सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय उन्‍नाइस

असल पति, असल बुबा, असल सेवक

असल पति, असल बुबा, असल सेवक

१, २. (क) यूसुफ र मरियमको जीवनमा कस्तो परिवर्तन आउन लागेको थियो? (ख) यूसुफले मरियमलाई कस्तो दुःखको खबर सुनाए?

यूसुफ गधामाथि अर्को एउटा पोको राख्छन्‌। अँध्यारो हुँदै गइरहेको बेतलेहेमको वरिपरि तिनी नियाल्छन्‌। टन्‍न भारी बोकिरहेको गधाको पीठमा तिनी थपथपाइरहेका छन्‌। अब गर्नुपर्ने लामो यात्राबारे तिनी सोचिरहेका छन्‌। बेतलेहेमदेखि मिश्रसम्मको यात्रा! मिश्र तिनीहरूको लागि नितान्त नौलो छ। नौला मानिस, नौलो भाषा, नौलो संस्कृति! त्यस ठाउँमा गएर कसरी बस्ने होला भनेर यूसुफ चिन्तित छन्‌।

घर छोडेर जानुपर्छ भन्‍ने कुरा आफ्नी प्रिय पत्नीलाई बताउन तिनलाई सजिलो थिएन। परमेश्‍वरको एउटा दूतले यूसुफलाई सपनामा बताएको सन्देश तिनले मरियमलाई सुनाए: राजा हेरोदले तिनीहरूको कलिलो छोरालाई मार्न खोज्दै थियो! त्यसैले तिनीहरू जतिसक्दो चाँडो बेतलेहेमबाट भाग्नुपर्थ्यो। (मत्ती २:१३, १४ पढ्‌नुहोस्‌) मरियम चिन्ताले व्याकुल हुन्छिन्‌। तिनको प्यारो छोराले कसैको केही बिगारेको छैन, तर उसलाई किन मार्न चाहेको होला? मरियम र यूसुफले यो कुरा बुझ्नै सकेका छैनन्‌। तैपनि तिनीहरू यहोवा परमेश्‍वरमा भरोसा राख्दै मिश्र जान तयार हुन्छन्‌।

३. यूसुफ र तिनको परिवार बेतलेहेमबाट निस्कँदाको विवरण बताउनुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌)

बेतलेहेमका मानिसहरू मस्त निद्रामा छन्‌। अब चाँडै नै हुन लागेको नाटकीय घटनाबारे कसैलाई केही थाह छैन। यूसुफ, मरियम र बालक येशूचाहिं अन्धकार रातमा त्यहाँबाट सुटुक्क निस्कन्छन्‌। तिनीहरू दक्षिणतिर लागिरहेका छन्‌। पूर्वतिरबाट बिहानीको उज्यालोले चियाउन खोजिरहेको छ। अब के हुने होला भनेर यूसुफको मनमा कुरा खेलिरहेको छ। बिचरा एउटा सिकर्मीले आफ्नो परिवारलाई शक्‍तिशाली राजा हेरोद र दुष्ट सैतानको हातबाट कसरी जोगाउँछन्‌ होला? तिनले परिवारको आवश्‍यकता कसरी पूरा गर्ने? यहोवा परमेश्‍वरको छोराको हेरचाह गर्नुपर्ने र हुर्काउनुपर्ने जिम्मेवारी उहाँले यूसुफलाई सुम्पनुभएको छ। यत्रो ठूलो जिम्मेवारी तिनले कसरी पूरा गर्ने? हो, यूसुफलाई पहाडजस्तै भयङ्‌कर चुनौती आइपरेको थियो। तैपनि विश्‍वासी भएर तिनले आफ्ना सबै जिम्मेवारी कसरी पूरा गरे, अब हामी केलाऔं। त्यसपछि आजका बुबाहरू र हामी सबैले तिनको उदाहरण कसरी अनुकरण गर्न सक्छौं, विचार गरौं।

परिवारलाई जोगाउँछन्‌

४, ५. (क) यूसुफको जीवनले कसरी एकाएक अर्कै मोड लियो? (ख) गम्भीर जिम्मेवारी स्वीकार्न स्वर्गदूतले यूसुफलाई कसरी प्रोत्साहन दिए?

