सीधै सामग्रीमा जाने

बाइबल हामीसम्म कसरी आइपुग्यो?

बाइबल हामीसम्म कसरी आइपुग्यो?

बाइबल हामीसम्म कसरी आइपुग्यो?

बाइबलको सन्देशमा फेरबदल नभईकन हाम्रो समयसम्म जोगिनु एउटा चमत्कार नै हो। बाइबल लेख्ने काम १ हजार ९ सय वर्षभन्दा अघि सिद्धियो। यो लामो समयसम्म नटिक्ने सामग्रीहरूमा लेखिएको थियो। जस्तै: पपाइरस भन्‍ने एक किसिमको बोटबाट बनाइएको कागजमा र जनावरको छालाबाट बनाइएको चर्मपत्रमा। साथै बाइबल सुरुमा जुन भाषाहरूमा लेखिएको थियो, ती भाषाहरू अहिले थोरै मानिसले मात्र बोल्छन्‌। त्यति मात्र होइन, सम्राट्‌हरूदेखि लिएर धर्मगुरुहरूले बाइबललाई नामेट पार्न सक्दो प्रयास गरे।

यो उल्लेखनीय किताब कसरी यति लामो समयसम्म जोगिएर मानव इतिहासकै उत्कृष्ट किताब बन्यो? यो जोगिनुको दुइटा कारण विचार गरौँ।

थुप्रै प्रतिलिपि बनाइएकोले सुरक्षित

इस्राएलीहरूले बाइबलका मौलिक लेखोटहरूलाई सुरक्षित राख्ने जिम्मा पाएका थिए। तिनीहरूले सबैभन्दा पुराना पाण्डुलिपिहरू जोगाएर राखे र तिनका थुप्रै प्रतिलिपि बनाए। उदाहरणको लागि, इस्राएलका राजाहरूलाई ‘लेवी पुजारीहरूसित भएको व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सार्नू र आफ्नो लागि एउटा पुस्तक बनाउनू’ भनी आज्ञा दिइएको थियो।—व्यवस्था १७:१८.

धेरैजसो इस्राएलीलाई धर्मशास्त्र पढ्‌न मन पर्थ्यो किनभने तिनीहरूले यो परमेश्‍वरको वचन हो भनेर बुझेका थिए। त्यसैले दक्ष शास्त्रीहरूले यसमा लेखिएका कुरा होसियारीसाथ सार्थे। ती शास्त्रीहरूमध्ये एक एज्रा थिए, जो परमेश्‍वरको डर मान्थे। तिनीबारे बाइबल यसो भन्छ: “तिनी एक प्रतिलिपिक थिए। तिनी इस्राएलका परमेश्‍वर यहोवाले दिनुभएको मोसाको व्यवस्थामा पोख्त थिए।” (एज्रा ७:६) इस्वी संवत्‌ छैठौँ शताब्दीदेखि दसौँ शताब्दीसम्म हिब्रू धर्मशास्त्रको अर्थात्‌ “पुरानो नियम”-को प्रतिलिपि बनाउने मेसोरेटहरूले कुनै गल्ती नहोस्‌ भनेर एक-एक शब्द गन्थे। यसरी होसियारीसाथ प्रतिलिपिहरू बनाइएको हुनाले बाइबलको सन्देशमा फेरबदल हुन पाएन अनि शत्रुहरूले बाइबललाई नामेट पार्न लाख प्रयास गरे पनि यो हाम्रो समयसम्म जोगियो।

उदाहरणको लागि, ईसापूर्व १६८ मा सिरियाका राजा एन्टिओकस चौथोले प्यालेस्टाइनमा भेटेजति हिब्रू धर्मशास्त्रका सबै प्रतिलिपि नष्ट गर्न कोसिस गरे। यहुदीहरूको इतिहाससम्बन्धी एउटा किताबमा यस्तो लेखिएको छ: “तिनीहरूले भेटेजति व्यवस्थाका सबै मुठा च्यातिदिए र जलाइदिए।” यहुदी विश्‍वकोश-अनुसार हिब्रू धर्मशास्त्रका मुठाहरू नष्ट गर्न अख्तियार पाएका अफिसरहरू यो आदेश पालन गर्न जोडतोडले लागे। यो पवित्र शास्त्र आफूसित राख्ने जोकोहीलाई मृत्युदण्ड दिइन्थ्यो। तैपनि प्यालेस्टाइन र अन्य मुलुकहरूमा बस्ने यहुदीहरूसित भएका केही प्रति जोगियो।

