सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इमानदार ख्रीष्टियन र जिम्मेवार नागरिक दुवै कसरी हुन सक्छौं?

इमानदार ख्रीष्टियन र जिम्मेवार नागरिक दुवै कसरी हुन सक्छौं?

इमानदार ख्रीष्टियन र जिम्मेवार नागरिक दुवै कसरी हुन सक्छौं?

येशूको प्रचारकार्यका मुख्य दुई पक्ष के हुन्‌? पहिलो हो, येशू मानिसहरूको हृदय परिवर्तन गर्न चाहनुहुन्थ्यो; राजनैतिक सङ्‌गठन होइन। उदाहरणको लागि, येशूले डाँडाको उपदेशमा कुन कुरालाई जोड दिनुभयो, याद गर्नुहोस्‌। नुन र ज्योतिजस्तै हुनुपर्ने आवश्‍यकताबारे बताउनुअघि उहाँले “परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस” गर्नेहरू साँच्चै आनन्दित हुन्छन्‌ भनेर श्रोतालाई बताउनुभयो। उहाँले अझै यसो भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌ . . . जसको मन चोखो छ . . . जसले शान्ति कायम गर्छन्‌।” (मत्ती ५:१-११) असल तथा खराबसम्बन्धी परमेश्‍वरको स्तरअनुसार आफ्नो विचार तथा भावनालाई ढाल्नुपर्ने आवश्‍यकतालाई र सारा मनले परमेश्‍वरको सेवा गर्नुपर्ने आवश्‍यकतालाई बुझ्न येशूले चेलाहरूलाई मदत गर्नुभयो।

दोस्रो हो, मानिसहरू दुःखकष्टले छटपटाएको देख्दा तिनीहरूप्रति उहाँको दया जाग्यो र उहाँ तिनीहरूको पीडा कम गर्न अग्रसर हुनुभयो। तर दुःखकष्ट पूर्णतया नामेट पार्ने लक्ष्य लिएर हिंड्‌नुभएन। (मत्ती २०:३०-३४) उहाँले रोगीहरूलाई त निको पार्नुभयो तर रोगलाई निमिट्यान्‍न पार्नुभएन। (लूका ६:१७-१९) थिचोमिचोमा परेकाहरूलाई राहत दिनुभयो तर अन्याय-अत्याचारलाई निर्मूल पार्नुभएन। भोकाहरूलाई खुवाउनुभयो तर भोकमरीलाई हटाउनुभएन।—मर्कूस ६:४१-४४.

मन परिवर्तन गर्नु र दुःखकष्ट कम गर्नु

येशूले राजनैतिक सरकार परिवर्तन गर्नुमा वा दुःखकष्ट हटाउनुमा होइन; मानिसको मन परिवर्तन गर्नुमा र दुःखकष्ट कम गर्नुमा ध्यान केन्द्रित गर्नुभयो। किन? परमेश्‍वरले भविष्यमा आफ्नो राज्यमार्फत सम्पूर्ण मानव सरकार र दुःखकष्टको मूल जड हटाउनुहुनेछ भनेर येशूलाई थाह थियो। (लूका ४:४३; ८:१) त्यसकारण एकपटक चेलाहरूले येशूलाई बिरामीहरू निको पार्ने काममा धेरै समय दिन आग्रह गर्दा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “हामी अन्त कतै नजिकैको सानो सहरमा जाऔं, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ, किनकि म यसैको लागि आएको हुँ।” (मर्कूस १:३२-३८) येशूले थुप्रैको शारीरिक दुःखकष्ट त कम पारिदिनुभयो तर उहाँले परमेश्‍वरको वचन प्रचार गर्ने र सिकाउने कामलाई प्राथमिकता दिनुभयो।

आज यहोवाका साक्षीहरू पनि प्रचार गर्ने सम्बन्धमा येशूको अनुकरण गर्ने कोसिस गर्छन्‌। तिनीहरू खाँचोमा परेकाहरूलाई व्यावहारिक मदत दिएर दुःखकष्ट कम गर्न उत्प्रेरित भएका छन्‌। तर संसारको अन्याय-अत्याचार हटाउने कोसिस भने गर्दैनन्‌। परमेश्‍वरको राज्यले दुःखकष्टका सबै कारणलाई पूर्णतया हटाउनेछ भनी तिनीहरू विश्‍वास गर्छन्‌। (मत्ती ६:१०) येशूजस्तै तिनीहरू पनि राजनैतिक सरकार होइन बरु मानिसको मन परिवर्तन गर्ने कोसिस गर्छन्‌। यो तरिका व्यावहारिक छ किनभने मानिसको मुख्य समस्या राजनैतिक होइन; नैतिकतासम्बन्धी हो।