एक वर्षभन्दा अघि नासरतमा छँदा एलीकी छोरीसँग मगनी भएपछि यूसुफको जीवनले एकाएक अर्कै मोड लिएको थियो। मरियम यहोवालाई माया गर्थिन्‌ र उहाँको स्तरअनुसार जीवन बिताउँथिन्‌ भनेर यूसुफलाई थाह थियो। तर मरियम गर्भवती भएको कुरा तिनी थाह पाउँछन्‌। मरियमको बेइज्जत हुन नदिन तिनी गुप्तमै सम्बन्धविच्छेद गर्ने निर्णय गर्छन्‌। * तर मरियम यहोवाको पवित्र शक्‍तिबाट गर्भवती भएकी हुन्‌ भनेर यहोवाको दूतले यूसुफलाई सपनामा बताउँछन्‌। मरियमले जन्माउने छोराले “मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ” भनेर पनि स्वर्गदूत यूसुफलाई बताउँछन्‌। स्वर्गदूत यूसुफलाई यसरी प्रोत्साहन दिन्छन्‌: “मरियमसित विवाह गर्न नडराऊ।”—मत्ती १:१८-२१.

विश्‍वासी र आज्ञाकारी मानिस यूसुफले स्वर्गदूतले भनेझैं गरे। तिनले एउटा अत्यन्तै गम्भीर जिम्मेवारी स्वीकारे: आफ्नो होइन तर परमेश्‍वरको एक मात्र छोराको हेरचाह गर्ने र उहाँलाई हुर्काउने। पछि सम्राट्‌को आदेशअनुसार यूसुफ र तिनकी गर्भवती पत्नी आफ्नो नाम दर्ता गराउन बेतलेहेम गए। बेतलेहेममा नै बालक येशूको जन्म भएको थियो।

६-८. (क) कुन घटनाले गर्दा यूसुफ र तिनको परिवारमा फेरि परिवर्तन आयो? (ख) ज्योतिषीहरूलाई डोऱ्‍याउन सैतानले नै त्यो “तारा” पठाएको थियो भनेर हामी किन भन्‍न सक्छौं? (फुटनोट पनि हेर्नुहोस्‌)

त्यसपछि यूसुफ नासरत फर्केनन्‌। तिनीहरू यरूशलेमबाट लगभग १० किलोमिटर टाढा बेतलेहेममा नै बसोबास गर्न थाले। तिनीहरू गरिब थिए। तर मरियम र येशूलाई आवश्‍यक कुराहरू जुटाउन र तिनीहरूलाई जोगाउन यूसुफले सक्दो गरे। तिनीहरू छिट्टै नै एउटा साधारण घरमा बस्न थाले। अब त येशूको उमेर पनि एक वर्षभन्दा बढी भइसक्यो। यति नै बेला तिनीहरूको जीवनमा फेरि एउटा परिवर्तन आउँछ।

पूर्वतिरका केही मानिसहरू यूसुफको घरमा आइपुग्छन्‌। उनीहरू सायद बेबिलोनबाट आएका ज्योतिषीहरू थिए। उनीहरू एउटा “तारा”-लाई पछ्याउँदै यूसुफको घरमा आएका थिए। यहूदीहरूको राजा हुने बालक कहाँ छन्‌ भनेर उनीहरू खोज्दै थिए। उनीहरू ती बालकप्रतिको श्रद्धा भावले त्यहाँ आएका थिए।

ती ज्योतिषीहरूले गर्दा नै बालक येशूको जीवन खतरामा परेको थियो। तर यो कुरा उनीहरूलाई थाह थियो कि थिएन, त्यो त हामी भन्‍न सक्दैनौं। उनीहरूले पछ्याएको “तारा”-ले उनीहरूलाई सुरुमै बेतलेहेमतिर होइन, यरूशलेमतिर डोऱ्‍याएको थियो। * यरूशलेम पुगेपछि भविष्यमा यहूदीहरूका राजा बन्‍ने बालकलाई हामी खोज्दैछौं भनेर उनीहरूले दुष्ट राजा हेरोदलाई बताए। ज्योतिषीहरूले त्यसो भनेको कारण हेरोद डाहले जलेका थिए।

९-११. (क) हेरोद र सैतानभन्दा पनि शक्‍तिशाली शक्‍तिले कसरी काम गरिरहेको थियो? (ख) यहूदीहरूको किंवदन्तीमा आधारित किताबहरूमा बताइएको कुराभन्दा मिश्रको यात्रा कसरी फरक थियो?

