सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मडागास्कर

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मडागास्कर

अहिले २७ वर्ष पुगेकी अग्रगामी बहिनी सिल्भियाना यसो भन्छिन्‌, “राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको इलाकामा गएर अग्रगामी सेवा गरिरहेका साथीहरूको अनुभव सुन्दा मलाई पनि उनीहरूको जस्तै आनन्द अनुभव गर्न मन लाग्थ्यो। तर त्यसरी आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्नु मेरो क्षमताबाहिरको कुरा हो जस्तो लाग्थ्यो।”

तपाईं पनि सिल्भियानाजस्तै महसुस गर्नुहुन्छ कि? तपाईंलाई राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न मन लागे पनि त्यसरी सेवा गर्न सक्दिनँ जस्तो लाग्छ कि? त्यसो हो भने निराश नहुनुहोस्‌! यहोवाको मदत पाएर हजारौं भाइबहिनीले विभिन्‍न बाधा-अडचन पार गर्दै आफ्नो सेवा विस्तार गर्न सकेका छन्‌। यहोवाले तिनीहरूको लागि कसरी बाटो खोलिदिनुभयो भनेर विचार गर्न विश्‍वको चौथो ठूलो टापु, मडागास्करमा के भइरहेको छ, हेरौं!

बितेका १० वर्षमा, ११ वटा देशबाट * ७० भन्दा धेरै जोसिला प्रकाशक र अग्रगामीहरू मडागास्करमा सेवा गर्न आएका छन्‌। अफ्रिकाको यस इलाकामा बाइबललाई आदर गर्ने र राज्य सत्य स्विकार्ने मानिसहरू थुप्रै छन्‌। मडागास्करकै प्रकाशकहरूले पनि आफ्नै देशभित्र विभिन्‍न ठाउँमा सरेर राज्य सन्देश सुनाउने काममा टेवा पुऱ्‍याइरहेका छन्‌। यीमध्ये केही भाइबहिनीको अनुभव विचार गरौं।

डर र निराशालाई हटाउँदै

पेरिन र लुइस

तीस वर्ष नाघिसकेका एक दम्पती, लुइस पेरिन फ्रान्सबाट मडागास्कर सरे। उनीहरू विदेशमा गएर आफ्नो सेवा विस्तार गर्नेबारे वर्षौंअघिदेखि सोचिरहेका थिए। तर पेरिन भने त्यसरी सर्न हिचकिचाइरहेकी थिइन्‌। उनी भन्छिन्‌: “आफूलाई राम्ररी थाह नभएको नयाँ ठाउँमा जान डर लागिरहेको थियो। आफ्नो परिवार, मण्डली, घर, आफू बसिरहेको ठाउँ अनि आफूलाई बानी परेका कुराहरू छोड्‌नेबारे सोच्दा मलाई साह्रै चिन्ता लाग्थ्यो। हो, मलाई आफ्नै चिन्ताहरूले नै रोकिरहेको थियो।” पछि पेरिनले साहस बटुलिन्‌ र सन्‌ २०१२ मा उनी र उनका श्रीमान्‌ लुइस त्यहाँ सरे। यस्तो निर्णय गरेकोमा उनीहरू कस्तो महसुस गर्छन्‌? पेरिन भन्छिन्‌, “यहोवाले हामीलाई मदत गर्नुभएको कुरा अनुभव गर्न पाउँदा हाम्रो विश्‍वास साँच्चै बलियो भएको छ।” लुइसचाहिं यसो भन्छन्‌, “मडागास्करमा हामीले पहिलो चोटि स्मरणार्थ उत्सव मनाउँदा हाम्रा १० जना बाइबल विद्यार्थी आए!”

समस्याहरू आइपर्दा त्यस दम्पतीलाई आफ्नो सेवामा लागिरहन केले मदत गऱ्‍यो? उनीहरूले यहोवालाई प्रार्थना गरेर सहने बल मागे। (फिलि. ४:१३) लुइस भन्छन्‌, “यहोवाले हाम्रा प्रार्थनाको जवाफ दिनुभएको महसुस गऱ्‍यौं र हामीले ‘परमेश्‍वरको शान्ति’ पनि पायौं। यहाँ सेवा गर्दा पाइरहेको आनन्दमा ध्यान दिन सक्यौं। साथै, फ्रान्सका साथीहरूले हामीलाई हरेस नखान प्रोत्साहन दिंदै इमेल र चिठ्ठीहरू पनि पठाउनुभयो।”—फिलि. ४:६, ७; २ कोरि. ४:७.

