सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आतसबाजीप्रतिको मोह

आतसबाजीप्रतिको मोह

आतसबाजीप्रतिको मोह

चाहे राष्ट्रिय उत्सवमा होस्‌ अथवा ओलम्पिक खेलमा, आतसबाजी र उत्सव एकअर्काका पर्यायवाची भइसकेका छन्‌। प्रकाशको विस्फोट गरी संयुक्‍त राज्य अमेरिकामा स्वाधीनता दिवस मनाइन्छ, फ्रान्समा बास्टिल दिवस मनाइन्छ अनि वर्षेनी नयाँ वर्षको पूर्व सन्ध्यामा विश्‍वका प्रायः सबै प्रमुख सहरहरूका आकाश प्रज्वलित हुन्छन्‌।

यद्यपि, आतसबाजीप्रति मानिसहरूको मोह कहिलेदेखि सुरु भयो? अनि यस्ता आँखै तिरमिराउने खालको प्रदर्शनहरूका लागि के-कस्ता कला-कौशलताहरू प्रयोगमा ल्याइन्छन्‌?

एउटा पूर्वीय परम्परा

सामान्य युग दसौं शताब्दीमा चिनियाँहरूले आतसबाजी आविष्कार गरेका हुन्‌ भन्‍ने कुरामा अधिकांश इतिहासकारहरू सहमत छन्‌, जुनबेला पूर्वीय रसायनविद्‌हरूले साल्टपिटरलाई (पोटासियम नाइट्रेट) गन्धक तथा कोइलासित मिसाएमा विस्फोटक यौगिक बन्छ भन्‍ने कुरा पत्ता लगाए। युरोपमा यी ज्वलनशील पदार्थहरू भित्र्याउनुमा मार्को पोलो अथवा सम्भवतः अरबी व्यापारीहरूको हात थियो अनि १४ औं शताब्दीतिर त आतसबाजीका भव्य प्रदर्शनहरूले युरोपेली दर्शकहरूलाई मन्त्रमुग्ध पार्दै थियो।

तर मानिसहरूको मन बहलाउने ती पाउडरहरूले युरोपेली इतिहासको दिशालाई पनि मोडिदियो। गनपाउडर भनेर चिनिने यी पदार्थ सेनाहरूले बन्दुकमा गोलीलाई अघिल्तिर धकेल्न, किल्लाका पर्खालहरू ध्वस्त पार्न अनि राजनैतिक शक्‍तिहरूलाई उल्टाउन प्रयोग गरे। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “युरोपेली मध्ययुगको दौडान जङ्‌गी विस्फोटकहरूको प्रयोग पूर्वबाट पश्‍चिमतिर आइपुग्यो र यसको प्रयोग सँगसँगै आतसबाजीको प्रयोग पनि फैलिंदै गयो अनि युरोपमा विजय तथा शान्तिको उत्सव मनाउन आतसबाजी बनाउने कला विशेषज्ञको आवश्‍यकता पऱ्‍यो।”

यसबीच चिनियाँहरूले गनपाउडरको विनाशकारी सम्भाव्यतालाई खासै ध्यान नदिएको जस्तो देखियो। सोह्रौं शताब्दीमा चीनमा सेवा गरिरहेका एक इटालेली जेसुइट मिसनरी मटियो रिकीले यस्तो लेखे: “बन्दुक तथा तोपहरूको प्रयोग गर्ने सन्दर्भमा चिनियाँहरू त्यति कुशल छैनन्‌ अनि तिनीहरू युद्धमा कहिलेकाहीं मात्र प्रयोग गर्न यी कुराहरू बनाउँछन्‌। यद्यपि, सार्वजनिक खेल तथा चाडपर्वहरूको बेला आतसबाजी गर्नको लागि अत्यधिक मात्रामा साल्टपिटरहरू प्रयोग गरिन्छ। यस्ता प्रदर्शनीहरूबाट चिनियाँहरूले औधी आनन्द लिन्छन्‌। . . . आतसबाजीको उत्पादन गर्ने सन्दर्भमा तिनीहरूको सीप साँच्चै विशेष छ।”

