सीधै सामग्रीमा जाने

वारविकमा यहोवाका साक्षीहरूसँगै काम गर्दाको अनुभव

वारविकमा यहोवाका साक्षीहरूसँगै काम गर्दाको अनुभव

वारविकको निर्माणकार्यमा स्वयम्‌सेवा गर्नेहरूको मनोवृत्ति देखेर थुप्रै मानिसहरू छक्क परे। वारविकमा लिफ्ट जडान गरेका कम्पनीका निर्देशकले त्यहाँ काम गरिरहेका एक साक्षीलाई यसो भने: “तपाईंहरूको समूहले एकदमै अचम्मको काम गरिरहेको छ। आजकाल धेरैजसो मानिस स्वयम्‌सेवा गर्न यसरी समय निकाल्दैनन्‌।”

स्वयम्‌सेवकहरूले न्यु योर्कको वारविकमा यहोवाका साक्षीहरूको मुख्यालय निर्माण गर्दै छन्‌ भनेर तिनले र अरूले सुने। स्थानीय साक्षीहरूले सप्ताहन्तमा मात्र काम गरिरहेका होलान्‌ भनेर तिनीहरूले सोचेका थिए। तर यो कामको लागि आफ्नो जागिर नै छोडेर महिनौं वा वर्षौंसम्म विभिन्‍न देशबाट आएका मानिसहरू भेट्‌दा तिनीहरू छक्क परे।

सन्‌ २०१५ को अन्तसम्ममा अमेरिकाको बेथेल परिवारसित मिलेर लगभग २३ हजार स्वयम्‌सेवक साक्षीले वारविकमा काम गरिसकेका छन्‌। यहोवाका साक्षीबाहेक लगभग ७ सय ५० जना निर्माणकर्मीले पनि निर्माणकार्यमा मदत गरे। यहोवाका साक्षीहरूसँगै काम गरेका ती कामदारहरूमध्ये थुप्रैलाई राम्रो छाप पऱ्‍यो।

स्फूर्ति दिने वातावरण

झ्याल र भित्ता बनाउने कम्पनीका एक म्यानेजरले यसो लेखे: “साक्षीहरूको राम्रो व्यवहार देखेर हाम्रो कम्पनीका सबै कामदार छक्क परेका छन्‌। त्यसैले हामीमध्ये धेरै जना यहाँ काम गर्न चाहन्छौं।”

अर्को कम्पनीले आवास भवनको संरचना तयार पार्न कामदारहरू पठायो। कम्पनीको सम्झौता सिद्धिएपछि तीन जना कामदारहरू भने वारविकमै काम गर्न चाहन्थे। त्यसैले तिनीहरूले आफ्नो जागिर छोडे अनि यहीं काम गरिरहेको अर्को कम्पनीमा काम गर्न थाले।

साक्षीहरूले देखाएको असल गुणहरूले केही कामदारमा राम्रो प्रभाव परेछ। एक जना मानिस भवनको जग बसाल्ने कम्पनीमा काम गर्थे। वारविकमा केही महिना काम गरिसकेपछि तिनको व्यवहार र बोलीमा ठूलै परिवर्तन आएको तिनकी श्रीमतीले महसुस गरिन्‌। उनले खुसी हुँदै भनिन्‌, “उहाँ त अर्कै व्यक्‍ति हुनुभएछ।”

“साक्षी दिदीबहिनी त आउनुहुन्छ”

निर्माणस्थलमा काम गर्ने साक्षीहरूमध्ये धेरै त महिला थिए। तिनीहरूले विभिन्‍न काम गरे। जस्तै: बस चलाउने, कोठा सफा गर्ने, कागजपत्र हेर्ने, गाडीको भीडभाड नियन्त्रण गर्ने, गह्रौं भारी बोक्ने, बिजुली बत्तीको काम गर्ने, पाइप बिछ्याउने, भित्ता जडान गर्ने, धारा-पानीको काम गर्ने, ढलानको काम गर्ने आदि। तिनीहरूले निकै मेहनत गरे।

