सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भगवान्‌ले दिएका सजाय अत्याचारपूर्ण थिए?

भगवान्‌ले दिएका सजाय अत्याचारपूर्ण थिए?

यसको जवाफको लागि भगवान्‌ले दिएका सजायहरूमध्ये दुइटा बाइबल विवरण छोटकरीमा विचार गरौं—नूहको समयमा भएको जलप्रलय अनि कनानीहरूको सर्वनाश।

नूहको समयमा भएको जलप्रलय

कोही-कोही के भन्छन्‌? “जलप्रलय ल्याउँदा भगवान्‌ले नूहको परिवारलाई मात्र बचाएर बाँकी सबैलाई मारे। कस्तो निर्दयी भगवान्‌!”

बाइबल के भन्छ? भगवान्‌ले यसो भन्‍नुभयो: “दुष्टको मृत्यु म चाहन्‍नँ बरु दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस्‌ भन्‍ने म चाहन्छु।” (इजकिएल ३३:११) जलप्रलयमा थुप्रै दुष्ट मानिस मरे तर तिनीहरू नाश भएको भगवान्‌ चाहनुहुन्‍नथ्यो। त्यसोभए उहाँले जलप्रलय किन ल्याउनुभयो?

भगवान्‌ले “भक्‍तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना” बसाल्दै हुनुहुन्थ्यो भनेर बाइबल बताउँछ। (२ पत्रुस २:५, ६) उहाँले बसाल्नुभएको नमुनाबाट के प्रस्ट हुन्छ?

एउटा, हुन त नाश गर्नुपर्दा भगवान्‌को मन दुख्छ तर त्यसो भन्दैमा निर्दयी मानिसहरूको खराब कामलाई उहाँ बेवास्ता गर्नुहुन्‍न; तिनीहरूलाई दोषी ठहराउनुहुन्छ। भविष्यमा उहाँले सबै अन्याय र दुःखकष्ट अन्त गर्नुहुनेछ।

अर्को, सजाय दिनुअघि उहाँ मानिसहरूलाई चेतावनी दिनुहुन्छ। नूहले परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गरे तर अधिकांशले उनको कुरा सुनेनन्‌। “जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्‌” भनी बाइबल बताउँछ।—मत्ती २४:३९.

आफूले बसालेको नमुनाअनुसार भगवान्‌ कदम चाल्नुहुन्छ? चाल्नुहुन्छ। उदाहरणको लागि, इस्राएलीहरूलाई दिइएको चेतावनीलाई विचार गरौं। वरपरका राष्ट्रहरूले जस्तै इस्राएलीहरूले खराब काम गरेको खण्डमा भगवान्‌ले तिनीहरूको देशमा आक्रमण हुन दिनुहुने थियो; तिनीहरूको सहर यरूशलेम नष्ट हुने थियो अनि तिनीहरू निर्वासनमा पर्ने थिए। इस्राएलीहरूले खराब काम गरे, यहाँसम्म कि तिनीहरूले बच्चाहरूको बलिसमेत चढाए। के यहोवाले कुनै पनि कदम चाल्नुभएन? चाल्नुभयो। तर पहिला भविष्यवक्‍ताहरूमार्फत चेतावनी दिनुभयो। ढिलो हुनुअघि नै खराब मार्ग त्याग्न उहाँले इस्राएलीहरूलाई पटक-पटक चेतावनी दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।”—आमोस ३:७.

तपाईंको लागि कस्तो अर्थ राख्छ? यहोवाले दुष्टहरूलाई सजाय दिएको कुराबाट भविष्यमा उहाँले निर्दयी मानिसहरूलाई पक्कै सजाय दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौं। बाइबल यसो भन्छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:९-११) दुःखकष्ट हटाउन निर्दयी मानिसहरूलाई सजाय दिने कुरा तपाईंलाई कस्तो लाग्छ? अत्याचारपूर्ण या दयालु?

