सीधै सामग्रीमा जाने

एउटा अध्ययनबाट थुप्रै अध्ययनको सुरुवात भयो

एउटा अध्ययनबाट थुप्रै अध्ययनको सुरुवात भयो

 मार्टा ग्वाटेमालामा बस्ने एक जना यहोवाका साक्षी हुन्‌। तिनी केक्ची भाषाका मानिसहरूलाई बाइबलको सन्देश सुनाउन त्यो भाषा सिकिरहेकी थिइन्‌। एक दिन तिनले अस्पतालबाट निस्कँदै गरेको एक जना मानिस भेटिन्‌। उनको रूपरङ हेर्दा उनी पनि केक्ची भाषा बोल्ने गाउँको मानिसजस्तै देखिन्थे, जुन ठाउँमा यहोवाका साक्षीहरू नियमित रूपमा जान सकेका थिएनन्‌। केक्ची भाषा राम्रोसँग बोल्न नजाने पनि तिनले उनीसँग कुरा गरिन्‌।

 मार्टाले उनलाई बाइबल अध्ययनको प्रस्ताव राखिन्‌। उनले खुसीसाथ त्यो प्रस्ताव स्विकारे तर त्यसको लागि पैसा तिर्न सक्दिनँ भनेर बताए। यहोवाका साक्षीहरूसित अध्ययन गर्न पैसा लाग्दैन भनेर तिनले उनलाई बताइन्‌। साथै फोनबाट अध्ययन गर्न सकिन्छ अनि पूरै परिवार अध्ययनमा बस्न सकिन्छ भनेर पनि बताइन्‌। त्यसपछि ती व्यक्‍ति अध्ययन सुरु गर्न राजी भए। उनलाई स्पेनिश भाषा राम्रोसँग लेखपढ गर्न आउने भएकोले मार्टाले उनलाई स्पेनिश भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद दिइन्‌। साथै तिनले केक्ची भाषाको बाइबलले वास्तवमा के सिकाउँछ? किताब पनि दिइन्‌। अर्को हप्तादेखि फोनमार्फत ती व्यक्‍ति, तिनकी श्रीमती र दुई जना छोराछोरीसित अध्ययन सुरु भयो। तिनीहरूसित हप्ताको दुई चोटि अध्ययन हुन्थ्यो। मार्टा यसो भन्छिन्‌: “मैले केक्ची भाषा राम्रोसँग बोल्न नसक्ने भएकीले हामी स्पेनिश भाषामा छलफल गर्थ्यौँ, त्यसपछि ती व्यक्‍तिले आफ्नो श्रीमतीलाई केक्ची भाषामा अनुवाद गरिदिन्थे। केटाकेटीहरूले भने स्पेनिश भाषा राम्रोसँग बुझ्थे।”

 ती व्यक्‍ति चर्चका पास्टर रहेछन्‌। उनी आफूले बाइबल अध्ययनबाट सिकेको कुरा चर्चमा पनि सिकाउने गर्थे। उनले सिकाएको कुरा चर्चमा आउने मानिसहरूलाई पनि राम्रो लाग्यो र तिनीहरूले पनि उनलाई यो नयाँ कुरा कहाँबाट सिक्नुभयो भनेर सोध्न थाले। उनले तिनीहरूलाई आफूले बाइबल अध्ययन गरिरहेको कुरा बताए। त्यसपछि तिनीहरू पनि एक-एक गर्दै उनको अध्ययनमा बस्न थाले। यसरी मार्टासँग फोनमार्फत भइरहेको अध्ययनमा करिब १५ जना उपस्थित हुन थाले। अध्ययनको बेला सबैले सुन्‍न सकोस्‌ भनेर तिनीहरूले फोननजिकै एउटा माइक्रोफोन राख्ने गर्थे।

 मार्टाले आफ्नो अध्ययनबारे मण्डलीका एल्डरहरूलाई जानकारी दिइन्‌। त्यसपछि एक जना एल्डरले त्यो गाउँमा गएर विद्यार्थीहरूलाई भेटे। उनले तिनीहरूलाई नजिकैको गाउँमा क्षेत्रीय निरीक्षकको * जनभाषणमा उपस्थित हुन निम्तो दिए। तर त्यहाँ पुग्न तिनीहरू गाडीमा एक घण्टा यात्रा गरेर थप दुई घण्टा पैदलै हिँड्‌नुपर्थ्यो। तैपनि तिनीहरू त्यहाँ जान राजी भए र खुसीको कुरा तिनीहरूमध्ये १७ जना त्यो सभामा उपस्थित भए।

 केही हप्तापछि क्षेत्रीय निरीक्षक र केही साक्षीहरूले ती विद्यार्थीहरूसँग चार दिन सङ्‌गत गरे। त्यस दौडान बिहानको समयमा तिनीहरूले jw.org मा भएका केक्ची भाषाका भिडियोहरू हेर्थे। त्यसपछि आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? भन्‍ने पुस्तिकाबाट अध्ययन गर्थे। दिउँसोतिर तिनीहरू JW ब्रोडकास्टिङका केही भागहरू हेर्ने गर्थे। पछि क्षेत्रीय निरीक्षकले ती हरेक विद्यार्थीको लागि छुट्टाछुट्टै अध्ययन गर्ने प्रबन्ध पनि मिलाइदिए।

 त्यस दौडान साक्षीहरूले नजिकैका केक्ची भाषा बोलिने गाउँहरूमा बाइबलको सन्देश सुनाए र त्यहाँका मानिसहरूलाई विशेष सभाको निम्तो पनि दिए। भाइहरूले सभामा उपस्थित ४७ जना मानिसलाई बाइबल अध्ययनको प्रस्ताव राखे। एघार वटा परिवारले अध्ययनको प्रस्ताव स्विकारे।

 केही महिनापछि एल्डरहरूले त्यो गाउँमा स्थानीय भाषामा हरेक हप्ता सभा सञ्चालन गर्ने प्रबन्ध मिलाए। अहिले त्यहाँको सभामा ४० जना मानिस नियमित रूपमा उपस्थित हुने गर्छन्‌। येसुको मृत्युको स्मरणार्थमा त्यहाँ ९१ जना उपस्थित हुँदा भाइबहिनीहरू खुसीले गद्‌गद भएका थिए।

 यी सबै कुरा कसरी सुरु भयो र कसरी राम्रो नतिजा हासिल भयो भन्‍ने कुरा सम्झँदै मार्टा यसो भन्छिन्‌: “म यहोवाप्रति कृतज्ञ छु। कहिलेकाहीँ मैले केही पनि गर्न सक्दिनँ भनेर महसुस गर्ने गर्छु। तर अरूलाई मदत गर्न यहोवा हामीलाई चलाउन सक्नुहुन्छ। ती गाउँका मानिसहरूको हृदयमा के छ भन्‍ने कुरा यहोवालाई मात्र थाह थियो। त्यसैले उहाँले तिनीहरूलाई आफूतर्फ खिच्नुभयो। यहोवा तिनीहरूलाई माया गर्नुहुन्छ।”

^ क्षेत्रीय निरीक्षकले यहोवाका साक्षीहरूको २० वटा मण्डली मिलेर बनेको एउटा सर्किटमा भ्रमण गर्ने गर्छन्‌।