छाना बनाउने काम गरेका एक जना गैर-साक्षीले विवाहित दम्पतीहरू बसबाट ओर्लेर हात समाउँदै कामतिर गएको याद गरे। त्यसले तिनको मन छोयो। अनि महिलाहरूले लगनशील भई काम गरेको पनि देखे। तिनले यसो भने, “सुरुमा त ती महिलाहरू श्रीमान्‌सँग त्यत्तिकै आएका होलान्‌ भन्ठानें। तर काम गर्ने बेला तिनीहरूले अलमल नगरी भटाभट गर्न थाले। मैले न्यु योर्क सहरको धेरैजसो निर्माणस्थलमा काम गरेको छु तर यस्तो कहिल्यै देखेको थिइनँ।”

सन्‌ २०१४/२०१५ को हिउँद याममा कठ्याङ्‌ग्रिने चिसो थियो। त्यो चिसो मौसममा दिनभरि बाहिर काम गर्नुभन्दा मजाले घरभित्र बस्न मन लाग्थ्यो। निर्माणकार्यको निरीक्षण गरेका साक्षी भाइ जेरमी यसो भन्छन्‌: “एकदमै जाडो भएको बेला एउटा निर्माण कम्पनीको ठेकेदारले मलाई यसो भनेर सोध्थे, ‘भोलि साक्षी दिदीबहिनीहरू पनि काम गर्न आउनुहुन्छ?’

“ ‘आउनुहुन्छ।’

“ ‘बाहिर बसेर गाडीको भीडभाड नियन्त्रण गर्ने दिदीबहिनीहरू पनि आउनुहुन्छ?’

“ ‘आउनुहुन्छ।’

“त्यसपछि ठेकेदारले तिनका कामदारलाई यसो भने, ‘साक्षी दिदीबहिनी त आउनुहुन्छ, तिमीहरू पनि आउनुपर्छ।’ ”

बस चालकहरू आफ्नो काममा रमाए

स्वयम्‌सेवकहरूलाई वारविकसम्म ल्याउन र तिनीहरू बसेको ठाउँसम्म पुऱ्‍याउन ३५ जना भन्दा धेरै बस चालकहरूलाई काममा राखिएको थियो।

एक पटक बस चलाउनुअघि चालक जुरुक्क उठे र यात्रुहरूतिर फर्केर यसो भने: “तपाईंहरूलाई ल्याउने र पुऱ्‍याउने काम गर्दा मलाई रमाइलो लागेको छ। मलाई यहीं काम गरिरहन दिनुहोस्‌ भनेर मेरो हाकिमलाई इमेल पठाउनुहोस्‌ है! तपाईंहरूबाट बाइबलबारे थुप्रै कुरा सिक्न पाएँ। तपाईंहरूसित भेट हुनुअघि परमेश्‍वरको नाम अनि पृथ्वी प्रमोदवन बन्‍ने कुरा थाहै थिएन। अब मृत्युको डर पनि हट्यो। यो मेरो लागि अविस्मरणीय क्षण भएको छ। अर्को चोटिको बिदामा म अवश्‍य राज्यभवन आउनेछु।”

वारविकमा काम गरेकी साक्षी बहिनी डमियना यसो भन्छिन्‌: “एक दिनको कुरा हो, बस चढेपछि चालकले हामीलाई केही कुरा भन्‍न चाहन्छु भने। तिनले न्यु योर्कको विभिन्‍न ठाउँबाट ४ हजार साक्षीलाई ल्याउने र पुऱ्‍याउने काम गरिसकेको कुरा बताए। तिनले भने, ‘तपाईंहरू हरेकको फरक-फरक स्वभाव छ तर भिन्‍नताको बाबजुद काँधमा काँध मिलाएर काम गर्नुहुन्छ। यो निकै प्रशंसनीय कुरा हो।’ हामीसित कुरा गर्न मन पर्छ भनेर पनि तिनले बताए।

“तिनको कुरा सिद्धिएपछि त्यही बसमा भएकी एक साक्षी बहिनीले तिनलाई सोधिन्‌, ‘हामीले गीत गाउँदा तपाईंलाई मन पर्छ?’

“मुस्कुराउँदै तिनले भने, ‘अँ! १३४ नम्बरको गीत गाऔं, हुन्‍न?’” a

a यहोवाको स्तुतिगान गाऔं किताबको गीत नम्बर १३४ को विषय हो, “नयाँ संसारको जीवन कल्पना गर्नुहोस्‌!” परमेश्‍वरको नयाँ संसारमा पाइने आनन्दबारे त्यसमा वर्णन गरिएको छ।