सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शरणार्थी शिविरमा जीवन

शरणार्थी शिविरमा जीवन

शरणार्थी शिविरमा जीवन

“शरणार्थी शिविर” भन्‍ने बित्तिकै तपाईंको मनमा कस्तो चित्र आउँछ? के तपाईंले कहिल्यै कुनै शरणार्थी शिविरको भ्रमण गर्नुभएको छ? वास्तवमा शरणार्थी शिविर कस्तो हुन्छ?

यो लेख तयार पर्दासम्म तान्जानियाको पश्‍चिमी भागमा १३ वटा शरणार्थी शिविरहरू स्थापना भइसकेका थिए। शरणार्थीहरूका लागि संयुक्‍त राष्ट्रसंघीय उच्च-आयुक्‍तको कार्यालयको (यू एन एच सि आर ) सहयोगमा तान्जानिया सरकारले गृहयुद्धबाट विस्थापित अन्य अफ्रिकी मुलुकका ५,००,००० शरणार्थीहरूलाई मदत गरेको थियो। शिविरमा जीवन कस्तो हुन्छ?

शिविरमा आइपुग्दा

कानडिडा नाउँ गरेकी एक किशोरी केही वर्षअघि आफ्नो परिवारसहित शरणार्थी शिविरमा आइपुग्दाको सम्झना यसरी सुनाउँछिन्‌, “तिनीहरूले हामीलाई रासन कार्ड र आइ डि नम्बर दिए र हाम्रो परिवारलाई न्यारुगुसु शरणार्थी शिविरमा पठाइयो। त्यहाँ हामीले जग्गा र बाटो नम्बर पायौं। अनि हामीलाई निजी सानो घर बनाउनको लागि चाहिने रूख काट्‌ने र घाँसपात बटुल्ने ठाउँ देखाइदिए। हामीले माटोको इँटा बनायौं। यू एन एच सि आर-ले हामीलाई छतमा राख्नको लागि प्लास्टिक दियो। घर बनाउनु निकै गाह्रो काम थियो तर अन्तमा सानो सरल घर तयार हुँदा हामी निकै खुसी भयौं।

दुई हप्तामा एक चोटि बुधबारको दिन रासन कार्डको प्रयोग हुन्छ। कानडिडा अझै यसो भन्छिन्‌, “यू एन एच सि आर-ले वितरण गर्ने आधारभूत खानाहरू लिन हामी क्यानटिनमा लाइन बस्छौं।”

एक जना व्यक्‍तिको भागमा दिनमा कति खाना पर्छ?

“हामी प्रत्येकले ३ कप मकैको पीठो, एक कप गेडागुडी, २० ग्राम भटमासको पीठो, २ ठूलो चम्चा खाना पकाउने तेल अनि १० ग्राम नून पाउँछौं। कहिलेकाहीं हामीले एउटा साबुन पनि पाउँछौं; त्यसले पूरै महिना पुऱ्‍याउनुपर्छ।”

स्वच्छ पिउने पानी नि? त्यो पनि उपलब्ध छ? रिजीकी नाउँ गरेकी एक युवती यसो भन्छिन्‌, “हो, पाइपद्वारा नजिकैको खोलाको पानी तानेर ठूलो ट्यांकीमा पठाइन्छ। शिविरमा रहेका धाराहरूमा पानी पठाउनुअघि क्लोरिन राखेर पानीलाई प्रशोधित गरिन्छ। तैपनि रोग नलागोस्‌ भनेर प्रशोधित पानी पनि पिउनुअघि हामी उमाल्ने गर्छौं। धाराहरूमा पानी भर्ने र लुगाफाटा धुने काममा हामी प्रायः बिहानदेखि बेलुकीसम्मै व्यस्त हुने गर्छौं। दिनमा डेढ बाल्टिन मात्र पानी थाप्न सकिन्छ।”

