सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘हेर, म सधैंभरि तिमीहरूसितै छु’

‘हेर, म सधैंभरि तिमीहरूसितै छु’

“हेर, यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।”—मत्ती २८:२०.

१. (क) गहुँ र सामाको दृष्टान्त छोटकरीमा बताउनुहोस्। (ख) येशूले उक्त दृष्टान्तको अर्थ कसरी खोल्नुभयो?

येशूले राज्यसम्बन्धी थुप्रै दृष्टान्त बताउनुभयो। तीमध्ये एउटा दृष्टान्त गहुँ छर्ने किसान र गहुँको बीच-बीचमा सामा छर्ने शत्रुबारे थियो। पछि सामा हलक्कै बढेर गहुँलाई ढाक्छ। तैपनि किसानले आफ्ना दासहरूलाई “बाली काट्ने बेलासम्म दुवैलाई सँगै बढ्न देओ” भन्छ। बाली काट्ने बेला सामा नष्ट पारिन्छ, गहुँचाहिं जम्मा गरिन्छ। येशू आफैले दृष्टान्तको अर्थ खोल्नुभयो। (मत्ती १३:२४-३०, ३७-४३ पढ्नुहोस्) यस दृष्टान्तबाट के सिक्न सक्छौं? (“गहुँ र सामा” शीर्षकको चार्ट हेर्नुहोस्)

२. (क) दृष्टान्तको घटनाक्रमले केलाई सङ्केत गर्छ? (ख) यस लेखमा हामी दृष्टान्तको कुनचाहिं समयबारे छलफल गर्नेछौं?

दृष्टान्तको घटनाक्रमले येशूले मानिसहरूबीचबाट सम्पूर्ण गहुँ वर्ग अर्थात्‌ उहाँसँगै राज्य गर्ने अभिषिक्त ख्रीष्टियनहरूलाई कहिले अनि कसरी जम्मा गर्नुहुन्छ, त्यो सङ्केत गर्छ। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा बीउ छर्ने काम सुरु भयो। त्यसोभए बाली जम्मा गर्ने काम कहिले पूरा हुनेछ? यस युगको अन्तमा जीवितै रहेका अभिषिक्त जनहरूलाई अन्तिम छाप लगाएर स्वर्ग लगिसकेपछि। (मत्ती २४:३१; प्रका. ७:१-४) डाँडाको टुप्पोबाट चारैतिर मनोरम दृश्य हेर्न सकिएझैं यस दृष्टान्तले हामीलाई लगभग २,००० वर्षबीच हुने घटनाक्रम छर्लङ्गै बुझ्न मदत गर्छ। अहिले हामीले परमेश्वरको राज्यसित सम्बन्धित के-कस्ता कुरा स्पष्टसित बुझ्न सकेका छौं? यस दृष्टान्तमा बीउ छर्ने, बाली बढ्ने र बाली काट्ने समयावधिबारे व्याख्या गरिएको छ। तर यस लेखमा विशेषगरि बाली काट्ने बेलाबारे छलफल गरिनेछ। *

येशूको रेखदेखमा

३. (क) दोस्रो शताब्दीको सुरुतिर के भयो? (ख) मत्ती १३:२८ मा उल्लेख गरिएअनुसार कसले के प्रश्न सोधे? (नोट पनि हेर्नुहोस्)

इस्वी संवत्‌ दोस्रो शताब्दीको सुरुतिर “सामा . . . देखा पऱ्यो।” तिनीहरू नक्कली ख्रीष्टियन थिए। (मत्ती १३:२६) चौथो शताब्दीसम्ममा त सामारूपी ख्रीष्टियनहरूले गर्दा अभिषिक्त ख्रीष्टियनहरू ओझेलमा परिसकेका थिए। अब फेरि दृष्टान्तलाई  सम्झनुहोस्। दासहरूले मालिकसित सामा उखेल्ने अनुमति मागे। * (मत्ती १३:२८) मालिकले के जवाफ दिए?