तर खुसीको कुरा, हेरोद र सैतानभन्दा पनि शक्‍तिशाली शक्‍तिले काम गरिरहेको थियो। कसरी? हुन त पूर्वबाट आएका ती ज्योतिषीहरूले येशू बसेको घर भेट्टाउँछन्‌ र आफ्नी आमासँगै बसेको येशूको दर्शन पनि गर्छन्‌। उनीहरू येशूलाई उपहार दिन्छन्‌ र बदलामा केही पाउने आस गर्दैनन्‌। अचानक “सुन, सेतो धूप र मर्र”-जस्ता बहुमूल्य उपहारहरू पाउँदा यूसुफ र मरियम कत्ति छक्क परे होलान्‌! बालक येशू कहाँ छन्‌ भनेर बताउन ती ज्योतिषीहरू राजा हेरोदलाई भेट्‌न जाने विचार गरिरहेका हुन्छन्‌। तर यहोवा उनीहरूलाई रोक्नुहुन्छ। सपनामार्फत यहोवाले ती ज्योतिषीहरूलाई अर्कै बाटो भएर जान निर्देशन दिनुहुन्छ।—मत्ती २:१-१२ पढ्‌नुहोस्‌।

१० ज्योतिषीहरू फर्केको केही समयपछि यूसुफले यहोवाको स्वर्गदूतमार्फत यस्तो चेतावनी पाउँछन्‌: “उठ, सानो बालक र तिनकी आमालाई लिएर मिश्र देशमा भाग अनि मैले नभनेसम्म त्यहीं बस; किनकि हेरोदले यस बालकलाई खोजेर मार्न आँटेको छ।” (मत्ती २:१३) यस अध्यायको सुरुमा बताइएझैं यूसुफ त्यो आज्ञा तुरुन्तै पालन गर्छन्‌। यूसुफ सानो बालकको सुरक्षा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्छन्‌ र आफ्नो परिवारलाई लिएर मिश्रमा जान्छन्‌। ती ज्योतिषीहरूले दिएको बहुमूल्य उपहारहरूले गर्दा मिश्रसम्म यात्रा गर्न र त्यहाँ पुगेपछि गुजारा चलाउन तिनलाई सजिलो हुन्छ।

आफ्नो बच्चालाई जोगाउन यूसुफले तुरुन्तै अनि निःस्वार्थ हुँदै कदम चाले

११ यहूदीहरूको किंवदन्तीमा आधारित किताबहरूमा येशू मिश्र जाँदाको विवरणलाई एकदमै आकर्षक तरिकामा प्रस्तुत गरिएको छ। येशूले चमत्कार गरेर यात्रालाई छोटो बनाइदिनुभयो, बाटोमा चोर डाँकुहरूबाट बचाउनुभयो र आफ्नी आमालाई खजूरको फल टिप्न सजिलो होस्‌ भनेर खजूरका रूखहरू ढल्काइदिनुभयो भनेर ती किताबहरूमा बताइएको छ। * तर वास्तवमा त्यो लामो र कठिन यात्रा थियो।

परिवारको लागि यूसुफले आफ्नो सुविधा त्यागे

१२. यस खतरनाक संसारमा छोराछोरी हुर्काइरहेका आमाबाबुहरूले यूसुफबाट के सिक्न सक्छन्‌?

१२ आजका आमाबाबुहरूले यूसुफबाट धेरै कुरा सिक्न सक्छन्‌। आफ्नो परिवारलाई खतराबाट जोगाउन तिनले तुरुन्तै आफ्नो काम छोडे र सुखसुविधा पनि त्यागे। यूसुफले आफ्नो परिवारलाई यहोवाले दिनुभएको अमूल्य वरदान सम्झे। आजका आमाबाबुहरूले खतरनाक संसारमा छोराछोरीलाई हुर्काउनुपरेको छ। जे खराब छ त्यही गर्न सैतानको संसारले जवानहरूलाई उक्साउँछ। त्यसले गर्दा तिनीहरू झनै दुःख पाउँछन्‌, तिनीहरूको जीवनसमेत बर्बाद हुन सक्छ। यस्ता कुप्रभावबाट जोगाउन थुप्रै आमाबाबुहरूले यूसुफको अनुकरण गर्दै तुरुन्तै कदम चालेर आफ्नो परिवारलाई सुरक्षा दिइरहेका छन्‌। तिनीहरूले चालेको यस्तो बुद्धिमानी कदम साँच्चै प्रशंसनीय छ!