कुनै एउटा शिविरमा पूरै घुम्नुभएमा तपाईंले पूर्वप्राथमिक, प्राथमिक र माध्यामिक स्कूलहरू देख्न सक्नुहुन्छ। साथै, केही प्रौढ शिक्षा सञ्चालन भइरहेको पनि देख्न सक्नुहुन्छ। शिविर नजिकै रहेको प्रहरी चौकी र सरकारी कार्यालयले शिविरको सुरक्षाको जिम्मा लिएको हुन्छ। तपाईंले स-सना पसलहरू भएको ठूलो बजार पनि देख्न सक्नुहुन्छ, जहाँ शरणार्थीहरूले तरकारी, फलफूल, माछा, कुखुराको मासु र अन्य आधारभूत खानेकुराहरू किन्‍न सक्छन्‌। केही स्थानीय मानिसहरू व्यापार गर्न यो बजारमा आउने गर्छन्‌। तर मालसामानहरू किन्‍न शरणार्थीहरूले पैसा कहाँबाट पाउँछन्‌ त? कसै-कसैले सानो करेसाबारी लगाउँछन्‌ र बजारमा लगेर आफ्ना उत्पादनहरू बेच्छन्‌। अरू कतिपयले रासनको लागि दिइएका पीठो र गेडागुडी केही बचाएर बेच्छन्‌ अनि त्यसबाट पाएको पैसाले मासु र फलफूलहरू किन्‍ने गर्छन्‌। साँच्चै भन्‍ने हो भने, यो शिविर एउटा ठूलो गाउँ जस्तै देखिन्छ। आफ्नो मातृभूमिमा जस्तै धेरै शरणार्थीहरू बजारमा हाँस्दै रमाइलो गर्दै हिंडिरहेको देख्न सकिन्छ।

यदि तपाईं अस्पतालमा जानुभएमा शिविरमा केही स्वास्थ्य केन्द्रहरू पनि भएको कुरा कुनै डाक्टरले तपाईंलाई बताउन सक्छन्‌ जहाँ सामान्य रोगहरूको उपचार गरिन्छ र आकस्मिक अनि गम्भीर रोगहरूको लागि भने अस्पतालमै पठाइन्छ। शिविरमा रहेका ४८,००० शरणार्थीहरूलाई ध्यानमा राख्ने हो भने एक महिनामा २५० बच्चाहरू जन्मन सक्ने अस्पतालको प्रसूति-विभाग र प्रसव-कक्षको ठूलो महत्त्व छ।

आध्यात्मिक तवरमा राम्ररी खुवाइएको

तान्जानियाका शिविरहरूमा बस्ने आफ्ना आध्यात्मिक भाइहरूको अवस्थाबारे बुझ्न संसारभरिका यहोवाका साक्षीहरू उत्सुक होलान्‌। शिविरमा १४ वटा मण्डली र तीनवटा समूहहरू गरी जम्मा १२०० जना यहोवाका साक्षीहरू छन्‌। तिनीहरूको अवस्था कस्तो छ त?

शिविरमा आउने बित्तिकै यी समर्पित मसीहीहरूले सबैभन्दा पहिले राज्यभवन निर्माण गर्न जग्गाको लागि आग्रह गरे। राज्यभवनको निर्माण भएमा शरणार्थीहरूले साक्षीहरूलाई सजिलै भेट्टाउन सक्नुका साथै तिनीहरूको साप्ताहिक सभाहरूमा पनि उपस्थित हुन सक्थे। लुगुफु शिविरमा ६५९ जना सक्रिय मसीहीहरूका सातवटा मण्डलीहरू छन्‌। आइतबारको दिन यी सातवटै मण्डलीहरूमा लगभग १,७०० जना उपस्थित हुन्छन्‌।