४. (क) खेतका मालिक येशूको जवाफबाट के स्पष्ट हुन्छ? (ख) गहुँरूपी ख्रीष्टियनहरूको चिनारी कहिले स्पष्ट भयो?

गहुँ र सामाको सम्बन्धमा येशूले यसो भन्नुभयो: “बाली काट्ने बेलासम्म दुवैलाई सँगै बढ्न देओ।” येशूको यस आदेशबाट के स्पष्ट हुन्छ? प्रथम शताब्दीदेखि अहिलेसम्म गहुँरूपी अभिषिक्त ख्रीष्टियनहरू हुँदै नभएको समय कहिल्यै भएन। पछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुराले पनि यसको पुष्टि गर्छ: “यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:२०) त्यसैकारण येशूले अभिषिक्त ख्रीष्टियनहरूलाई प्रथम शताब्दीदेखि अन्तको दिनसम्मै रेखदेख गर्नुहुनेथियो। तर सामारूपी ख्रीष्टियनहरूले यी अभिषिक्त ख्रीष्टियनहरूलाई ओझेलमा पारेकाले त्यतिखेर को-को गहुँ वर्गका थिए, तोकेरै भन्न सक्दैनौं। तैपनि बाली काट्ने बेला सुरु हुनुभन्दा केही दशकअघि गहुँ वर्गको चिनारी स्पष्ट भयो। कसरी?

दूतले ‘बाटो तयार पार्छ’

५. मलाकीले गरेको भविष्यवाणीको पूर्ति प्रथम शताब्दीमा कसरी भयो?

 येशूले गहुँ र सामाको दृष्टान्त बताउनुभन्दा सयौं वर्षअघि यहोवाले मलाकीलाई येशूको दृष्टान्तमा सङ्केत गरिएको घटनाक्रमबारे भविष्यवाणी गर्न लगाउनुभयो। (मलाकी ३:१-४ पढ्नुहोस्) बप्तिस्मा गराउने यूहन्ना ‘बाटो तयार पार्ने दूत’ थिए। (मत्ती ११:१०, ११) तिनले इस्वी संवत्‌ २९ मा सेवाको काम सुरु गर्दा इस्राएल राष्ट्रको इन्साफ गर्ने समय नजिक आइसकेको थियो। येशूचाहिं दोस्रो दूत हुनुहुन्थ्यो। उहाँले यरूशलेमको मन्दिरलाई दुई पटक शुद्ध पार्नुभयो। पहिलो, सेवाको कामको सुरुतिर अनि दोस्रो,  सेवाको कामको अन्ततिर। (मत्ती २१:१२, १३; यूह. २:१४-१७) यसरी शुद्ध पार्ने कामले केही समयावधि ढाक्यो।

६. (क) मलाकीले गरेको भविष्यवाणीको विस्तृत पूर्ति कसरी भयो? (ख) येशूले कुन समयावधिमा आध्यात्मिक मन्दिरको निरीक्षण गर्नुभयो? (नोट हेर्नुहोस्)

 मलाकीले गरेको भविष्यवाणीको विस्तृत पूर्ति कसरी भयो? सन्‌ १९१४ अघिका केही दशकमा सी. टी. रसल र तिनका घनिष्ठ सहयोगीहरूले बप्तिस्मा गराउने यूहन्नाले गरेको जस्तै काम गरे। ती बाइबल स्टुडेन्ट्सले बाइबलले वास्तवमा के सिकाउँछ, त्यसबारे गहिरो अध्ययन गर्न थाले। तिनीहरूले ख्रीष्टको फिरौतीको सही अर्थ सिकाए, नरकसम्बन्धी झूटो शिक्षाको पर्दाफास गरे र सन्‌ १९१४ मा अन्यजातिको समयको अन्त हुनेछ भनेर घोषणा गरे। तर त्यतिखेर ख्रीष्टको अनुयायी हुँ भनी दाबी गर्ने धार्मिक समूह थुप्रै थिए। त्यसैले यस महत्त्वपूर्ण प्रश्नको जवाफ चाहिएको थियो: यी थुप्रै समूहमध्ये गहुँ वर्ग कुन थियो? यस विवादको टुङ्गो लगाउन येशूले सन्‌ १९१४ मा आध्यात्मिक मन्दिरको निरीक्षण गर्न थाल्नुभयो। निरीक्षण गर्ने र मन्दिर शुद्ध पार्ने कामले केही समयावधि ढाक्यो। त्यो समयावधि सन्‌ १९१४ देखि १९१९ को सुरुसम्म चल्यो। *

