँथेँ। नढाँटी भन्‍नुपर्दा मेरो मनमा जवाफभन्दा प्रश्‍न धेरै थिए।

 एकदिन मेरो चर्चका केही सदस्यहरूले मेरो विषयमा झूटा कुराहरू फैलाउन थाले। तिनीहरूले म जँड्याहा हो र मेरो अरू नै कोहीसित सम्बन्ध छ भनेर हल्ला फैलाए। मलाई साह्रै दुःख लाग्यो अनि रिस पनि उठ्यो। त्यसको केही समयपछि प्याट्रिसिया र मैले चर्च छोड्यौँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 यहोवाका साक्षीहरू प्याट्रिसिया र मलाई भेट्‌न थुप्रै चोटि आएका थिए तर हामी सधैँ तिनीहरूलाई फर्काइदिन्थ्यौँ। चर्च छोडेपछि भने प्याट्रिसिया एक साक्षी दम्पती थोमस र लिक्सीसँग बाइबल अध्ययन गर्न राजी भइन्‌। उहाँहरू बहिरा नभए पनि साङ्‌केतिक भाषा सिक्नुभएको थियो। यसले मेरो मनै छोयो। त्यसैले म पनि प्याट्रिसियासँगै अध्ययनमा बस्न थालेँ।

 हामीले केही महिना अमेरिकी साङ्‌केतिक भाषाको भिडियोहरूबाट अध्ययन गऱ्‍यौँ। तर हाम्रा केही साथीहरूले यहोवाका साक्षीहरू मानिसहरूको पछि लाग्ने गुट हो भनेर बताए। त्यसैले हामीले अध्ययन गर्न छोड्यौँ। थोमसले यहोवाका साक्षीहरू मानव नेताहरूको पछि लाग्दैनन्‌ भनेर थुप्रै प्रमाणहरू देखाएर बुझाउन खोज्नुभए तापनि मैले उहाँको कुरा पत्याइनँ।

 केही महिनापछि प्याट्रिसियालाई डिप्रेसनले गर्दा धेरै गाह्रो भयो। तिनले यहोवाका साक्षीहरूलाई फेरि मेरो घरमा पठाइदिनुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गरिन्‌। त्यसको केही समयपछि नै एक जना छिमेकी जो यहोवाको साक्षी हुनुहुन्थ्यो, उहाँ प्याट्रिसियालाई भेट्‌न आउनुभयो र तिनलाई भेट्‌न आउन लिक्सीलाई भनिदिन्छु भनेर बताउनुभयो। लिक्सी असल मित्र साबित हुनुभयो। उहाँ प्याट्रिसियालाई प्रोत्साहन दिन र बाइबल अध्ययन गराउन हरेक हप्ता आउनुहुन्थ्यो। तर मेरो मनमा साक्षीहरूबारे अझै शङ्‌का थियो।

 सन्‌ २०१२ मा यहोवाका साक्षीहरूले के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? भन्‍ने विषयको होण्डुरस साङ्‌केतिक भाषाको भिडियो बाँड्‌ने विशेष अभियानमा भाग लिए। लिक्सीले हामीलाई पनि त्यो भिडियो ल्याइदिनुभयो। त्यो भिडियोबाट मैले सिकाउने थुप्रै शिक्षा, जस्तै: नरक र अमर आत्माको शिक्षा बाइबलमा पाइँदैन भनेर थाह पाउँदा म तीनछक परेँ।

 त्यसपछिको हप्ता म थोमसलाई भेट्‌न यहोवाका साक्षीहरूको सभाभवनमा गएँ। म बहिराहरूलाई बाइबलको सत्य कुरा सिकाउन चाहन्छु भनेर उहाँलाई बताएँ तर यहोवाको साक्षीको रूपमा त होइन। म बहिराहरूको लागि एउटा छुट्टै चर्च खोल्न चाहन्थेँ। मैले फेरि जोस देखाएकोमा थोमसले मेरो तारिफ गर्नुभयो। त्यसपछि उहाँले मलाई एफिसी ४:५ देखाउनुभयो, जहाँ साँचो ख्रिष्टियन मण्डलीमा हुनुपर्ने एकतामा जोड दिइएको छ।

 थोमसले मलाई अमेरिकी साङ्‌केतिक भाषामा यहोवाका साक्षीहरू—विश्‍वास कामद्वारा देखाउँछन्‌, भाग १: अन्धकारबाट मुक्‍त भन्‍ने विषयको भिडियो पनि दिनुभयो। यस भिडियोमा एउटा समूहले बाइबलका सत्यहरू अझ राम्ररी बुझ्न लगनशील भई अध्ययन गरेको देखाइएको थियो। यो भिडियो हेर्दा मैले ती मानिसहरूको भावना बुझ्न सकेँ। ती मानिसहरू जस्तै म पनि सत्य खोजिरहेको थिएँ। यो भिडियो हेरेपछि साक्षीहरूले सत्य कुरा सिकाउँछन्‌ भनेर म विश्‍वस्त भएँ। किनकि तिनीहरूले सिकाउने शिक्षाको आधार भनेकै बाइबल हो। त्यसैले मैले फेरि बाइबल अध्ययन सुरु गरेँ। अनि २०१४ मा प्याट्रिसिया र मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गऱ्‍यौँ।

मैले कसरी लाभ उठाएको छु?

 मलाई यहोवाका साक्षीहरूको मण्डली मन पर्छ किनकि यो नैतिक रूपमा शुद्ध छ, जसरी परमेश्‍वर पनि पवित्र हुनुहुन्छ। यहोवाका उपासकहरू बोली र अरूसितको व्यवहारमा स्वच्छ छन्‌। तिनीहरू शान्तिप्रिय छन्‌ र एकअर्कालाई प्रोत्साहन दिन्छन्‌। साक्षीहरू जुनसुकै देशको भए पनि वा जुनसुकै भाषा बोल्ने भए पनि तिनीहरू एकताबद्ध छन्‌ र एउटै कुरा सिकाउँछन्‌।

 म बाइबलका शिक्षाहरूमा रमाउन थालेको छु। मैले यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर र ब्रह्‍माण्डका मालिक हुनुहुन्छ भनेर सिकेँ। उहाँ बहिरो र सुन्‍न सक्ने दुवैलाई माया गर्नुहुन्छ। परमेश्‍वरले मलाई देखाउनुभएको मायाको म धेरै कदर गर्छु। यो पृथ्वी सुन्दर प्रमोदवन हुनेछ र त्यहाँ हामीले पूर्णरूपमा स्वस्थ भएर अनन्त जीवनको आनन्द उठाउन सक्छौँ भनेर पनि मैले सिकेको छु। म त्यस दिनको उत्सुकतासाथ प्रतीक्षा गर्दै छु।

 प्याट्रिसिया र मलाई अरू बहिराहरूसित बाइबलको कुरा गर्न मन पर्छ। हामी पहिलाको चर्चको केही साथीहरूलाई बाइबल अध्ययन गराउँदै छौँ। अहिले आफूले सिकाउने शिक्षाहरूको विषयमा पहिला म पास्टर भएको बेला जस्तो कुनै प्रश्‍न छैन। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि मैले बल्ल मेरा प्रश्‍नहरूको जवाफ पाएँ।