सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ५

पाको व्यक्‍तिको डोऱ्‍याइ

पाको व्यक्‍तिको डोऱ्‍याइ

छोराछोरी हुर्काउने जिम्मेवारी कसको हो?

साना केटाकेटीहरूलाई पाको व्यक्‍तिहरूको सल्लाह, सुझाव र डोऱ्‍याइको आवश्‍यकता पर्छ। आमाबुबा हुनुभएकोले छोराछोरीलाई डोऱ्‍याउने मुख्य जिम्मेवारी तपाईँहरूकै हो। तर अरू पाको व्यक्‍तिले पनि तपाईँको छोराछोरीलाई सल्लाह दिन र मदत गर्न सक्छन्‌।

पाको व्यक्‍तिको डोऱ्‍याइ किन महत्त्वपूर्ण छ?

प्रायजसो साना केटाकेटीहरूले पाको व्यक्‍तिसँग थोरै समय मात्र बिताउन पाउँछन्‌। यी कुराहरू विचार गर्नुहोस्‌:

  • केटाकेटीहरूले धेरै समय स्कुलमा बिताउँछन्‌, जहाँ शिक्षक र अरू अनुभवी व्यक्‍तिहरूभन्दा विद्यार्थीहरू नै धेरै हुन्छन्‌।

  • आमाबुबा काममा जाने भएकोले केटाकेटीहरू स्कुलबाट फर्कँदा घरमा कोही पनि हुँदैनन्‌।

  • एउटा अध्ययनले देखाएअनुसार अमेरिकामा आठ देखि बाह्र वर्षका केटाकेटीले हरेक दिन औसतमा लगभग छ घण्टा इलेक्ट्रोनिक साधन चलाउँछन्‌। *

एउटा किताब (Hold On to Your Kids) यसो भन्छ, “आजकालका युवायुवती सल्लाह, सुझाव र निर्देशनहरू आमाबुबा, शिक्षक र अरू अनुभवी व्यक्‍तिबाट नभई  . .  आफ्ना साथीभाइबाट खोज्ने गर्छन्‌।”

कसरी डोऱ्‍याउन सकिन्छ

छोराछोरीसँग समय बिताउनुहोस्‌।

बाइबलको सिद्धान्त: “बालकलाई सही बाटोमा लगाऊ; बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।”—हितोपदेश २२:६.

छोराछोरी स्वाभाविक रूपमै आमाबुबाबाट सल्लाह खोज्छन्‌। किशोरावस्थामा प्रवेश गरेका छोराछोरीले समेत आफ्नो साथीले दिने सल्लाहभन्दा आमाबुबाले दिने सल्लाहलाई महत्त्व दिन्छन्‌ भनेर विज्ञहरू बताउँछन्‌। डा. लरेन्स स्टेनबर्ग आफ्नो किताबमा (You and Your Adolescent) यस्तो लेख्छन्‌, “किशोरावस्थाबाट वयस्क हुँदै गरेका छोराछोरीको स्वभाव र आनीबानीमा आमाबुबाले निकै प्रभाव पार्छन्‌।” तिनी अझै यस्तो लेख्छन्‌, “तपाईँको हरेक कुरामा सहमत नभए तापनि तपाईँ के सोच्नुहुन्छ र के भन्‍नुहुन्छ भनेर किशोरावस्थाका छोराछोरी बुझ्न चाहन्छन्‌।”

तपाईँका छोराछोरी स्वाभाविक रूपमै तपाईँबाट सल्लाह-सुझाव पाउन चाहन्छन्‌। त्यसैले यस्तो मौका खेर नफाल्नुहोस्‌। छोराछोरीसँग समय बिताउनुहोस्‌ र आफ्नो विचार, मूल्यमान्यता अनि अनुभव छोराछोरीलाई बताउनुहोस्‌।

अनुभवी व्यक्‍तिसँग सङ्‌गत गराउनुहोस्‌।

बाइबलको सिद्धान्त: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।”—हितोपदेश १३:२०.

तपाईँको छोराछोरीको लागि राम्रो उदाहरण बसाल्न सक्ने अनि तिनीहरूलाई कुनै हानि नपुऱ्‍याउने भरोसायोग्य वयस्क व्यक्‍ति कोही छ कि? छ भने छोराछोरीलाई तिनीसँग सङ्‌गत गराउने प्रबन्ध मिलाए कसो होला? तर यसको मतलब तपाईँ छोराछोरीलाई सिकाउने आफ्नो जिम्मेवारीबाट मुक्‍त हुनुभयो भन्‍ने चाहिँ होइन। ती अनुभवी व्यक्‍तिबाट तपाईँका छोराछोरीले प्रोत्साहन पाउन सक्छन्‌, जसले छोराछोरी हुर्काउन तपाईँले गर्ने प्रयासमा मदत पुग्नेछ। तिमोथीले वयस्क भइसकेपछि पनि प्रेषित पावलबाट निकै प्रोत्साहन पाएको अनि पावलले पनि तिमोथीको सङ्‌गतबाट निकै लाभ उठाएको विवरण बाइबलमा उल्लेख गरिएको छ।—फिलिप्पी २:२०, २२.

अहिले धेरै परिवारहरू एउटै घरमा वा एउटै टोल-छिमेकमा बस्दैनन्‌; हजुरबुबा-हजुरआमा, काका-काकी र अरू आफन्तहरू निकै टाढा हुन सक्छन्‌, जसले गर्दा केटाकेटीलाई तिनीहरूसँग सङ्‌गत गर्ने मौका त्यति मिल्दैन। तपाईँको परिवारको अवस्था पनि यस्तै छ भने आफ्नो छोराछोरीले जस्तो गुणहरू देखाएको चाहनुहुन्छ, त्यस्तै गुणहरू भएको व्यक्‍तिसँग छोराछोरीलाई सङ्‌गत गराउने मौका मिलाउनुहोस्‌।

^ अनु. 9 सोही अध्ययनले देखाएअनुसार किशोरकिशोरीले भने हरेक दिन औसतमा नौ घण्टा इलेक्ट्रोनिक साधन चलाउँछन्‌। यस तथ्याङ्‌कमा साना केटाकेटी र किशोरकिशोरीले स्कुलमा र होमवर्क गर्न इलेक्ट्रोनिक साधन प्रयोग गरेको समय जोडिएको छैन।