आवश्‍यकता पूरा गरिदिन्छन्‌

१३, १४. यूसुफ र मरियम किन नासरत फर्के?

१३ यूसुफ र तिनको परिवार मिश्रमा धेरै लामो समय बसेनन्‌ जस्तो देखिन्छ। किनभने केही समय नबित्दै एउटा स्वर्गदूतले यूसुफलाई हेरोदको मृत्यु भएको खबर सुनाए। त्यो खबर पाइसकेपछि यूसुफले मिश्रबाट फर्कने निर्णय गरे। धेरै समय पहिला गरिएको एउटा भविष्यवाणीमा यहोवाले आफ्नो छोरालाई ‘मिश्र देशबाट बोलाउनुहुनेछ’ भनेर बताइएको थियो। (मत्ती २:१५) यूसुफले त्यो भविष्यवाणी पूरा गर्न मदत गरे। तर अब तिनी आफ्नो परिवारलाई कहाँ लैजान्छन्‌ त?

१४ यूसुफ होसियार भई कदम चाल्ने व्यक्‍ति थिए। हेरोदका उत्तराधिकारी अर्खिलाउस पनि एकदमै हिंस्रक र हत्यारा प्रवृत्तिका मानिस थिए। त्यसकारण यूसुफले उनीदेखि टाढै रहने निर्णय गरे। यहोवाको डोऱ्‍याइअनुसारै यूसुफ आफ्नो परिवारलाई लिएर उत्तरतिर लागे। यो ठाउँ यरूशलेमबाट टाढा र षड्यन्त्रकारीहरूदेखि सुरक्षित थियो। तिनी गालीलमा भएको आफ्नो गृहनगर नासरत फर्के। त्यहाँ यूसुफ र मरियमका अरू बालबच्चा पनि भए।—मत्ती २:१९-२३ पढ्‌नुहोस्‌।

१५, १६. यूसुफ के काम गर्थे? काम गर्दा तिनले के-के प्रयोग गरेका हुन सक्छन्‌?

१५ तिनीहरूले त्यहाँ सरल जीवन बिताए। तर जीविका चलाउन कडा मेहनत गर्नुपर्थ्यो। बाइबलले यूसुफलाई सिकर्मी भनेको छ। सिकर्मीको काम गाह्रो हुन्थ्यो। रूखहरू ढाल्नुपर्थ्यो र आरा लगाएर चिर्नुपर्थ्यो। घर, डुङ्‌गा, पुल-पुलेसा, गाडा, पाङ्‌ग्रा, जुवा र खेतीकिसानीमा प्रयोग गरिने सरसामान बनाउन त्यो काठ सुकाउनुपर्थ्यो। (मत्ती १३:५५) सिकर्मी भएर काम गर्न निकै खटिनुपर्थ्यो। बाइबलकालीन समयमा सिकर्मीहरू आफ्नो घर नजिकै बसेर काम गर्थे वा तिनीहरूको कारखाना घरसँगै जोडेर बनाइएको हुन्थ्यो।

१६ यूसुफ विभिन्‍न किसिमका औजार प्रयोग गर्थे। केही औजार तिनका बुबाले दिएका हुन सक्छन्‌। यूसुफले बन्चरो, करौंती, बसिला, हतौडा, मुङ्‌ग्रो, रामो, प्वाल पार्ने बर्मा, गमहरूजस्ता औजार तथा सरसामग्री प्रयोग गरेका हुन सक्छन्‌। महँगो भए पनि कहिलेकाहीं तिनी किलाहरू प्रयोग गर्थे।

१७, १८. (क) येशूले आफ्नो बुबा यूसुफबाट के सिक्नुभयो? (ख) यूसुफले दिनदिनै किन कडा मेहनत गर्नुपर्थ्यो?

