सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?

ईश्वर तपाईंलाई सान्त्वना दिनुहुन्छ

ईश्वर तपाईंलाई सान्त्वना दिनुहुन्छ

‘निराश भएकाहरूलाई सान्त्वना दिनुहुने ईश्वरले हामीलाई सान्त्वना दिनुभयो।’—२ कोरिन्थी ७:६.

‘ईश्वरको छोराले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’—गलाती २:२०

कोही-कोही किन शङ्का गर्छन्‌? आफूलाई सान्त्वनाको निकै खाँचो पर्दा पनि केही व्यक्तिहरू ईश्वरलाई मदत माग्दैनन्‌। तिनीहरूको विचारमा आफ्ना समस्याहरूसित लड्न ईश्वरलाई मदत माग्नु भनेको स्वार्थी हुनु हो। राकेल नाम गरेकी एक महिला यसो भन्छिन्‌: “संसारमा गम्भीर समस्या सामना गरिरहेका थुप्रै मानिस छन्‌। तिनीहरूको समस्याको दाँजोमा मलाई आफ्नो समस्या साह्रै सानो लाग्छ, त्यसैले ईश्वरलाई मदत माग्न पनि अप्ठेरो लाग्छ।”

ईश्वरको वचन के भन्छ? मानिसहरूलाई मदत गर्न र सान्त्वना दिन ईश्वरले एउटा महत्त्वपूर्ण कदम चालिसक्नुभयो। सबै मानिस जन्मजात पापी छन्‌। मतलब, कोही पनि मानिस ईश्वरको स्तरअनुरूप शतप्रतिशत चल्न सक्दैन। तर ईश्वरले ‘हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको प्रायश्‍चितको बलिदानको रूपमा उहाँले आफ्नो छोरा येशू ख्रीष्टलाई पठाउनुभयो।’ (१ यूहन्ना ४:१०) ईश्वरले येशूको बलिदानको प्रबन्ध गर्नुभएको हुँदा हामीले पापको क्षमा, सफा अन्तस्करण र शान्त नयाँ संसारमा अनन्त जीवनको आशा पाउन सकेका छौं। * यो बलिदान एकैचोटि सम्पूर्ण मानिसजातिको निम्ति चढाइएको थियो। तर यो बलिदानले ईश्वर तपाईंमा व्यक्तिगत चासो लिनुहुन्छ भन्ने कुराको प्रमाण पनि दिन्छ।

प्रेषित पावलको उदाहरण विचार गरौं। येशू ख्रीष्टको बलिदानले तिनको मनमा गहिरो छाप पारेको हुँदा तिनले यसो लेखे: ‘म ईश्वरको छोरामाथि विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’ (गलाती २:२०) वास्तवमा पावल ख्रीष्टियन बन्नु अघि नै येशू ख्रीष्टको मृत्यु भइसकेको थियो। तैपनि येशूको बलिदान ईश्वरले तिनलाई दिनुभएको व्यक्तिगत उपहार हो भनी पावलले सम्झे।

येशू ख्रीष्टको बलिदान ईश्वरले तपाईंलाई पनि दिनुभएको व्यक्तिगत उपहार हो। यो उपहारले ईश्वर तपाईंलाई अमूल्य ठान्नुहुन्छ भनी देखाउँछ। यसले तपाईंलाई “चिरस्थायी सान्त्वना र उज्जवल आशा” दिन्छ र “हरेक असल काम अनि वचनका लागि दृढ” बनाउँछ।—२ थिस्सलोनिकी २:१६, १७.

तर येशू ख्रीष्टले आफ्नो जीवन बलिदानको रूपमा झन्डै २,००० वर्षअघि चढाउनुभएको थियो। त्यसोभए ईश्वर आज पनि तपाईंसित नजिकिन खोज्दै हुनुहुन्छ भन्ने कुराको केही प्रमाण छ त?

^ अनु. 5 येशूको बलिदानबारे अझ धेरै बुझ्नको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५ हेर्नुहोस्।