साक्षीहरूले सबै शिविरहरूमा ठूला मसीही सम्मेलनहरू अनि अधिवेशनहरूबाट पनि लाभ उठाउँछन्‌। लुगुफु शिविरमा पहिलो जिल्ला अधिवेशनको आयोजना गरिंदा २,३६३ जना उपस्थित भए। साक्षीहरूले अधिवेशनस्थल नजिकै बप्तिस्माको लागि पोखरी बनाएका थिए। पानी अड्याउनको लागि खाल्डो खनेर प्लास्टिक बिछ्याइएको थियो। दुई किलोमिटरभन्दा टाढाको नदीदेखि भाइहरूले साइकलबाट पानी ओसारेका थिए। एक पटकमा बीस लिटर मात्र पानी ओसार्न सकिने भएकोले तिनीहरूले पोखरी भर्नको लागि धेरै पटक पानी ओसार्नु परेको थियो। बप्तिस्मा लिने उम्मेदवारहरू भद्र पोसाकमा बप्तिस्माको लागि लाइनमा उभिए। जम्मा ५६ जनाले पानीमा चुर्लुम्म डुबेर बप्तिस्मा लिए। अधिवेशनमा अन्तरवार्ता दिने एक जना पूर्ण-समय सेवकले ४० जना बाइबल अध्ययनहरू सञ्चालन गर्ने गरेको बताए। उनका ती बाइबल अध्ययनहरूमध्ये ४ जना विद्यार्थीहरूले उक्‍त अधिवेशनमा बप्तिस्मा लिए।

यहोवाका साक्षीहरूको शाखा कार्यालयले परिभ्रमण निरीक्षकको नियमित भ्रमणको प्रबन्ध मिलाएको छ। एक जना परिभ्रमण निरीक्षक यसो भन्छन्‌, “हाम्रा भाइहरू सेवकाईमा जोसिला छन्‌। तिनीहरूसित प्रचार गर्नको लागि धेरै ठूलो इलाका छ अनि एउटा मण्डलीमा त प्रत्येक साक्षीहरूले हरेक महिना लगभग ३४ घण्टा सेवकाईमा बिताउँछन्‌। धेरैले पाँच वा त्योभन्दा बढी जिज्ञासु व्यक्‍तिहरूसित बाइबल अध्ययन सञ्चालन गर्छन्‌। आफूले काम गरिरहेको जस्तो राम्रो इलाका अरू कतै छैन भनी एक जना अग्रगामीले [पूर्ण-समय सेविका] बताइन्‌। शिविरका मानिसहरूले हाम्रा प्रकाशनहरू धेरै मन पराउँछन्‌।”

बाइबल साहित्यहरू कसरी ती शिविरहरूसम्म पुऱ्‍याइन्छ? शाखा कार्यालयले प्रकाशनहरू रेलबाट टाङ्‌गानिका तालको पूर्वी तटमा रहेको किगोमा शहरमा पठाउँछ। त्यहाँका भाइहरूले प्रकाशनहरू पाएपछि मण्डलीहरूमा ढुवानी गर्ने प्रबन्ध मिलाउँछन्‌। कहिलेकाहीं भाइहरू आफैले मालवाहक ट्रकहरू भाडामा लिन्छन्‌ र सबै शिविरहरूमा साहित्यहरू पुऱ्‍याउने गर्छन्‌। यसरी शिविरहरूसम्म साहित्यहरू पुऱ्‍याउन एकदमै बिग्रेको बाटोमा तीन अथवा चार दिन यात्रा गर्नुपर्छ।

भौतिक मदत

यी शिविरहरूमा रहेका शरणार्थीहरूलाई मदत दिने सन्दर्भमा फ्रान्स, बेल्जियम र स्वीजरल्याण्डका यहोवाका साक्षीहरू विशेष मदतकारी साबित भएका छन्‌। गृह-मान्त्रालय अनि यू एन एच सि आर-को स्वीकृतिमा कोही-कोही भाइबहिनीहरूले तान्जानियाका शिविरहरूमा भ्रमण गरेका छन्‌। युरोपका साक्षीहरूले ठूलो परिमाणमा भटमासको दूध, लुगाफाटा, जुत्ता, स्कूलका किताबहरू अनि साबुन संकलन गरेका छन्‌। बाइबलको यो सिद्धान्तलाई पालन गर्दै भाइबहिनीहरूले सबै शरणार्थीहरूलाई वितरण गर्नको लागि यी मालसामानहरू अनुदान दिएका हुन्‌: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।”—गलाती ६:१०.