१७ कल्पना गर्नुहोस्‌, सानो बालक येशू आफ्नो बुबाले काम गरेको हेरिरहेका छन्‌। त्यसरी नजिकैबाट नियाल्दा यूसुफका चौडा काँध र पाखुरामा भएको बल, हातमा भएको सीप, आँखामा भएको तीखो हेराइ येशूले राम्ररी देखेको हुनुपर्छ। माछाको सुकेको छालाले घोटेर काठलाई कसरी चिल्लो बनाउने भनेर यूसुफले आफ्नो सानो छोरालाई सिकाएका हुन सक्छन्‌। आफूले प्रयोग गरेको काठ कति किसिमको छ र ती सबै कसरी फरक छन्‌ भनेर पनि तिनले येशूलाई सिकाए होलान्‌। जस्तै: सिकामोर खुर्पानी, अग्राख, जैतुनजस्ता फरक-फरक रूखका काठहरू।

यूसुफले आफ्नो छोरालाई सिकर्मी तालिम दिए

१८ रूखहरू ढाल्ने, दलिनहरू बनाउने र काठहरू जोड्‌ने ती बलिया हातहरूमा कोमलता पनि उत्तिकै लुकेको छ भनेर येशूलाई थाह थियो। हो, तिनै हातहरूले आफ्नी आमालाई, आफूलाई र भाइबहिनीलाई माया गरिरहेको छ र सान्त्वना दिइरहेको छ भनेर येशूले बुझ्नुभएको थियो। यूसुफ र मरियमको परिवार ठूलो थियो। येशूका कम्तीमा पनि छ जना भाइबहिनी थिए। (मत्ती १३:५५, ५६) तिनीहरू सबैको पालनपोषण गर्न यूसुफले दिनदिनै कडा मेहनत गर्नुपर्थ्यो।

आफ्नो परिवारको आध्यात्मिक आवश्‍यकता पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर यूसुफले बुझेका थिए

१९. यूसुफले कसरी आफ्नो परिवारको आध्यात्मिक हेरविचार गरे?

१९ तर आफ्नो परिवारको आध्यात्मिक हेरचाह गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर यूसुफलाई थाह थियो। त्यसैले यहोवा परमेश्‍वर र उहाँको स्तरबारे आफ्ना छोराछोरीलाई सिकाउन यूसुफले समय दिए। तिनले र मरियमले आफ्ना नानीहरूलाई सधैं नै सभाघरमा लाने गर्थे। त्यहाँ व्यवस्थामा लेखिएका कुराहरू ठूलो स्वरले पढिन्थ्यो र त्यसको अर्थ बुझाउने गरिन्थ्यो। त्यहाँबाट फर्किसकेपछि सायद येशूले यूसुफलाई प्रश्‍नको ओइरो नै लगाउनुहुन्थ्यो होला र यूसुफले पनि उहाँको आध्यात्मिक भोक मेटाउन सक्दो गर्थे होलान्‌। यूसुफ आफ्नो परिवारलाई यरूशलेममा हुने चाडहरूमा पनि लैजान्थे। वर्षको एक चोटि मनाइने निस्तार चाडमा सहभागी हुन र घर फर्कन यूसुफले लगभग दुई हप्ता लगाएर १२० किलोमिटर लामो यात्रा गर्नुपर्थ्यो।

यहोवाको उपासना गर्न यूसुफ सधैं आफ्नो परिवारलाई यरूशलेमको मन्दिरमा लैजान्थे

२०. आजका ख्रीष्टियन परिवारका शिरले पनि कसरी यूसुफको उदाहरण पछ्याउँछन्‌?

२० आजका ख्रीष्टियन परिवारका शिरले पनि त्यही नमुना पछ्याउँछन्‌। तिनीहरू आफ्नो छोराछोरीको भौतिक आवश्‍यकता मात्र होइन तर आध्यात्मिक आवश्‍यकता पनि पूरा गरिदिन्छन्‌ र सबैभन्दा पहिलो स्थान पनि यसलाई नै दिन्छन्‌। पारिवारिक उपासना गर्न होस्‌ वा छोराछोरीलाई सभा-सम्मेलनमा लैजान, तिनीहरू दिलोज्यानले लाग्छन्‌। आफ्ना छोराछोरीलाई यहोवाबारे सिकाउनु नै तिनीहरूलाई दिन सकिने सबैभन्दा ठूलो सम्पत्ति हो भनेर यूसुफले जस्तै आजका आमाबाबुले पनि बुझेका छन्‌।

तिनीहरू “व्याकुल” भए

२१. यूसुफको परिवार निस्तार चाड कसरी मनाउँथे? येशू हराउनुभएको कुरा यूसुफ र मरियमले कुन बेला थाह पाए?

