सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको सन्तानमध्ये एक हुने

परमेश्‍वरको सन्तानमध्ये एक हुने

परमेश्‍वरको सन्तानमध्ये एक हुने

कोरियन युद्धको झन्डै ३० वर्षपछि कोरियन ब्रोडकास्टिङ सिस्टमले युद्धको कारण बिछोडिएका परिवारका सदस्यहरू भेट्टाउन मदत दिने हेतुले एउटा कार्यक्रम सञ्चालन गऱ्‍यो। परिणाम? एघार हजारभन्दा बढी मानिसको आफ्ना प्रियजनहरूसित पुनर्मिलन भयो। तिनीहरूले खुसीको आँसु झारे, रोए र एकअर्कालाई अंगालो हाले। कोरिया टाइम्स-ले यस्तो रिपोर्ट दियो: “कोरियालीहरूले स्वस्फूर्त रूपमा एकैसाथ यतिबिघ्न खुसीको आँसु पहिला कहिल्यै झारेका थिएनन्‌।”

ब्राजिलका सेजारलाई उनका बुबाले ऋण चुक्‍ता गर्न नसकेपछि त्यस बापत सानै छँदा दिएर पठाए। झन्डै दस वर्षपछि जन्म दिने आफ्नी आमालाई भेट्‌न पाउँदा तिनी यति खुसी भए कि तिनी धनी धर्म-आमाबाबुलाई छोडेर आफ्नी आमासित बस्न थाले।

बिछोडिएका परिवारका सदस्यहरू फेरि भेट्‌न पाउँदा कत्ति रमाउँछन्‌! मानिसजाति परमेश्‍वरको परिवारबाट कसरी साह्रै दुःखलाग्दो गरी बिछोडियो भनी बाइबल बताउँछ। अहिले कसरी तिनीहरूको आनन्ददायी पुनर्मिलन भइरहेको छ भनेर पनि बाइबल बताउँछ। यो कसरी भयो? अनि तपाईं यस आनन्दमा कसरी सहभागी हुन सक्नुहुन्छ?

परमेश्‍वरको परिवार बिछोडियो कसरी

सृष्टिकर्ता यहोवा परमेश्‍वरबारे भजनरचयिताले यसो भने: “जीवनको मूल तपाईंसँग छ।” (भजन ३६:९) यहोवा विश्‍वासी र बुद्धिमान्‌ प्राणीहरूले बनिएको विशाल परिवारका पिता हुनुहुन्छ। यो परिवार उहाँका आत्मिक पुत्रहरू अर्थात्‌ स्वर्गदूतहरूले बनेको स्वर्गीय भाग र उहाँका पार्थिव छोरोछोरी हुने मानिसहरूले बनेको पार्थिव भाग मिलेर बनेको छ।

अघिल्लो लेखमा बताइएझैं, परमेश्‍वरको पहिलो मानव पुत्र आदमले विद्रोह गरेपछि मानवजाति दुःखलाग्दो गरी आफ्ना मायालु पिता तथा सृष्टिकर्ताबाट बिछोडियो। (लूका ३:३८) आदमको विद्रोहको परिणामस्वरूप ऊ आफै र उसका भावी सन्तान परमेश्‍वरको सन्तान हुने सुअवसरबाट वञ्चित भए। परिणाम कस्तो भयो भनेर परमेश्‍वरले आफ्ना सेवक मोशा मार्फत यसरी बताउनुभयो: “तिनीहरूले [“आफैसँग,” NW] भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू [परमेश्‍वरको] सन्तान हुनसक्‍तैनन्‌।” “खोट” अर्थात्‌ पापी झुकावले मानिसजातिलाई हर कुरामा पवित्र र सिद्ध परमेश्‍वरबाट अलग बनायो। (व्यवस्था ३२:४, ५; यशैया ६:३) त्यसपछि मानिसजाति एक अर्थमा निस्सहाय, पिताविहीन भयो।—एफिसी २:१२.

मानिसजाति कुन हदसम्म परमेश्‍वरबाट एक्लिएको छ भनेर जोड दिन परमेश्‍वरको परिवार बाहिरकाहरूलाई बाइबलले “शत्रु” भन्छ। (रोमी ५:८, १०) परमेश्‍वरबाट बिछोडिएका मानिसजातिले शैतानको कठोर शासनको अधीनमा रहेर दुःख अनि जन्मजात पाएको पाप र असिद्धताका डरलाग्दा असरहरू भोग्नुपरेको छ। (रोमी ५:१२; १ यूहन्‍ना ५:१९) के पापी मानिसहरू परमेश्‍वरको परिवारका भाग हुन सक्छन्‌? के असिद्ध प्राणीहरू साँचो अर्थमा परमेश्‍वरका छोराछोरी हुन सक्छन्‌, मतलब पाप गर्नअघि आदम र हव्वा जस्तो थिए त्यस्तै हुन सक्छन्‌?