अभिषिक्त ख्रीष्टियनहरूलाई निरीक्षण गरियो र शुद्ध पारियो

७. येशूले सन्‌ १९१४ मा निरीक्षण गर्न थाल्दा के भेट्टाउनुभयो?

येशूले निरीक्षण गर्न थाल्दा के भेट्टाउनुभयो? जोसिला बाइबल स्टुडेन्ट्सको सानो समूहले विगत ३० वर्षभन्दा अघिदेखि आफ्नो शक्ति र सरसम्पत्ति खर्च गरेर जोडतोडले प्रचार गरिरहेका थिए। * जति नै कोसिस गरे पनि सामाले गहुँका यी थोरै तर बलिया बालालाई निमोठ्न सकेन। यो देख्दा येशू र उहाँका स्वर्गदूतहरू पक्कै खुसी भएको हुनुपर्छ।  तैपनि “लेवीका सन्तान” अर्थात्‌ यी अभिषिक्त जनहरूलाई ‘शुद्ध पार्नु’ जरुरी भयो। (मला. ३:२, ३; १ पत्रु. ४:१७) किन?

८. सन्‌ १९१४ पछि के-कस्ता घटना भए?

सन्‌ १९१४ को अन्ततिर केही बाइबल स्टुडेन्ट्स स्वर्ग जाने आशा साकार नहुँदा निराश भए। सन्‌ १९१५ र १९१६ मा सङ्गठनबाहिरबाट आएको विरोधले गर्दा तिनीहरू प्रचारकार्यमा अलि सुस्ताए। अक्टोबर १९१६ मा भाइ रसलको मृत्यु भएपछि तिनीहरूले योभन्दा पनि चर्को विरोध खप्नुपऱ्यो। सङ्गठनभित्रैकाले विरोध गर्न थाले। वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको नेतृत्व भाइ रदरफोर्डले सम्हाल्ने भनेर निर्णय गरिएको थियो तर सोसाइटीका सात निर्देशकमध्ये चार जनाले उक्त निर्णयको विरोध गरे। तिनीहरूले भाइहरूबीच फाटो ल्याउने प्रयास गरे तर अगस्त १९१७ मा तिनीहरूले बेथेल छोडे। ‘कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो!’ सङ्गठन शुद्ध भयो! केही बाइबल स्टुडेन्ट्स मानिसको डरको पासोमा पनि परे। तर थुप्रैले भने यो शुद्ध पार्ने कामलाई राजीखुसीले स्वीकारे र आवश्यक छाँटकाँट गरे। त्यसकारण येशूले तिनीहरूलाई गहुँ अर्थात्‌ साँचो ख्रीष्टियन ठहऱ्याउनुभयो तर मण्डलीभित्रका अनि चर्चका सबै नक्कली ख्रीष्टियनलाई तिरस्कार गर्नुभयो। (मला. ३:५; २ तिमो. २:१९) त्यसपछि के भयो? त्यो थाह पाउन आउनुहोस्, गहुँ र सामाको दृष्टान्तलाई फेरि विचार गरौं।

बाली काट्ने बेला सुरु भएपछि के हुन्छ?