२१ येशू १२ वर्षको हुँदा सदाझैं यूसुफ आफ्नो परिवारलाई यरूशलेममा लैजान्छन्‌। त्यो निस्तार चाडको बेला थियो। वसन्त ऋतुको समयमा थुप्रै परिवारहरू चाड मनाउन सँगसँगै यरूशलेमको यात्रा गर्थे। अलि अग्लो ठाउँमा रहेको यरूशलेममा पुग्ने बेलातिर मानिसहरू उकालो चढ्‌दा गाइने स्तुतिगान गाउने गर्थे। (भज. १२०–१३४) यरूशलेम सहर मानिसहरूले खचाखच भरिएको हुन्थ्यो। चाड सकिएपछि मानिसहरू आ-आफ्नो सामान जनावरलाई बोकाएर लावालस्करका साथ घर फर्कन्थे। यूसुफ र मरियम फर्कने चटारोमा भएकोले येशू परिवारका अरू सदस्यहरूसँगै आउँदै हुनुहुन्छ होला भनी तिनीहरूले सोचे। एक दिनको बाटो पार गरिसकेपछि तिनीहरूले बल्ल थाह पाए—येशू हराउनुभएको थियो!—लूका २:४१-४४.

२२, २३. छोरा हराएको कुरा थाह पाएपछि यूसुफ र मरियमले के गरे? येशूलाई भेट्टाइसकेपछि मरियमले के भनिन्‌?

२२ तिनीहरू यरूशलेम फर्के र येशूलाई धुइँधुइँती खोज्न थाले। तिनीहरू सहरको गल्ली-गल्लीसम्म गएर आफ्नो छोराको नाम बोलाउँदै भौंतारिरहेका थिए। तर कतैबाट जवाफ आएन। येशू कता हराउनुभयो होला? तीन दिन भइसक्यो! यहोवाले सुम्पेको अनमोल जिम्मेवारी पूरा गर्न सकिनँ भन्‍ने सोचेर यूसुफ चिन्ताले झनै व्याकुल भए कि? खोज्दा-खोज्दा अन्तमा तिनीहरू मन्दिरमा पुगे। तिनीहरूले मन्दिरमा पनि जताततै खोजे र अन्तमा एउटा ठूलो कोठामा पुगे। त्यस कोठामा व्यवस्थाका शिक्षकहरू छलफल गर्न भेला भएका थिए। येशू त्यहीं हुनुहुन्थ्यो! मरियम र यूसुफ कत्ति ढुक्क भए होलान्‌!—लूका २:४५, ४६.

२३ येशू ती शिक्षकहरूको कुरा सुन्दै र उत्सुक भएर उनीहरूलाई प्रश्‍न सोध्दै हुनुहुन्थ्यो। येशूको समझशक्‍ति देखेर र उहाँको जवाफ सुनेर मानिसहरू अचम्ममा परेका थिए। त्यहाँ येशूलाई देखेपछि यूसुफ र मरियम चकित भए। त्यतिबेला यूसुफले बोलेको कुरा हामी बाइबल विवरणमा पाउँदैनौं। तर मरियमका शब्दहरूमा तिनीहरू दुवैको भावना पाइन्छ। तिनले यसो भनिन्‌: “बाबु, तिमीले हामीलाई किन यस्तो दुःख दिएको? हेर त, तिम्रो बुबा र म तिमीलाई खोज्दा-खोज्दा कत्ति हैरान भइसक्यौं।”—लूका २:४७, ४८.

२४. आमाबाबुको भूमिका निर्वाह गर्नु चानचुने काम होइन भनेर बाइबलले कसरी देखाएको छ?