ख्रिष्टियन ग्रीक धर्मशास्त्र अर्थात्‌ “नयाँ करार”-का लेखकहरूले परमेश्‍वरको प्रेरणा पाएर चिठीहरू, भविष्यवाणीहरू र ऐतिहासिक विवरणहरू लेखे। तिनीहरूले लेख्न सिध्याएको केही समय नबित्दै ती लेखोटका प्रतिलिपिहरूको सङ्‌ख्या बढ्‌दै गयो। उदाहरणको लागि, युहन्‍नाले आफ्नो नामको सुसमाचारको किताब एफिससमा वा एफिससनजिकै लेखे। तर युहन्‍नाले लेखेको सुसमाचारको किताबको प्रतिलिपिको एउटा अंश सयौँ किलोमिटर टाढा पर्ने मिश्रमा भेटियो। विज्ञहरूको भनाइमा त्यो प्रतिलिपि युहन्‍नाले लेखेको ५० वर्ष पनि नबित्दै तयार पारिएको हुनुपर्छ। यसले के देखायो भने भर्खरै मात्र लेखिएका पवित्र लेखोटहरूका प्रतिलिपिहरू टाढा-टाढा बस्ने ख्रिष्टियनहरूसित थियो।

परमेश्‍वरको वचनको व्यापक वितरणले गर्दा पनि येसु ख्रिष्टको समयको शताब्दियौँ पछिसम्म यो जोगिन सम्भव भयो। उदाहरणको लागि, रोमी सम्राट्‌ डायोक्लिसियनले के गरे, विचार गरौँ। भनिन्छ, तिनले इस्वी संवत्‌ ३०३, फेब्रुअरी २३ मा बिहान झिसमिसेमै आफ्ना सिपाहीहरूले चर्चका ढोकाहरू तोडफोड गरेको र धर्मशास्त्रका प्रतिहरू जलाएको हेरिरहेका थिए। तिनले पवित्र लेखोटहरू नष्ट गरेर ख्रिष्टियन धर्मको नामोनिसान मेटाउन सकिन्छ भन्ठाने। तिनले फेब्रुअरी २४ मा एउटा उर्दी जारी गरेर रोमी सम्राज्यभरि नै भएभरको बाइबल सबैको अगाडि जलाइदिन आदेश दिए। तर बाइबलका केही प्रति जोगिए र प्रतिलिपिहरू बनाइए। वास्तवमा डायोक्लिसियनले बाइबल नामेट पार्न अभियान चलाएको केही समयपछि बनाइएका ग्रीक बाइबलका दुइटा प्रतिलिपिका ठूला अंशहरू आजसम्म अस्तित्वमा छन्‌। एउटा रोममा छ भने अर्को लन्डनको ब्रिटिस लाइब्रेरीमा छ।