९, १०. (क) अब हामी के छलफल गर्नेछौं? (ख) बाली काट्ने बेलाको दौडान पहिला के भयो?

येशूले भन्नुभयो: “बाली काट्ने समयचाहिं युगको आखिरी समय हो।” (मत्ती १३:३९) बाली काट्ने समय सन्‌ १९१४ मा सुरु भयो। त्यस समयावधिमा हुने पाँचवटा घटनाबारे येशूले गर्नुभएको भविष्यवाणी अब हामी छलफल गर्नेछौं।

 १० पहिलो, सामा बटुल्ने। येशू भन्नुहुन्छ: “बाली काट्ने बेला म खेतालाहरूलाई भन्नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध।” सन्‌ १९१४ पछि स्वर्गदूतहरूले सामारूपी ख्रीष्टियनहरूलाई “राज्यका” अभिषिक्त “सन्तान”-बाट अलग्याउन थाले। यसप्रकार सामारूपी ख्रीष्टियनहरूलाई ‘बटुल्ने’ काम सुरु भयो।—मत्ती १३:३०, ३८, ४१.

११. अहिले पनि कुन कामले गर्दा साँचो ख्रीष्टियनहरू नक्कली ख्रीष्टियनहरूभन्दा अलग्गै देखिएका छन्‌?

११ बटुल्ने काम अघि बढ्दै जाँदा गहुँ र सामाबीचको भिन्नता स्पष्ट हुँदै गयो। (प्रका. १८:१, ४) महान्‌ बेबिलोन पतन भइसक्यो भनेर सन्‌ १९१९ सम्ममा त स्पष्ट भइसकेको थियो। विशेषगरि कुन कुराले गर्दा साँचो ख्रीष्टियनहरू नक्कली ख्रीष्टियनहरूभन्दा अलग्गै देखिए? प्रचारकार्यले गर्दा। बाइबल स्टुडेन्ट्समाझ नेतृत्व लिइरहेका भाइहरूले मण्डलीका सबैले राज्यको सुसमाचार सुनाउने काममा भाग लिनै पर्छ भनेर जोड दिए। जस्तै, सन्‌ १९१९ मा प्रकाशित जसलाई काम सुम्पिइएको छ (अङ्ग्रेजी) भन्ने सानो पुस्तिकामा प्रत्येक अभिषिक्त ख्रीष्टियनलाई घरघरको प्रचारकार्यमा भाग लिन आग्रह गरिएको थियो। त्यस पुस्तिकामा यस्तो लेखिएको थियो: “यो काम गर्नु अत्यन्तै कठिन देखिन्छ। तर यो काम हाम्रो होइन, प्रभुको हो। त्यसैले उहाँबाटै पाएको बलले यो काम पूरा गर्न सक्छौं। तपाईंले यस काममा भाग लिने सुअवसर पाउनुभएको छ।” बाइबल स्टुडेन्ट्सले के गरे? तिनीहरू प्रचारकार्यमा जोडतोडले लागे भनेर सन्‌ १९२२ को द वाच टावर-ले रिपोर्ट गऱ्यो। यसको केही समय नबित्दै घरघरको प्रचारकार्य यी वफादार ख्रीष्टियनहरूको चिनारी नै बन्न पुग्यो र अहिले पनि यो हाम्रो चिनारी हो।

१२. गहुँ वर्गलाई कहिलेदेखि जम्मा गरियो?

 १२ दोस्रो, गहुँ जम्मा गर्ने। येशूले स्वर्गदूतहरूलाई यस्तो आदेश दिनुभयो: “गहुँ जम्मा गरेर मेरो धनसारमा राख।” (मत्ती १३:३०) सन्‌ १९१९ देखि अभिषिक्त जनहरू शुद्ध पारिएको ख्रीष्टियन मण्डलीमा जम्मा गरिएका छन्‌। तर यस युगको अन्तमा जीवितै रहने अभिषिक्त जनहरूबारे के भन्न सकिन्छ? स्वर्गमा आ-आफ्नो इनाम पाउँदा तिनीहरूलाई  अन्तिम पटक जम्मा गरिनेछ।—दानि. ७:१८, २२, २७.