लुइस र पेरिनले यसरी धीरज देखाएकोले यहोवाले तिनीहरूलाई निकै आशिष्‌ दिनुभयो। लुइस भन्छन्‌, “सन्‌ २०१४ को अक्टोबरमा हामीले फ्रान्समा ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल * जाने मौका पायौं। यो स्कुलमा जान पाउनु यहोवाबाट पाएको ठूलो उपहार हो, जुन हामी कहिल्यै बिर्सन सक्दैनौं।” स्कुलबाट स्नातक गरेपछि यस दम्पतीलाई फेरि मडागास्करमै सेवा गर्न खटाइँदा उनीहरू औधी खुसी भए।

“हाम्रो लागि गर्वको कुरा हुनेछ!”

नाडिन र डिडियर

फ्रान्सका ५० वर्ष नाघेका एक दम्पती, डिडियर नाडिन सन्‌ २०१० मा मडागास्करमा सरे। डिडियर यसो भन्छन्‌, “हामीले पहिला अग्रगामी सेवा गरेका थियौं। पछि हाम्रा तीन छोराछोरी भए। तिनीहरू वयस्क भइसकेपछि हामी विदेशमा सेवा गर्न सक्छौं कि भनेर सोच्न थाल्यौं।” नाडिन भन्छिन्‌, “आफ्ना छोराछोरीबाट टाढा हुनुपर्ने कुरा विचार गर्दा म अलि हिचकिचाइरहेकी थिएँ तर तिनीहरूले यसो भने: ‘तपाईंहरू आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न जानुभयो भने त्यो हाम्रो लागि गर्वको कुरा हुनेछ!’ तिनीहरूको कुरा सुनेर हामीले जान प्रोत्साहन पायौं। अहिले हामी टाढा बस्छौं तैपनि तिनीहरूसँग सधैंजसो कुराकानी गर्न पाएकोमा खुसी छौं।”

डिडियर र नाडिनलाई मालागासी भाषा सिक्न गाह्रो भएको थियो। नाडिन मुस्कुराउँदै यसो भन्छिन्‌, “भाषा सिक्न कस्तो गाह्रो हुन्छ! हामी अहिले लक्का जवान कहाँ हौं र!” तर उनीहरूले कस्तो प्रयास गरे? पहिला, उनीहरू फ्रान्सेली भाषाको मण्डलीमा गए। पछि उनीहरूलाई मालागासी भाषा सिक्न अझै समय दिन सकिन्छ जस्तो लाग्यो। त्यसैले उनीहरू मालागासी भाषाको मण्डलीमा सरे। नाडिन भन्छिन्‌, “प्रचारमा भेट्‌ने थुप्रै मानिस बाइबल पढ्‌न खुब मन पराउँछन्‌। तिनीहरूलाई भेट्‌न आएकोमा अक्सर धन्यवाद दिन्छन्‌। सुरुमा त मलाई यो देखेर अचम्म लाग्थ्यो। यहाँ अग्रगामी सेवा गर्न मलाई एकदम रमाइलो लाग्छ। त्यसैले बिहान उठ्‌दा म आफैलाई यसो भन्छु, ‘आज पनि प्रचार जाने हो, कस्तो मज्जा!’”

डिडियर पनि आफूले मालागासी भाषा सिक्न थालेको कुरा सम्झँदै मुस्कुराउँछन्‌ अनि यसो भन्छन्‌, “एक चोटि मैले सभाको एउटा भाग सञ्चालन गर्दै थिएँ तर भाइबहिनीले दिएको एउटा जवाफ पनि बुझिनँ। मैले त सबैलाई ‘धन्यवाद’ मात्र भनें। एउटी बहिनीले टिप्पणी दिएपछि अरूलाई जस्तै मैले उहाँलाई पनि धन्यवाद दिएँ। त्यसपछि उहाँभन्दा पछाडि बसेका भाइबहिनीले त्यो जवाफ गलत हो भनेर इशारा गर्न थाले। त्यसपछि मैले एक जना भाइलाई टिप्पणी गर्ने मौका दिएँ, उहाँले चाहिं सही जवाफ दिनुभयो कि जस्तो लाग्छ।”