हुनत अहिलेसम्म बाइबलका मौलिक पाण्डुलिपिहरू भेट्टिएका छैनन्‌ तर हातैले सारेर तयार पारिएको सिङ्‌गो बाइबलका वा त्यसको केही अंशका हजारौँ प्रतिलिपि हाम्रो समयसम्म जोगिएका छन्‌। तीमध्ये कुनै-कुनै त असाध्यै पुराना छन्‌। के बाइबलका प्रतिलिपिहरू बनाइँदा यसको मौलिक लेखोटमा भएको सन्देशमा फेरबदल भयो? बाइबलविद्‌ डब्ल्यु. एच. ग्रिनले हिब्रू धर्मशास्त्रको विषयमा यस्तो टिप्पणी गरे: “केही पनि फेरबदल नभई अहिले हामीसम्म आइपुगेको योजस्तो अरू कुनै पनि पुरातन किताब छैन भनेर हामी ठोकुवा गर्न सक्छौँ।” बाइबलका पाण्डुलिपिहरूको अध्ययन गर्ने प्रख्यात बाइबलविद्‌ सर फेड्रिक केन्यनले ख्रिष्टियन ग्रीक धर्मशास्त्रबारे यस्तो लेखे: “मौलिक लेखोट लेखिएको मितिसित हालै भेटिएको सबैभन्दा पुरानो पाण्डुलिपि लेखिएको मिति तुलना गर्ने हो भने यी दुईबीच खासै धेरै समय बितेको देखिँदैन। त्यसैले अहिले हामीसित भएको धर्मशास्त्रमा फेरबदल भएको हुनुपर्छ भनेर शङ्‌का गर्नुपर्ने कुनै आधार नै बाँकी रहेन। नयाँ नियमका किताबहरूमा लेखिएका कुराहरू मौलिक लेखोटको जस्तै छयसमा थपघट गरिएको छैन भन्‍न सकिन्छ।” तिनले यसो पनि भने: “बाइबलको एक-एक शब्द सही छ भन्‍नुमा कुनै गल्ती हुनेछैन। . . . संसारको अरू कुनै पुरानो किताबबारे यस्तो दाबी गर्न सकिँदैन।”

बाइबलको अनुवाद

बाइबल मानव इतिहासको उत्कृष्ट किताब हुनुको दोस्रो मुख्य कारण यो धेरै भाषामा उपलब्ध हुनु हो। यो तथ्य यहोवाको उद्देश्‍यसित मेल खान्छ। उहाँको उद्देश्‍य सबै जाति र भाषाका मानिसहरूले उहाँलाई चिनून्‌ र “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना” गरून्‌ भन्‍ने हो।—युहन्‍ना ४:२३, २४; मिका ४:२.

हिब्रू धर्मशास्त्रको पहिलो अनुवाद ग्रीक सेप्टुआजिन्ट हो। यो प्यालेस्टाइनबाहिर बस्ने ग्रीक भाषी यहुदीहरूको लागि तयार पारिएको थियो। यो अनुवाद गर्ने काम येसुले पृथ्वीमा सेवाको काम थाल्नुभन्दा झन्डै दुई शताब्दीअघि सिद्धियो। बाइबल लेख्न सिद्धिएको केही शताब्दीभित्रै ख्रिष्टियन ग्रीक धर्मशास्त्रलगायत पूरै बाइबल विभिन्‍न भाषामा अनुवाद गरियो। तर पछि राजाहरू र धर्मगुरुहरूले बाइबल जनसाधारणको हातहातमा पुऱ्‍याउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुको सट्टा तिनीहरूले त्यसको ठीक विपरीत गरे। धर्मगुरुहरूले परमेश्‍वरको वचन बोलीचालीको भाषाहरूमा अनुवाद गर्न नदिएर जनसाधारणलाई आध्यात्मिक अन्धकारमा राख्न खोजे।

चर्च र सरकारको आदेशविपरीत साहसी पुरुषहरूले बाइबल बोलीचालीको भाषामा अनुवाद गर्न आफ्नो ज्यानको जोखिम मोले। उदाहरणको लागि, अक्सफोर्डमा अध्ययन गरेका बेलायतका विलियम टिन्डेलले इस्वी संवत्‌ १५३० मा हिब्रू धर्मशास्त्रको सुरुका पाँच वटा किताब अनुवाद गरे। घोर विरोधको बाबजुद तिनी हिब्रूबाट सीधै अङ्‌ग्रेजीमा बाइबल अनुवाद गर्ने पहिलो व्यक्‍ति बने। यहोवा नाम प्रयोग गर्ने पहिलो बेलायती अनुवादक तिनी नै थिए। स्पेनी बाइबलविद्‌ कासियोडोरो दे रेइनाले स्पेनी भाषाका सुरु-सुरुका बाइबलहरूमध्ये एउटा अनुवाद गर्ने बेला कट्टर क्याथोलिकहरूले तिनलाई पटक-पटक मार्न खोजे। उनी अनुवादको काम सिद्ध्याउन बेलायत, जर्मनी, फ्रान्स, हल्याण्ड र स्विट्‌जरल्याण्ड गए। *