१३. चर्चजगत्‌लगायत वेश्या अर्थात्‌ महान्‌ बेबिलोनले देखाएको मनोवृत्तिबारे प्रकाश १८:७ मा के बताइएको छ?

१३ तेस्रो, रोदन अनि चीत्कार। स्वर्गदूतहरूले सामाको बिटा बाँधिसकेपछि के हुन्छ? सामा वर्गको अवस्थाबारे येशू यसो भन्नुहुन्छ: “रोदन अनि वेदनाको चीत्कार हुनेछ।” (मत्ती १३:४२) के यो अहिले भइरहेको छ? अहँ, छैन। चर्चजगत्‌ प्रकाश अध्याय १८ मा व्याख्या गरिएको वेश्याको भाग हो। चर्चजगत्‌ अझै पनि आफूबारे यसो भन्छे: “म महारानी भएर बसेकी छु, म विधवा होइन, त्यसैले मैले कहिल्यै शोक गर्नु पर्नेछैन।” (प्रका. १८:७) वास्तवमा चर्चजगत्‌लाई आफू सत्तामा छु भन्ने लाग्छ र आफू राजनैतिक नेताहरूमाथि “महारानी भएर बसेकी छु” समेत भन्ठान्छे। सामाको रूपमा चिनिएका नक्कली ख्रीष्टियनहरू अहिले रोइरहेका छैनन्‌, बरु घमन्ड गरिरहेका छन्‌। तर अब छिट्टै पासा पल्टनेछ।

राजनैतिक नेताहरूसित चर्चजगत्‌को साठगाँठ चाँडै अन्त हुनेछ (अनुच्छेद १३ हेर्नुहोस्)

१४. (क) नक्कली ख्रीष्टियनहरूले कहिले र किन रिसाउँदै “चीत्कार” गर्नेछन्‌? (ख) मत्ती १३:४२ सम्बन्धी हाम्रो बुझाइमा गरिएको छाँटकाँट भजन ११२:१० मा व्यक्त गरिएको विचारसित कसरी मेल खान्छ? (नोट हेर्नुहोस्)

१४ महासङ्कष्टको बेला सबै झूटो धर्म नाश भएपछि त्यसका अनुयायीहरूले लुक्ने ठाउँ खोज्नेछन्‌ तर कतै भेट्टाउनेछैनन्‌। (लूका २३:३०; प्रका. ६:१५-१७) विनाशबाट कुनै हालतमा उम्कन सकिंदैन भनेर बुझेपछि तिनीहरू हताश भएर रुनेछन्‌ र रिसाउँदै “चीत्कार” गर्नेछन्‌। महासङ्कष्टबारे येशूको भविष्यवाणीबमोजिम नै त्यस भयानक समयमा तिनीहरूले “शोक गर्दै आफ्नो छाती पिट्नेछन्‌।” *मत्ती २४:३०; प्रका. १:७.

१५. सामालाई के गरिनेछ र यो कहिले हुनेछ?

 १५ चौथो, आगोको भट्टीमा हालिदिने। बिटा बाँधिएको सामालाई के गरिनेछ? स्वर्गदूतहरूले त्यसलाई “आगोको भट्टीमा हालिदिनेछन्‌।” (मत्ती १३:४२) यसको अर्थ पूर्ण विनाश हो। अतः झूटो धर्मलाई साथ दिएका ती अनुयायीहरू महासङ्कष्टको अन्तिम चरण आरमागेडोनमा नाश हुनेछन्‌।—मला. ४:१.

१६, १७. (क) येशूले दृष्टान्तमा बताउनुभएको अन्तिम घटना के हो? (ख) यस घटनाको पूर्ति भविष्यमा हुनेछ भनेर किन भन्न सक्छौं?