उनले खुसीसाथ निम्तो स्विकारिन्‌

सन्‌ २००५ को अधिवेशनमा थियरी र उनकी पत्नी नाडियाले “परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌” भन्‍ने बाइबल नाटक हेरे। तिमोथीबारे देखाइएको त्यस नाटकले उनीहरूको साह्रै मन छोयो र राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने उनीहरूको इच्छा बढ्यो। थियरी भन्छन्‌, “नाटकको अन्तमा ताली बजाउँदै गरेको बेला मैले आफ्नी पत्नीतिर ढल्किंदै उनलाई यसो भनें, ‘अब हामी कहाँ जाने त?’ उनले पनि त्यही सोचिरहेको कुरा बताइन्‌।” त्यसको लगत्तै उनीहरूले आफ्नो लक्ष्य हासिल गर्न कदमहरू चाल्न थाले। नाडिया भन्छिन्‌, “हामीले आफूसित भएका अनावश्‍यक कुराहरू हटाउँदै गयौं अनि चार वटा सुटकेसमा अट्‌ने जति सामान मात्र बाँकी राख्यौं!”

सबैभन्दा बायाँ: नाडिया र मेरी-म्याडलीन सबैभन्दा दायाँ: थियरी

उनीहरू सन्‌ २००६ मा मडागास्कर आइपुगे अनि आएदेखि नै प्रचारकार्यमा रमाउँदै छन्‌। नाडिया भन्छिन्‌, “मानिसहरूले हाम्रो सन्देश सुनेको देख्दा हामी अपार आनन्द पाउँछौं।”

तर छ वर्षपछि उनीहरूले एउटा चुनौतीको सामना गर्नुपऱ्‍यो। फ्रान्समा बस्ने नाडियाकी आमा मेरी-म्याडलीन लडिछन्‌ अनि उनको हात भाँचिनुको साथै टाउकोमा पनि चोट लागेछ। आमाको डाक्टरसित सरसल्लाह गरेपछि उनीहरूले आमालाई मडागास्कर आउन र आफूहरूसँगै बस्न निम्तो दिए। नाडियाकी आमा त्यतिबेला ८० वर्षकी थिइन्‌ तैपनि उनले खुसीसाथ निम्तो स्विकारिन्‌। उनलाई विदेशमा जीवन बिताउन कस्तो लागिरहेको छ? उनी भन्छिन्‌, “कहिलेकाहीं यो नयाँ ठाउँमा बस्न अलि गाह्रो लाग्छ। हुन त मैले गर्न सक्ने कुरा धेरै छैन तर मण्डलीमा केही योगदान पुऱ्‍याउन सकेकी छु जस्तो लाग्छ। अनि सबैभन्दा खुसीको कुरा त, यसरी छोरी-ज्वाइँसँगै बस्दा उनीहरूले पनि यहाँ खुसीसित सेवा गरिरहन सकेका छन्‌।”

“मैले यहोवाको मदत महसुस गरें”

रिआन तान्द्रोय भाषामा भाषण दिंदै

अहिले २२ वर्ष पुगेका रिआनलाई विचार गरौं। उनी मडागास्करको पूर्वी भागमा पर्ने उर्वर क्षेत्र, आलोत्रा माङ्‌गोरोमा हुर्किएका थिए। उनी स्कुलमा राम्रो अङ्‌क ल्याउँथे र पछि उच्च शिक्षा हासिल गर्न चाहन्थे। तर बाइबल अध्ययन गर्न थालेपछि उनको विचार परिवर्तन भयो। उनी भन्छन्‌, “म स्कुलको पढाइ अलि छिट्टै सिद्ध्‌याउन चाहन्थें। मैले यहोवालाई यस्तो प्रतिज्ञा गरें: ‘फाइनल जाँचमा पास भएँ भने अग्रगामी सेवा गर्नेछु।’” जाँचमा पास भएपछि रिआनले आफ्नो प्रतिज्ञा पूरा गरे। उनी एक अग्रगामी भाइसित बस्न गए, पार्ट-टाइम काम गरे अनि अग्रगामी सेवा सुरु गरे। उनी भन्छन्‌, “त्यो मैले गरेको सबैभन्दा राम्रो निर्णय थियो।”