कनानीहरूको सर्वनाश

कोही-कोही के भन्छन्‌? “कनानीहरूको सर्वनाश हाम्रो समयमा भएको नरसंहारजस्तै घोर युद्ध अपराध हो।”

बाइबल के भन्छ? ‘परमेश्‍वरका सबै काम न्यायसंगत छन्‌। उहाँ विश्‍वासयोग्य र न्यायी हुनुहुन्छ।’ (व्यवस्था ३२:४) भगवान्‌ले गर्ने न्याय मानव युद्धजस्तो होइन। किन? किनभने मानिसको मनमा के छ, उहाँ थाह पाउन सक्नुहुन्छ।

उदाहरणको लागि, भगवान्‌ले पुरातन सहरहरू सदोम र गमोरा विनाश गर्ने निर्णय गर्नुहुँदा के भयो, विचार गरौं। त्यस निर्णयले गर्दा अब्राहाम भन्‍ने विश्‍वासी मानिस दुःखी भए। न्यायी भगवान्‌ले “दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश” गर्ने कुरा तिनी सोच्नै सक्दैनथे। तिनले भगवान्‌लाई एउटै विषयमा पटक-पटक सोधिरहँदा पनि उहाँले झर्को मान्‍नुभएन। उहाँले सदोममा १० जना मात्र धर्मी मानिस रहेछन्‌ भने पनि तिनीहरूको खातिर उक्‍त सहर नाश नगर्ने आश्‍वासन दिनुभयो। (उत्पत्ति १८:२०-३३) स्पष्ट छ, उहाँले ती मानिसहरूको मन जाँच्नुभयो र तिनीहरू कत्तिको भ्रष्ट भएका रहेछन्‌ देख्नुभयो।—१ इतिहास २८:९.

भगवान्‌ले कनानीहरूको पनि खराब काम देख्नुभयो। त्यसकारण उहाँले तिनीहरूको विनाश गर्ने आदेश दिनु जायज थियो। कनानीहरू अत्याचारपूर्ण कामको लागि कुख्यात थिए। तिनीहरू आफ्ना बच्चाहरूलाई जिउँदै आगोमा होम गर्थे। a (२ राजा १६:३) यहोवाले इस्राएलीहरूलाई सम्पूर्ण देश अधिकार गर्ने आज्ञा दिनुभएको छ भनेर कनानीहरूलाई थाह थियो। तर केही कनानी भने त्यहीं बसे र इस्राएलीहरूविरूद्ध युद्ध गरे। यसरी तिनीहरूले इस्राएलीहरूविरुद्ध मात्र होइन तर आफ्ना जनहरूको सधैं साथ दिनुहुने यहोवाविरूद्ध खडा हुने छनौट गरे।

परमेश्‍वरको उच्च स्तर स्वीकार्ने अनि खराब काम त्याग्ने केही कनानीलाई यहोवाले दया देखाउनुभयो। उदाहरणका लागि, कनानी वेश्‍या राहाब र तिनको परिवारलाई उहाँले बचाउनुभयो। साथै यहोवाले कनानी सहर गिबोनका बासिन्दाहरू र तिनीहरूको बालबच्चालाई जोगाउनुभयो किनभने तिनीहरूले उहाँसित दयाको भीख मागे।—यहोशू ६:२५; ९:३, २४-२६.

तपाईंको लागि कस्तो अर्थ राख्छ? कनानीहरूले भोगेको सजायबाट एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। “भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिन” झन्‌झन्‌ नजिकिंदै छ। (२ पत्रुस ३:७) यहोवाले आफ्नो निष्पक्ष शासनको विरोध गर्नेहरूलाई हटाएर मानव दुःखकष्ट अन्त गर्नुहुनेछ। यहोवालाई प्रेम गर्छौं भने त्यतिबेला हामी ढुक्कसित बस्न सक्नेछौं।

कनानीहरू अत्याचारपूर्ण कामको लागि कुख्यात थिए। तिनीहरूले यहोवा र उहाँका मानिसहरूविरूद्ध खडा हुने छनौट गरे

आमाबाबुको छनौटले छोराछोरीलाई असर गर्छ भनेर यहोवा हामीलाई मायालु ढङ्‌गमा सम्झाउनुहुन्छ। बाइबल यसो भन्छ: “जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो।” (व्यवस्था ३०:१९, २०) निर्दयी भगवान्‌ले यसरी सम्झाउँछन्‌ र? मानिसहरूलाई प्रेम गर्ने र उनीहरूले सही छनौट गरेको चाहने भगवान्‌ले पो यसरी सम्झाउँछन्‌ नि, होइन र? (w13-E 05/01)

a कनानीहरू बच्चाहरूको बलि चढाउँथे भन्‍ने प्रमाण पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका छन्‌।