 १६ पाँचौं, सूर्यझैं चम्किने। येशू यसो भन्दै भविष्यवाणी टुङ्ग्याउनुहुन्छ: “परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरू भने त्यसबेला आफ्नो बुबाको राज्यमा सूर्यझैं चम्किनेछन्‌।” (मत्ती १३:४३) तिनीहरू कहिले सूर्यझैं चम्किनेछन्‌? भविष्यमा। अनि कहाँ? पृथ्वीमा नभई स्वर्गमा। * यस्तो निष्कर्षमा पुग्नुका दुईवटा कारण छन्‌। आउनुहोस्, विचार गरौं।

१७ पहिलो कारण बुझ्न यो “कहिले” हुनेछ, विचार गरौं। येशूले भन्नुभयो: “परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरू भने त्यसबेला . . . चम्किनेछन्‌।” स्पष्ट छ, “त्यसबेला” भन्ने  शब्दले येशूले भर्खरै उल्लेख गर्नुभएको घटनालाई सङ्केत गर्छ र त्यो हो, ‘सामालाई आगोको भट्टीमा हालिदिने।’ यो घटना महासङ्कष्टको अन्तिम चरणमा हुनेछ। त्यसकारण अभिषिक्त जनहरू ‘चम्कने’ समय पनि भविष्यमा नै हुनुपर्छ। अब दोस्रो कारण बुझ्न यो “कहाँ” हुनेछ, विचार गरौं। येशूले परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरू ‘आफ्नो बुबाको राज्यमा चम्किनेछन्‌’ भन्नुभयो। यसको अर्थ के हो? महासङ्कष्टको पहिलो चरणपछि अझै पनि पृथ्वीमा बाँकी रहेका वफादार अभिषिक्त जन सबैले अन्तिम छाप पाइसकेका हुनेछन्‌। त्यसपछि येशूले महासङ्कष्टबारे गर्नुभएको भविष्यवाणीअनुसारै तिनीहरूलाई स्वर्गमा जम्मा गरिनेछ। (मत्ती २४:३१) त्यहाँ तिनीहरू ‘आफ्नो बुबाको राज्यमा चम्किनेछन्‌’ र आरमागेडोनको युद्धको लगत्तै येशू अर्थात्‌ “थुमाको विवाह”-मा उहाँकी हर्षित दुलहीको रूपमा सरिक हुनेछन्‌।—प्रका. १९:६-९.

हामीलाई हुने फाइदा

१८, १९. येशूले गहुँ र सामाबारे बताउनुभएको दृष्टान्त बुझ्दा हामीलाई कसरी फाइदा हुन्छ?

१८ यो दृष्टान्त छर्लङ्ग बुझ्दा हामीलाई कसरी फाइदा हुन्छ? तीन तरिकामा फाइदा हुन्छ। पहिलो, यस दृष्टान्तले यहोवाले दुष्ट मानिसहरूलाई अहिलेसम्म नाश नगर्नुको कारण बुझ्न मदत गर्छ। “कृपाका भाँडाहरू” अर्थात्‌ गहुँले चित्रण गर्ने वफादार मानिसहरू तयार पार्न उहाँले “क्रोधका भाँडाहरूलाई” अर्थात्‌ दुष्ट मानिसहरूलाई “सहनुभयो।” * (रोमी ९:२२-२४) दोस्रो, यसले हाम्रो भरोसा बलियो पार्छ। अन्त नजिकिंदै जाँदा हाम्रा शत्रुहरूले हामीविरुद्ध अझै तीव्र रूपमा युद्ध गर्नेछन्‌ तर तिनीहरू “विजयी हुनेछैनन्‌।” (यर्मिया १:१९ पढ्नुहोस्) जसरी स्वर्गमा हुनुहुने हाम्रो बुबा यहोवाले गहुँ वर्गलाई युगौंदेखि जोगाउनुभयो, त्यसरी नै येशू र स्वर्गदूतमार्फत उहाँ हामीसित “सधैंभरि” हुनुहुनेछ।—मत्ती २८:२०.