तर रिआनका नातेदारहरूले भने उनी किन संसारमा नाम-दाम कमाउने पेसाको पछि लागेनन्‌ भनेर बुझ्नै सकेनन्‌। उनी भन्छन्‌: “मेरो बुबा, काका र हजुरआमाकी बहिनीले मलाई उच्च शिक्षा हासिल गर्न भन्‍नुभयो। तर म कुनै हालतमा अग्रगामी सेवा छोड्‌न चाहन्‍नथें।” रिआन प्रचारकहरूको आवश्‍यकता भएको ठाउँमा छिट्टै जान चाहन्थे। उनमा त्यस्तो इच्छा कसरी जाग्यो? उनी भन्छन्‌: “घरमा चोरहरू घुसेर मेरा थुप्रै सामान लगे। त्यस घटनापछि येशूले ‘स्वर्गमा धनसम्पत्ति थुपार्नेबारे’ भन्‍नुभएको कुरालाई मैले गहिरिएर सोच्न थालें। मैले आध्यात्मिक धनसम्पत्ति हासिल गर्न अझ मेहनत गर्ने निर्णय गरें।” (मत्ती ६:१९, २०) उनी मडागास्करको सबैभन्दा दक्षिणी भागमा बसाइँ सरे। यो ठाउँ उनी बसिरहेको ठाउँभन्दा १,३०० किलोमिटर टाढा पर्थ्यो अनि खडेरीग्रस्त थियो। यस इलाकामा आन्तान्द्रोय जातिका मानिसहरू बसोबास गर्छन्‌। उनी किन त्यहाँ गए?

रिआनको घरमा चोरी हुनुभन्दा एक महिनाअघि उनले आन्तान्द्रोय जातिका दुई जना पुरुषसित बाइबल अध्ययन गर्न थालेका रहेछन्‌। उनले तिनीहरूको भाषाको दुई-चार वटा शब्द पनि सिकेका रहेछन्‌। त्यसैले उनले परमेश्‍वरको राज्यको सन्देश सुन्‍न नपाएका आन्तान्द्रोय जातिका मानिसहरू अझ कति धेरै होलान्‌ भनेर सोच्न थाले। उनी भन्छन्‌: “तान्द्रोय भाषा बोलिने ठाउँमा बसाइँ सर्न सकूँ भनेर मैले यहोवालाई प्रार्थना गरें।”

त्यसपछि रिआन त्यहाँ सरिहाले। तर सरेको धेरै समय नबित्दै एउटा समस्या आइपऱ्‍यो। उनले जागिरै पाएनन्‌। एक जना मानिसले उनलाई भने: “तिमी किन यहाँ आयौ? मानिसहरू जागिर पाउन यहाँबाट तिम्रो ठाउँमा जान्छन्‌। उल्टो काम पो गरेछौ तिमीले!” दुई हप्तापछि रिआन अधिवेशनको लागि गए। तर तिनीसित अलिकति पनि पैसा थिएन। त्यसैले अब के गर्ने होला भनेर सोचिरहेका थिए। अधिवेशनको अन्तिम दिनमा एक जना भाइले उनको कोटको खल्तीमा खुसुक्क केही हालिदिए। त्यसमा आफूले सेवा गरिरहेको ठाउँमा फर्कन र दही बेच्ने सानो व्यापार सुरु गर्न पुग्दो पैसा थियो। रिआन भन्छन्‌: “ठ्याक्क चाहिएकै बेला यहोवाको मदत महसुस गरें। यस्तो मदत पाएपछि मैले यो ठाउँ छोड्‌नुपरेन, यहोवाबारे थाह नपाएका मानिसहरूलाई उहाँबारे बताउन सकें।” मण्डलीमा पनि गर्नुपर्ने काम थुप्रै थिए। रिआन भन्छन्‌: “प्रत्येक दुई हप्तामा एक चोटि जनभाषण दिनुपर्थ्यो। यहोवाले आफ्नो सङ्‌गठनमार्फत मलाई प्रशिक्षण दिंदै हुनुहुन्थ्यो।” अहिले पनि रिआन तान्द्रोय भाषा बोल्ने मानिसहरूलाई यहोवाबारे सिकाउँदै छन्‌।

