सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २५

उपासनाको लागि वासस्थान

उपासनाको लागि वासस्थान

मोसा सिनै डाँडामा छँदा यहोवा परमेश्‍वरले तिनलाई उहाँको लागि विशेष पाल बनाउन भन्‍नुभयो। त्यस पाललाई वासस्थान भनिन्थ्यो र इस्राएलीहरूले त्यहाँ यहोवा परमेश्‍वरको उपासना गर्न सक्थे। तिनीहरू जहाँ गए पनि वासस्थान बोकेर लैजान मिल्थ्यो।

यहोवा परमेश्‍वरले भन्‍नुभयो: ‘वासस्थान बनाउन इस्राएलीहरूलाई आफूले सकेजति दिन भन्‍नू।’ तिनीहरूले सुन, चाँदी, तामा, बहुमूल्य रत्न र गरगहना दिए। साथै तिनीहरूले ऊन, मलमलको कपडा, जनावरको छाला र अरू थुप्रै कुरा दिए। तिनीहरूले एकदमै उदार भएर दिएकोले मोसाले यसो भन्‍नुपऱ्‍यो: ‘हामीसँग पुग्दो सरसामान जम्मा भइसक्यो। अरू केही नल्याउनुहोस्‌।’

थुप्रै सिपालु पुरुष र स्त्रीले वासस्थान बनाउन सघाए। परमेश्‍वरले तिनीहरूलाई बुद्धि दिनुभयो। तिनीहरूमध्ये कसै-कसैले धागो काते, कपडा बुने र त्यसमा बुट्टा भरे। अरू कसै-कसैले भने सुनको काम गरे र कसै-कसैले रत्नहरू काट्‌ने र जड्‌ने अनि काठमा बुट्टा कुँद्‌ने काम गरे।

मानिसहरूले यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै वासस्थान बनाए। तिनीहरूले वासस्थानको पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याउन सुन्दर पर्दा बनाए। महापवित्र कोठामा बबुल काठ र सुनले बनेको करारको सन्दुक थियो। पवित्र कोठामा सुनको पानस, टेबुल र धूप बाल्ने वेदी थियो। वासस्थानको चोकमा तामाको बाटा र ठूलो वेदी थियो। करारको सन्दुकले इस्राएलीहरूलाई तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गर्ने वाचा गरेको कुरा सम्झाउँथ्यो। करार भनेको के हो, तिमीलाई थाह छ? करार भनेको विशेष खालको वाचा हो।

यहोवा परमेश्‍वरले हारुन र तिनका छोराहरूलाई वासस्थानको पुजारी बनाउनुभयो। तिनीहरूले वासस्थानको रेखदेख गर्नुपर्थ्यो र उहाँको लागि बलिदानहरू दिनुपर्थ्यो। हारुन प्रधानपुजारी भएकोले तिनी मात्र महापवित्र कोठामा जान पाउँथे। तिनी वर्षमा एक चोटि मात्र आफ्नो, आफ्नो परिवारको र पूरै इस्राएलको पापको प्रायश्‍चित गर्न चढाएको बलिको रगत लिएर महापवित्र कोठामा पस्थे।

मिश्र छोडेको एक वर्षपछि इस्राएलीहरूले वासस्थान बनाउने काम सिध्याए। अब तिनीहरूले यहोवा परमेश्‍वरको उपासना गर्ने एउटा ठाउँ पाए।

वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो र त्यसको माथि बादल देखा पऱ्‍यो। त्यो बादल वासस्थानको माथि रहुन्जेल इस्राएलीहरू यात्रा थाल्दैनथे। तर त्यो बादल माथि उठेपछि तिनीहरूले यात्रा अघि बढाउने बेला भयो भनेर बुझ्थे। तिनीहरू वासस्थानलाई खोलखाल पारेर बोक्थे र बादलको पछिपछि लाग्थे।

“तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: ‘हेर! परमेश्‍वरको वासस्थान मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्‌। परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ।’”—प्रकाश २१:३