धेरै शरणार्थीहरूलाई मदत दिएर यस्ता मानवीय कार्यहरूले एकदमै राम्रो परिणामहरू हासिल गरेका छन्‌। एउटा शिविरमा रहेको शरणार्थी समाज समितिले यी शब्दहरूद्वारा आफ्नो कृतज्ञता व्यक्‍त गऱ्‍यो: “तपाईंहरूको संगठनले तीन पटक प्रदान गरेको मानवीय सेवाको लागि हाम्रो पूरै समुदायको तर्फबाट कृतज्ञता व्यक्‍त गर्न पाउनु हाम्रोलागि ठूलो सुअवसर हो। . . . खाँचोमा परेका १२,६५४ पुरुष, स्त्री र केटाकेटीलगायत भर्खरै जन्मेका बच्चाहरूलाई समेत लुगाफाटाहरू वितरण गरियो। . . . मुयोभोजी शरणार्थी शिविरमा हाल ३७,००० शरणार्थीहरू बसोबास गर्छन्‌। जम्मा १२,६५४ शरणार्थीहरू अर्थात्‌ शिविरमा रहेको सबै जनसंख्याको ३४.२ प्रतिशतलाई राहत उपलब्ध गराइयो।”

अर्को एउटा शिविरमा १२,३८२ जना शरणार्थीहरू प्रत्येकलाई तीन जोर लुगा दिइयो र अर्को शिविरले माध्यमिक, प्राथमिक र शिशु-निकेतनहरूमा प्रयोग गरिने हजारौं पाठ्यपुस्तकहरू प्राप्त गऱ्‍यो। यू एन एच सि आर-मा कार्यरत एउटा इलाकाका प्रमुख अधिकारीले यस्तो टिप्पणा गरे: “शिविरका शरणार्थीहरूको ठूलो आवश्‍यकता [पूरा गर्ने] तपाईंहरूले दिनुभएको अनुदानको लागि हामी अत्यन्तै आभारी छौं। सबैभन्दा पछिल्लो पटक प्राप्त गरेको ५ कन्टेनर पाठ्य-पुस्तक हाम्रा सामुदायिक सेवाहरूले शरणार्थी शिविरका शरणार्थीहरूलाई वितरण गरेका छन्‌। . . . धेरै धन्यवाद।”

स्थानीय अखबारहरूले पनि यहोवाका साक्षीहरूले दिएको राहत कार्यबारे टिप्पणी गरेका छन्‌। मे २०, २००१ को सन्डे न्युज-मा प्रकाशित मुख्य समाचार यस्तो थियो: “तान्जानियामा शरणार्थीहरूका लागि लुगाफाटाहरू आउँदैछन्‌।” यस अखबारको फ्रेब्रुअरी १०, २००२ को अंकले यस्तो टिप्पणी गऱ्‍यो: “शरणार्थी समुदाय अनुदानको मूल्यांकन गर्छ किनकि लुगाफाटाको अभावमा स्कूल जान छोडेका केही बच्चाहरू हाल नियमित रूपमा आफ्ना कक्षामा उपस्थित भइरहेका छन्‌।”

कष्टदायी परिस्थितिमा तर असहाय होइन

अधिकांश शरणार्थीहरूलाई शिविरको नौलो जीवन शैलीअनुसार आफ्नो जीवनमा छाँटकाँट ल्याउन झन्डै एक वर्ष लाग्छ। तिनीहरू सरल जीवन बिताउँछन्‌। यी शिविरहरूमा बस्ने यहोवाका साक्षीहरूले धेरैजसो समय आफ्ना शरणार्थी छिमेकीहरूलाई परमेश्‍वरको वचन बाइबलबाट सान्त्वनादायी सुसमाचार सुनाउन बिताउँछन्‌। तिनीहरू नयाँ संसारबारे बताउँछन्‌ जहाँ सबैले “आफ्नो तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌। जाति जातिहरूले एका अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌, नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्‌।” त्यसपछि सबैजना “आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।” स्पष्टतः परमेश्‍वरको आशिष्‌ले यो नयाँ संसारमा शरणार्थी शिविरहरू हुने छैनन्‌।—मीका ४:३, ४; भजन ४६:९.

[पृष्ठ ८-मा भएको चित्र]

डुटा शिविरमा घरहरू

[पृष्ठ १०-मा भएका चित्रहरू]

लुकोली राज्यभवन (दायाँ) लुगुफुमा बप्तिस्मा (तल)

[पृष्ठ १०-मा भएको चित्र]

लुगुफु शिविरमा जिल्ला अधिवेशन