“त्यसले आफूलाई साँचो परमेश्‍वरको नाउँमा धन्यको भन्‍नेछ”

“जसले आफूलाई यस देशमा धन्यको भन्छ, त्यसले आफूलाई साँचो परमेश्‍वरको नाउँमा धन्यको भन्‍नेछ” भनेर यहोवाले हामीलाई आश्‍वासन दिनुभएको छ। (यशै. ६५:१६) सेवाको काम विस्तार गर्न बाधा-अडचनहरू छिचोलेर अघि बढ्‌दा यहोवा आशिष्‌ दिनुहुन्छ। यस लेखको सुरुमा उल्लेख गरिएकी सिल्भियानालाई विचार गर्नुहोस्‌। उनलाई आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्नु आफ्नो क्षमताबाहिरको कुरा हो जस्तो लागेको थियो। उनलाई किन त्यस्तो लाग्यो? उनी भन्छिन्‌: “मेरो बायाँ खुट्टा दायाँ खुट्टाभन्दा साढे तीन इन्च छोटो छ। त्यसैले म खोच्याउँदै हिंड्‌छु अनि छिट्टै थाक्छु।”

डोराटिनले बप्तिस्मा गरेको दिनमा सिल्भियाना (बायाँ) र सिल्भी-आन (दायाँ)

सन्‌ २०१४ मा सिल्भियाना आफ्नै मण्डलीको जवान अग्रगामी सिल्भी आनसित मिलेर ८५ किलोमिटर पर रहेको एउटा सानो गाउँमा बसाइँ सरिन्‌। हुन त अवस्था सजिलो थिएन तैपनि सिल्भियानाको सपना पूरा भयो! अनि उनले आशिष्‌ पनि पाइन्‌। उनी भन्छिन्‌: “म नयाँ ठाउँमा सरेको एक वर्ष मात्र भएको थियो, मसित बाइबल अध्ययन गरेकी डोराटिनले सम्मेलनमा बप्तिस्मा गरिन्‌।”

“म तँलाई सहायता गर्नेछु”

बाधा-अडचन पार गरेर आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नेहरूले यहोवाबाट सहायता पाएको महसुस गरेका छन्‌। हामीले पनि त्यस्तै प्रयास गऱ्‍यौं भने यहोवाको प्रतिज्ञा साँच्चै सत्य हो भनेर व्यक्‍तिगत तवरमा अनुभव गर्नेछौं। उहाँले आफ्ना जनहरूलाई यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।” (यशै. ४१:१०) यहोवाले सहायता गर्नुभएको अनुभव गरेपछि उहाँसितको हाम्रो सम्बन्ध प्रगाढ हुनेछ। साथै, स्वदेशमा होस्‌ या विदेशमा, राजीखुसीले आफैलाई अर्पण गर्दा नयाँ संसारमा विभिन्‍न ईश्‍वरतान्त्रिक गतिविधिहरूको लागि हामी तयार भइरहेका हुनेछौं। माथि उल्लेख गरिएका डिडियर भन्छन्‌: “आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्नु भविष्यको लागि राम्रो तालिम हो!” थुप्रै इच्छुक व्यक्‍तिले त्यस्तो तालिम चाँडै सुरु गरून्‌!

^ अनु. 4 अमेरिका, क्यानाडा, ग्वाडेलुप, चेक गणतन्त्र, जर्मनी, न्यु क्यालेडोनिया, फ्रान्स, बेलायत, लक्जमबर्ग, स्वीट्‌जरल्याण्ड र स्वीडेनबाट प्रकाशकहरू मडागास्करमा सेवा गर्न आएका छन्‌।

^ अनु. 8 अहिले यस स्कुलको सट्टा राज्य प्रचारकहरूका लागि स्कुल सञ्चालन गरिन्छ। यस स्कुलमा जानको लागि चाहिने योग्यता पूरा गरिसकेका छन्‌ भने विदेशमा सेवा गरिरहेका पूर्ण-समय सेवकहरूले पनि आवेदन भर्न सक्छन्‌। यस स्कुलमा भाग लिन उनीहरू आफ्नै देशमा वा आफ्नो मातृभाषामा स्कुल सञ्चालन हुने अरू कुनै देशमा जान सक्छन्‌।