बिछोडिएका सन्तान जम्मा गर्ने

यहोवालाई प्रेम गर्ने असिद्ध मानिसहरूका फाइदाको लागि उहाँले प्रबन्धहरू गरिदिनुभयो। (१ कोरिन्थी २:९) प्रेरित पावल बताउँछन्‌: ‘परमेश्‍वर ख्रीष्टमा हुनुभयो र संसारलाई आफूसित मिलापमा ल्याउनुभयो अनि तिनीहरूका अपराधको हिसाब लिनुभएन।’ (२ कोरिन्थी ५:१९) अघिल्लो लेखमा बताइएझैं यहोवा परमेश्‍वरले येशू ख्रीष्टलाई हाम्रो पापको छुटकाराको रूपमा दिनुभयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) कृतज्ञ हुँदै प्रेरित यूहन्‍नाले यस्तो लेखे: “पिताले हामीलाई कस्तो किसिमको प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरको सन्तान भनी कहलिनुपर्छ।” (१ यूहन्‍ना ३:१) यसरी, आज्ञाकारी मानिसजातिका लागि फेरि परमेश्‍वरको परिवारको भाग हुने ढोका खोलियो।

परमेश्‍वरको परिवारको भाग हुन जम्मा गराइएका सबै मानिसहरू नै मायालु पिताको छत्रछायाँमुनि अद्‌भुत एकतामा रहनेछन्‌। तर तिनीहरू दुई समूहको रूपमा भेला गराइनेछन्‌ भनेर बाइबलले बताएको कुरालाई याद गर्नुहोस्‌। हामी यस्तो लेखिएको पाउँछौं: “[परमेश्‍वरको] अभिप्रायअनुसार, जो उहाँले ख्रीष्टमा ठहराउनुभयो, चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नालाई समयको पूर्णताको प्रबन्धको निम्ति।” (एफिसी १:९, १०) परमेश्‍वरले किन त्यसो गर्नुहुन्छ?

यहोवाले आफ्ना सन्तानलाई जुन तरिकाले दुई समूहमा बाँड्‌नुभयो, त्यसले वास्तवमा उहाँको परिवारलाई एकतामा बाँध्न मदत पुऱ्‍याउँछ। यसको कारण बुझ्नु गाह्रो छैन। परमेश्‍वरको परिवार अत्यन्तै ठूलो भएकोले यसलाई एउटा राष्ट्रसित तुलना गर्न सकिन्छ। कुनै पनि राष्ट्रमा केही व्यक्‍तिलाई मात्र सरकार चलाउन छानिन्छ जसले गर्दा अरू बाँकीले चाहिं शान्ति अनि सुव्यवस्थाको आनन्द उठाउन सक्छन्‌। हो, कुनै पनि मानव सरकारले साँचो शान्ति ल्याउन सकेको छैन। तर परमेश्‍वरले आफ्नो परिवारको लागि एउटा सिद्ध सरकार स्थापित गर्नुहुन्छ। पहिलो समूह अर्थात्‌ ‘स्वर्गका कुरा परमेश्‍वरका ती सन्तान हुन्‌ जसलाई उहाँले स्वर्गीय सरकार अथवा राज्य चलाउन छान्‍नुभएको छ। त्यहाँबाट “तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।”—प्रकाश ५:१०.

पृथ्वीमा परमेश्‍वरका सन्तान

‘पृथ्वीका कुरा’ अर्थात्‌ पृथ्वीभरिका लाखौं मानिसहरू अन्ततः यहोवाको पार्थिव सन्तान बन्‍न सकून्‌ भनी उहाँले तिनीहरूलाई पनि जम्मा गर्नुहुँदैछ। दयालु पिताको हैसियतमा उहाँले तिनीहरूलाई प्रेमका मार्गहरू सिकाउनुहुन्छ जसले गर्दा तिनीहरू विभिन्‍न राष्ट्रका भए तापनि एकतामा बाँधिन सक्छन्‌। हिंस्रक, स्वार्थी, अनैतिक र परमेश्‍वरको आज्ञा पालन नगर्ने व्यक्‍तिहरूलाई समेत “परमेश्‍वरसँग मिलाप” गर्न बोलाइँदैछ।—२ कोरिन्थी ५:२०.

परमेश्‍वरको छोराछोरीको हैसियतमा उहाँसँग मिलाप गर्न दिइएको निमन्त्रणा नस्वीकार्नेहरूबारे के भन्‍न सकिन्छ नि? आफ्नो परिवारमा शान्ति र एकता निश्‍चित गर्न यहोवाले यस्ता व्यक्‍तिहरूको सामना गर्न ठोस कदम चाल्नुहुनेछ। “भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिन” आउनेछ। (२ पत्रुस ३:७) विद्रोहीहरूले भरिएको पृथ्वीलाई परमेश्‍वरले सफा गर्नुहुनेछ। उहाँको आज्ञा पालन गर्नेहरूका लागि कस्तो राहत हुनेछ!—भजन ३७:१०, ११.