आतसबाजी प्रदर्शनको सफलताको सूत्र

थरीथरीका प्रदर्शनहरूको विकास गर्न पुरातन आतसबाजी बनाउनेहरूलाई सीप अनि साहस चाहिन्थ्यो भन्‍ने कुरामा कुनै सन्देह छैन। तिनीहरूले एकातिर गनपाउडरका ठूल्ठूला कणहरू तुलनात्मक रूपमा विस्तारै बल्ने अनि अर्कोतिर मसिना कणहरू ह्वात्तै विस्फोट हुने तथ्य पत्ता लगाए। लामो कागजको ट्युब अथवा बाँसको एक पट्टिको भागलाई बन्द गरेर अनि साँघुरो भागमा गनपाउडरका ठूल्ठूला टुक्राहरू भरी त्यसलाई बन्द गरेर रकेट बनाइन्थ्यो। जब गनपाउडरलाई बालिन्थ्यो, छिट्‌छिटो फैलिने ग्याँस रकेटको खुल्ला भागबाट जोडले निस्कन्थ्यो र उक्‍त रकेटलाई आकाशतिर हुत्याइदिन्थ्यो। (आज अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूलाई पठाउन यही आधारभूत सिद्धान्त प्रयोग गरिन्छ।) रकेटको माथिल्लो भागलाई गनपाउडरका साना टुक्राहरूले प्याक गरिन्थ्यो। जसले गर्दा यदि सबै कुराले राम्ररी काम गरेको छ भने यो प्रक्षेपणको उच्चतम बिन्दुमा पुगेर पड्‌किने थियो।

प्राविधिक हिसाबमा हेर्ने हो भने, शताब्दीयौंको दौडान आतसबाजीमा खासै परिवर्तनहरू भएका छैनन्‌। यद्यपि, केही उन्‍नति चाहिं भएको छ। पूर्वेलीहरूलाई सुरुमा सेतो अथवा सुनौलो रङ्‌गको प्रदर्शन गर्नेबारे मात्र थाह थियो। इटालेलीहरूले अरू रङ्‌गहरू थपे। इटालेलीहरूले १९ औं शताब्दीको सुरुतिर गनपाउडरमा पोटासियम क्लोरेट मिसाउँदा, उक्‍त मिश्रण धातुलाई ग्याँसमा परिवर्तन गर्ने क्षमता बराबरको ताप निकाल्दै बल्ने र त्यसले बलिरहेको ज्वालाको रङ्‌गलाई परिवर्तन गरिदिने कुरा पत्ता लगाए। हिजोआज, रातो ज्वाला निकाल्नको लागि स्टोर्नटियम कार्बोनेट थपिन्छ। टाइटेनियम, एलमुनियम अनि म्याग्नेसियमद्वारा चहकिलो रातो रङ्‌गको ज्वाला, तामाको मिश्रणद्वारा नीलो, बेरियम नाइटराइटद्वारा हरियो अनि सोडियम अक्सालेट मिसिएको मिश्रणद्वारा पहेंलो ज्वाला निकालिन्छ।

कम्प्युटरले आतसबजीको प्रदर्शनमा अर्को रौनक थपेको छ। आतसबाजीहरूलाई हातले सल्काउनुको सट्टा प्राविधिकहरूले विद्युतीय माध्यमबाट सल्काएर ठीक समयमा प्रदर्शन गर्न कम्प्युटर प्रोगामिङ्‌गहरू गर्ने गर्छन्‌ र यसो गर्दा सांगीतिक धुनको तालमा ती आतसबाजीहरू पड्‌कन्छन्‌।