जिम्मेवार नागरिक

त्यति मात्र होइन, असल नागरिक हुनु ख्रीष्टियन जिम्मेवारी हो भनेर पनि यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। त्यसैकारण तिनीहरू सरकारी अख्तियारको आदर गर्छन्‌। तिनीहरू आफ्ना प्रकाशनद्वारा तथा साक्षीकार्यद्वारा छरछिमेकीलाई नियमपालक नागरिक हुन प्रोत्साहन दिन्छन्‌। तर सरकारको आदेश परमेश्‍वरको आदेशसित बाझिन्छ भने साक्षीहरू त्यो पालन गर्दैनन्‌। तिनीहरू “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा” मान्छन्‌।—प्रेषित ५:२९; रोमी १३:१-७.

यहोवाका साक्षीहरू आ-आफ्नो टोलछिमेकमा सबैलाई बाइबलको निश्‍शुल्क शैक्षिक कार्यक्रममा भाग लिन निम्तो दिन्छन्‌। यस्तो शिक्षाले गर्दा लाखौंको मन परिवर्तन भएको छ। वर्षेनी लाखौं मानिस धूम्रपान गर्ने, जाँड-रक्सी पिउने, लागू पदार्थको दुरुपयोग गर्ने, जूवातास खेल्ने, स्वछन्द अवैध यौनसम्बन्ध राख्ने जस्ता हानिकारक बानीहरू त्याग्न सफल भएका छन्‌। तिनीहरू नैतिक तवरमा पनि जिम्मेवार नागरिक भएका छन्‌ किनकि तिनीहरूले जीवनमा बाइबल सिद्धान्त लागू गर्न सिकेका छन्‌।

यसका साथै बाइबलको शिक्षाले परिवारका सदस्यलाई आपसमा अर्थात्‌ पतिपत्नीबीच, आमाबाबु र छोराछोरीबीच अनि दाजुभाइ तथा दिदीबहिनीबीच अझै आदर गर्न र खुलस्त कुराकानी गर्न मदत गर्छ। आपसी आदर र खुलस्त कुराकानीले नै पारिवारिक सम्बन्ध बलियो बनाउँछ। अनि परिवार बलियो भयो भने समाज बलियो हुन्छ।

यी लेखमा छलफल गरिएका बुँदा पुनरावलोकन गरेपछि तपाईंलाई कस्तो लाग्यो: के साँचो ख्रीष्टियनहरू जिम्मेवार नागरिक हुन्‌? अवश्‍य हुन्‌। कसरी? येशूले नुनजस्तै हुनू र संसारमा ज्योतिजस्तै हुनू भनेर दिएको आदेश पालन गरेर।

ख्रीष्टले दिएका यी व्यावहारिक निर्देशन पालन गर्न सक्दो गर्नेहरूले र तिनीहरूको परिवारले प्रशस्त लाभ उठाउनेछन्‌। त्यतिमात्र होइन, तिनीहरूको टोलछिमेकमा समेत फाइदा पुग्छ। तपाईं नजिकै बस्ने यहोवाका साक्षीहरू तपाईंलाई तपाईंको टोलमा सञ्चालन भइरहेको बाइबलआधारित शैक्षिक कार्यक्रमबारे थप जानकारी दिन चाहन्छन्‌। a (w12-E 05/01)

[फुटनोट]

a चाहनुहुन्छ भने तपाईं www.ps8318.com/contact वेब साइटमार्फत यहोवाका साक्षीहरूसित सम्पर्क राख्न सक्नुहुन्छ।

[पृष्ठ १८-मा भएको ठूलो अक्षरको क्याप्सन]

येशू मानिसहरूको हृदय परिवर्तन गर्न चाहनुहुन्थ्यो; राजनैतिक सङ्‌गठन होइन

[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]

असल नागरिक हुनु ख्रीष्टियन जिम्मेवारी हो भनेर पनि यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