१९ तेस्रो, गहुँले कसलाई चित्रण गर्छ भनेर बुझ्न यस दृष्टान्तले हामीलाई मदत गर्छ। यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ? अन्तको दिनबारे भविष्यवाणी गर्दा येशूले उठाउनुभएको अर्को प्रश्नको जवाफ पाउन। उहाँले सोध्नुभयो: “वास्तवमा विश्वासी र बुद्धिमान्‌ दास को हो?” (मत्ती २४:४५) यसपछिका दुईवटा लेखमा यस प्रश्नको चित्तबुझ्दो जवाफ पाउनेछौं।

 

^ अनु. 2 अनुच्छेद २: यस दृष्टान्तमा उल्लेख गरिएका अन्य पक्षको अर्थ सम्झन मार्च १, २०१० को प्रहरीधरहरा-को “धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्‌” लेख पढ्न प्रोत्साहन दिन्छौं।

^ अनु. 3 अनुच्छेद ३: येशूका प्रेषितहरूको मृत्यु भइसकेको थियो र पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरूलाई दृष्टान्तमा दासको रूपमा नभई गहुँको रूपमा चिनाइएको थियो। त्यसैकारण दृष्टान्तका दासहरूले स्वर्गदूतहरूलाई चित्रण गर्छ। सामा बटुल्नेहरूलाई पछि दृष्टान्तमा स्वर्गदूतहरू भनेर चिनाइएको छ।—मत्ती १३:३९.

^ अनु. 6 अनुच्छेद ६: यो हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। हाम्रो पहिलेको बुझाइ येशूले सन्‌ १९१८ मा मन्दिरको निरीक्षण गर्नुभयो भन्ने थियो।

^ अनु. 7 अनुच्छेद ७: सन्‌ १९१० देखि १९१४ सम्ममा बाइबल स्टुडेन्ट्सले झन्डै ४० लाख किताब र २० करोडभन्दा धेरै पर्चा तथा साना पुस्तिका वितरण गरे।

^ अनु. 14 अनुच्छेद १४: यो मत्ती १३:४२ बारे हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। हाम्रो पहिलेको बुझाइ “राज्यका सन्तान”-ले नक्कली ख्रीष्टियनहरूलाई “दुष्टका सन्तान” भनेर पर्दाफास गरेकोले ती नक्कली ख्रीष्टियनहरू दशकौंदेखि ‘रोइरहेका’ र रिसाउँदै “चीत्कार” गरिरहेका छन्‌ भन्ने थियो। (मत्ती १३:३८) तर नबिर्सनुहोस्, नाश हुनेहरूले भविष्यमा रिसाउँदै चीत्कार गर्नेछन्‌ भनेर बाइबलमा बताइएको छ।—भज. ११२:१०.

^ अनु. 16 अनुच्छेद १६: दानियल १२:३ मा “ज्ञानी अगुवाहरू [अभिषिक्त ख्रीष्टियनहरू] उज्ज्वल आकाशझैं चम्कनेछन्‌” भनिएको छ। पृथ्वीमा छँदा तिनीहरू प्रचार गरेर चम्कन्छन्‌। तर मत्ती १३:४३ ले भने तिनीहरू भविष्यमा स्वर्गको राज्यमा चम्कने समयलाई सङ्केत गरेको छ। हाम्रो पहिलेको बुझाइ यी दुवै पदले एउटै कुरा अर्थात्‌ प्रचारकार्यलाई सङ्केत गर्छ भन्ने थियो।

^ अनु. 18 अनुच्छेद १८: यहोवासित नजिक हुनुहोस् (अङ्ग्रेजी) किताबको पृष्ठ २८८-२८९ हेर्नुहोस्।