धार्मिक सम्बन्ध

जेसुइट मिसनरीले भनेझैं आतसबाजी चिनियाँ धार्मिक उत्सवको अभिन्‍न भाग थियो। पपुलर मेकानिक्स (अंग्रेजी) नामक पत्रिकाले बताएअनुसार आतसबाजीहरू “नयाँ वर्ष तथा अन्य उत्सवहरूको अवसरमा भूतप्रेतहरूलाई भगाउनको लागि आविष्कार गरियो।” आफ्नो पुस्तक डेज्‌ एण्ड कस्टम अफ अल फेट्‌स-मा (अंग्रेजी) हावर्ड भी. हार्पर यसो भन्छन्‌: “पुरातन मूर्तिपूजक समयदेखि नै मानिसहरूले आफ्ना ठूला धार्मिक अवसरहरूमा राँकोहरू बोक्ने तथा आगो बाल्ने गर्थे। धार्मिक पर्वहरूमा आकाशबाट आफैं झरेको जस्तो देखिने आतसबाजीहरू प्रदर्शन हुँदा उनीहरू नरमाउने त कुरै भएन।”

नाम मात्रका मसीहीहरूले आतसबाजीलाई अँगालेपछि आतसबाजी बनाउनेहरूले आफ्नै इष्ट-सन्त स्थापना गरे। द कोलम्बिया इन्साइक्लोपीडिया यसो भन्छ: “भनिन्छ [सन्त बार्बराका] पिताले मसीही बनेकी बार्बरालाई एउटा धरहरामा थुनेर राखे र पछि मारिदिए। तिनको पितालाई चट्याङ्‌गले प्रहार गऱ्‍यो र उनको मृत्यु आगोको ज्वालाबाट भएको हुनाले सन्त बार्बरा विस्फोटक हातहतियार तथा आतसबाजीकी इष्ट देवी बनिन्‌।”

खर्च गर्न कुनै कन्जुस्याइँ गरिंदैन

धार्मिक होस्‌ या अन्य उत्सव, यस्तो लाग्छ, मानिसहरूको मनमा अझ भव्य अनि सुन्दर आतसबाजीहरू प्रदर्शन गर्ने अतृप्त चाहना लुकेको छ। सोह्रौं शताब्दीमा प्रदर्शन गरिएको एउटा चिनियाँ आतसबाजी प्रदर्शनीबारे वर्णन गर्दै रिकीले यस्तो लेखे: “म नानकिनमा हुँदा मैले तिनीहरूले ठूलो पर्वको रूपमा लिएको नयाँ वर्षको पहिलो महिनाको उत्सव मनाउन गरिएको आतसबाजी प्रदर्शन देखें अनि तिनीहरूले त्यस पर्वमा प्रयोग गरेको पाउडर मेरो हिसाबमा निकै वर्षसम्म ठूलै युद्धहरूमा चलाउन पुग्ने थियो।” यस प्रदर्शनको मूल्यबारे तिनले यसो भने: “जब आतसबाजीको कुरा आउँछ, खर्चको के कुरा।”

मध्यवर्ती शताब्दीहरूमा थोरै मात्र परिवर्तनहरू भएका छन्‌। सन्‌ २००० मा सिड्‌नी हार्बर पुलमा गरिएको एउटा उत्सवमा समुद्रको किनारमा जम्मा भएका मात्र लगभग दस लाख मानिसहरूलाई मनोरञ्जन दिन २० टन आतबाजीहरू पड्‌काइयो। सोही वर्ष, संयुक्‍त राज्य अमेरिकामा झन्डै ७,००,००,००० किलोग्राम आतबाजीको लागि ६३.५ करोड अमेरिकी डलर खर्च गरियो। निस्सन्देह, आतबाजीबाट धेरै संस्कृतिहरू मोहित हुने क्रम जारी छ अनि यसो भन्‍नुमा अझै कुनै आपत्ति नहोला: “जब आतसबाजीको कुरा आउँछ, खर्चको के कुरा।” (g04 2/8)