न्यायको दिनपछि शान्तिमय हजार वर्षीय समय आउनेछ। त्यस दौडान, परमेश्‍वरको प्रेम स्वीकार्नेहरूलाई आदमले गुमाएको सिद्ध जीवनमा बिस्तारै पुनर्स्थापित गरिनेछ। मरेकाहरूको समेत पुनरुत्थान हुनेछ। (यूहन्‍ना ५:२८, २९; प्रकाश २०:६; २१:३, ४) यसरी परमेश्‍वरले आफ्नो यो प्रतिज्ञा पूरा गर्नुहुन्छ: “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा [मानव] सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:२१.

स्वर्गमा हुनुहुने पितासित एकतामा बाँधिने

यस लेखको सुरुमा बताइएका सेजार र हजारौं कोरियालीहरूले आफ्ना परिवारसित पुनर्मिलन गर्न आफै अग्रसर हुनुपऱ्‍यो। कोरियालीहरू ब्रोडकास्टिङ सिस्टमद्वारा सञ्चालित कार्यक्रममा सहभागी हुनुपऱ्‍यो। सेजारले चाहिं आफ्ना धर्म-आमाबाबुलाई छाडे। त्यस्तैगरि, तपाईंले पनि स्वर्गमा हुनुहुने पिता यहोवा परमेश्‍वरसित फेरि मिलाप गर्न र उहाँको परिवारको भाग हुन निर्णायक कदम चाल्नुपर्ने हुन सक्छ। तपाईंले के गर्नुपर्छ?

आफ्ना पिता यहोवा नजिक आउन तपाईंले उहाँको वचन बाइबल अध्ययन गर्नै पर्छ। यसो गर्दा उहाँ र उहाँको प्रतिज्ञाप्रतिको तपाईंको विश्‍वास बलियो हुन सक्छ। साथै, परमेश्‍वरले तपाईंलाई जे गर्नू भन्‍नुभएको छ त्यो तपाईंकै फाइदाको लागि हो भनेर भरोसा गर्न सिक्नुहुनेछ। तपाईंले परमेश्‍वरबाट आएको सुधार र अनुशासनलाई पनि स्वीकार्नुपर्ने हुन्छ किनभने बाइबल मसीहीहरूलाई यसो भन्छ: “परमेश्‍वरले तिमीहरूसँग छोरा-छोरीहरूलाईझैं व्यवहार गर्नुहुन्छ। किनभने बाबुले अनुशासन नगरेको कुनचाहिं छोरा हुन्छ र?”—हिब्रू १२:७.

यस्ता कदमहरू चाल्दा तपाईंको जीवनको पूरै रूप फेरिनेछ। बाइबल बताउँछ: “आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२३, २४) त्यसपछि प्रेरित पत्रुसको यो सल्लाह पालन गर्नुहोस्‌: “आज्ञा पालन गर्ने बालकहरूझैं तिमीले आफ्नो आचरणलाई आफ्नो अजान अवस्थाको समयमा मन पराएका इच्छाअनुसार नढाल।”—१ पत्रु. १:१४, द न्यु इंग्लिश बाइबल।

आफ्नो असली परिवार भेट्टाउने

आफ्नी आमालाई भेट्टाएपछि आफ्ना दाइ र दिदी पनि रहेछन्‌ भनी थाह पाउँदा सेजार अत्यन्तै खुसी भए। त्यसैगरि, स्वर्गमा हुनुहुने परमेश्‍वर पिताको नजिक हुँदा तपाईंले पनि मसीही मण्डलीमा थुप्रै भाइबहिनी पाउनुहुनेछ। तिनीहरूसँग संगत गर्दा रगतको नाता जोडिएको आफ्नै परिवारका सदस्यहरूभन्दा पनि तिनीहरू झन्‌ घनिष्ठ भएको तपाईं महसुस गर्नुहुन्छ होला।—प्रेरित २८:१४, १५; हिब्रू १०:२४, २५.

आफ्ना असली पिता र असली भाइबहिनीसित एकताबद्ध हुन तपाईंलाई हार्दिक निमन्त्रणा छ। तपाईंले पनि त्यस्तै ठूलो आनन्द महसुस गर्न सक्नुहुनेछ जस्तो सेजार र हजारौं कोरियालीहरूले आफ्ना परिवारसित पुनर्मिलन हुँदा महसुस गरे। (w08 3/1)

[पृष्ठ ७-मा भएको चित्र]

सेजार १९ वर्षको हुँदा आफ्नी आमासित