अहिले पनि बाइबल धेरैभन्दा धेरै भाषामा अनुवाद भइरहेको छ अनि यसको लाखौँ प्रति प्रकाशित गरिँदै छ। यो अहिलेसम्म जोगिएर मानव इतिहासकै उत्कृष्ट किताब बन्‍न सकेको कुराले प्रेषित पत्रुसको यो भनाइ सत्य हो भनेर पुष्टि गर्छ: “घाँस ओइलाउँछ र फूल पनि झर्छ तर यहोवा परमेश्‍वरको वचन भने सदासर्वदै रहिरहन्छ।”—१ पत्रुस १:२४, २५.

[फुटनोट]

^ इस्वी संवत्‌ १५६९ मा रेइनाको बाइबल अनुवाद प्रकाशित भयो अनि इस्वी संवत्‌ १६०२ मा सेप्रेआनो दा भलाराले त्यसको संशोधन गरे।

[पेटी/पृष्ठ १४-मा भएको चित्र]

म कुन बाइबल अनुवाद पढूँ?

धेरै भाषामा विभिन्‍न बाइबल अनुवाद पाइन्छन्‌। कुनै-कुनै अनुवादमा बुझ्न गाह्रो र चलनचल्तीमा नभएको भाषा प्रयोग गरिएको छ। कुनै-कुनै भने सही अनुवाद गर्ने कुरामा ध्यान नदिई आफ्नै तरिकामा अनुवाद गरिएका छन्‌। अरू कतिपय बाइबलचाहिँ शाब्दिक अनुवाद गरिएको छ। भन्‍नुको मतलब, एक-एक शब्द जस्ताको तस्तै अनुवाद गर्ने प्रयास गरिएको छ।

यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अङ्‌ग्रेजी संस्करण परिचय नखुलाइएको अनुवाद समितिले मूल भाषाहरूबाट सीधै अनुवाद गरेको हो। यस संस्करणलाई आधार बनाएर अरू ६० वटा भाषामा बाइबल अनुवाद गरिएको छ। तर यी भाषाहरूमा अनुवाद गर्दा अनुवादकहरूले मूल भाषाको बाइबलमा भएका कुराहरूलाई पनि राम्ररी केलाएका छन्‌। नयाँ संसार अनुवाद-को मुख्य उद्देश्‍य भनेको गलत अर्थ लाग्दैन भने मूल भाषामा चलाइएका वाक्य र शब्दलाई शाब्दिक अनुवाद गर्नु हो। बाइबलकालीन समयका मानिसहरूले मौलिक लेखोटहरू पढ्‌दा जे बुझ्थे, आधुनिक पाठकहरूले पनि त्यही कुरा बुझ्न सक्नेगरि अनुवाद गरिन्छ।

केही भाषाविद्‌ले नयाँ संसार अनुवाद-लगायत अन्य आधुनिक समयका बाइबल अनुवादहरूको जाँच गरे। उनीहरूको उद्देश्‍य गलत अनुवाद गरिएको र आफ्नो विचारधारा घुसाउन खोजिएको उदाहरणहरू पत्ता लगाउनु थियो। यस्तै एक जना भाषाविद्‌ जेसन डेभिड बिडुन हुन्‌। तिनी संयुक्‍त राज्य अमेरिकाको धर्मसम्बन्धी अध्ययनका सह-प्राध्यापक हुन्‌। तिनले “अङ्‌ग्रेजी भाषा बोल्ने मानिसहरूले सबैभन्दा धेरै प्रयोग गर्ने बाइबलहरू”-मध्ये नौ वटाको अध्ययन गरे र इस्वी संवत्‌ २००३ मा २०० पृष्ठ लामो रिपोर्ट प्रकाशित गरे। * तिनले बाइबलका ती विवादित भागहरूको अध्ययन गरे, जहाँ “अनुवादकहरूले आफ्नो विचारधारा घुसाउने सम्भावना सबैभन्दा धेरै थियो।” तिनले ती प्रत्येक भागको अङ्‌ग्रेजी अनुवादलाई त्यसको ग्रीक लेखोटसित तुलना गर्दै गलत अर्थ दिने गरी अनुवाद गरिएको छ कि भनेर जाँचे। तिनी कस्तो निष्कर्षमा पुगे?

कतिपय पाठक र बाइबलविद्‌ले नयाँ संसार अनुवाद-का अनुवादकहरूको धार्मिक पृष्ठभूमिले गर्दा यो फरक भएको हो भन्ठान्छन्‌ भनेर बिडुन बताउँछन्‌। तैपनि तिनी लेख्छन्‌: “यी भिन्‍नताहरूमध्ये धेरैजसो त नयाँ संसार अनुवाद-मा मौलिक अभिव्यक्‍तिहरूलाई होसियारीपूर्वक शाब्दिक अनुवाद गरिएकोले भएको हो।” नयाँ संसार अनुवाद-मा चलाइएको कुनै-कुनै अभिव्यक्‍ति चित्तबुझ्दो नलागे तापनि आफूले “तुलना गरेका अनुवादहरूमध्ये यो सबैभन्दा सही छ” भनेर तिनी बताउँछन्‌। तिनी यसलाई “बिछट्टै राम्रो” अनुवाद भन्छन्‌।

इजरायलका एक हिब्रू शास्त्रविद्‌ डा. बेन्जामिन केदारले पनि नयाँ संसार अनुवाद-बारे यस्तै टिप्पणी गरे। इस्वी संवत्‌ १९८९ मा तिनले यसो भने: “यसका पदहरूलाई सकेसम्म सही तरिकामा अनुवाद गर्न निकै प्रयास गरिएको रहेछ। ... मैले नयाँ संसार अनुवाद-मा मनपरी अनुवाद गरेको त्यस्तो कुनै कुरा भेटिनँ, जुन मौलिक बाइबलमा छैन।”

आफैलाई सोध्नुहोस्‌: ‘म किन बाइबल पढ्‌न चाहन्छु? के म सही अनुवाद नभए पनि पढ्‌न सजिलो बाइबल रोज्छु? वा मौलिक लेखोटमा भएका प्रेरित विवरणहरू सही तरिकामा अनुवाद गरिएको बाइबल रोज्छु?’ (२ पत्रुस १:२०, २१) तपाईँ जुन उद्देश्‍यले बाइबल पढ्‌न चाहनुहुन्छ, त्यसैअनुसारको बाइबल अनुवाद तपाईँले रोज्नुपर्ने हुन्छ।

[फुटनोट]

^ नयाँ संसार अनुवाद-बाहेक अरू अनुवादहरू यी हुन्‌: दी एमप्लीफाइड्‌ न्यु टेस्टामेन्ट, द लिभिङ बाइबल, द न्यु अमेरिकन बाइबल विथ रिभाइज्ड न्यु टेस्टामेन्ट, न्यु अमेरिकन स्टाण्डर्ड बाइबल, द होलि बाइबल—न्यु इन्टरनेसनल भर्सन, द न्यु रिभाइज्ड स्टाण्डर्ड भर्सन, द बाइबल इन टुडेज इङ्‌ग्लिस भर्सनकिङ जेम्स भर्सन।

[चित्र]

“पवित्र बाइबल—नयाँ संसार अनुवाद” धेरै भाषामा उपलब्ध छ

[पृष्ठ १२, १३-मा भएको चित्र]

मेसोरेटहरूले तयार पारेका पाण्डुलिपिहरू

[पृष्ठ १३-मा भएको चित्र]

पाण्डुलिपिको एउटा टुक्रा, जसमा लुका १२:७ लेखिएको छ, “. . . नडराओ, तिमीहरू भँगेराभन्दा बहुमूल्य छौँ”

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Foreground page: National Library of Russia, St. Petersburg; second and third: Bibelmuseum, Münster; background: © The Trustees of the Chester Beatty Library, Dublin