२४ बाइबलको यो विवरणले आमाबाबुको भूमिकाको वास्तविक चित्रण गरेको छ। हेर्नुहोस्‌ त, छोरा त्रुटिरहित भए पनि आमाबाबुलाई कत्ति चिन्ता हुँदो रहेछ! अहिलेको खतरनाक संसारमा आमाबाबुको भूमिका निर्वाह गर्नु चानचुने कुरा होइन। असाध्यै “व्याकुल” हुने अवस्था पनि आउन सक्छ। तर आमाबाबुले भोग्ने यस्ता चुनौतीहरू यहोवाले बुझ्नुभएको छ र त्यो कुरा बाइबलमा पनि लेख्न लगाउनुभएको छ भनेर थाह पाउनु साँच्चै सान्त्वनादायी छ।

२५, २६. येशूले यूसुफ र मरियमलाई कस्तो जवाफ दिनुभयो? येशूको जवाफ सुनेर यूसुफले कस्तो महसुस गरे होलान्‌?

२५ येशू एउटा यस्तो ठाउँमा बसिरहनुभएको थियो, जहाँ उहाँले स्वर्गका आफ्ना बुबा यहोवासँग नजिक महसुस गर्न सक्नुहुन्थ्यो र उहाँबारे थुप्रै कुरा सिक्न सक्नुहुन्थ्यो। यस्तो ठाउँ अन्त कहाँ थियो र? निष्कपट हुँदै उहाँले यस्तो जवाफ दिनुभयो: “तपाईंहरूले मलाई किन यताउता खोज्नुपऱ्‍यो? म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाह थिएन?”—लूका २:४९.

२६ येशूका यी शब्दहरूमा यूसुफ निकै घोरिए होलान्‌। सायद तिनले यसप्रति गर्व पनि महसुस गरे होलान्‌। साँच्चै, यहोवा परमेश्‍वरलाई आफ्नो बुबासरह ठान्‍नुपर्छ भनेर येशूलाई सिकाउन तिनले कत्ति मेहनत गरेका थिए! हुर्कंदै जाँदा “बुबा” शब्दप्रति येशूको न्यानो भावना विकास भएको थियो। यूसुफसँग वर्षौं बिताएकोले मायालु बुबा कस्तो हुन्छ, येशूले सानैदेखि देख्नुभएको थियो।

२७. बुबाको हैसियतमा तपाईंले कस्तो सुअवसर पाउनुभएको छ? तपाईंले यूसुफको उदाहरण किन सम्झनुपर्छ?

२७ यदि तपाईं बुबा हुनुहुन्छ भने के तपाईं आफ्ना छोराछोरीलाई माया गर्नुहुन्छ अनि तिनीहरूको सुरक्षा गर्नुहुन्छ? यसो गर्नुभएको छ भने यहोवा मायालु र सुरक्षा दिने बुबा हुनुहुन्छ भनेर तपाईंले आफ्नो उदाहरणद्वारा सिकाइरहनुभएको हुनेछ। त्यसो गर्न पाउनु कत्ति ठूलो सुअवसर! झड्‌केला छोराछोरी अथवा धर्मपुत्र वा धर्मपुत्रीसित व्यवहार गर्दा पनि यूसुफको उदाहरण सम्झनुहोस्‌। हरेक बच्चाको आ-आफ्नै विशेषता हुन्छ अनि तिनीहरू सबै उत्तिकै अनमोल हुन्छन्‌ भन्‍ने कुरा मनमा राख्दै व्यवहार गर्नुहोस्‌। तिनीहरूलाई स्वर्गमा बस्नुहुने बुबा यहोवाको नजिक हुन मदत गर्नुहोस्‌।—एफिसी ६:४ पढ्‌नुहोस्‌।

गाह्रो भए पनि जिम्मेवारी पूरा गर्छन्‌

२८, २९. (क) लूका २:५१, ५२ बाट हामी यूसुफबारे कस्तो जानकारी पाउँछौं? (ख) यूसुफले येशूलाई बुद्धिमान्‌ हुन कसरी मदत गरे?

२८ यसपछिको विवरणमा यूसुफबारे त्यति चर्चा गरिएको छैन। तर जति छ, त्यो हाम्रो लागि विचारणीय छ। येशू आफ्ना आमाबाबुको “अधीनमा बस्नुभयो” भनेर बाइबल विवरण बताउँछ। त्यसपछिको विवरणमा “येशू झन्‌-झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कंदै जानुभयो र उहाँमाथि परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पनि बढ्‌दै गयो” भनेर लेखिएको छ। (लूका २:५१, ५२ पढ्‌नुहोस्‌) यस विवरणबाट हामी यूसुफबारे कस्तो जानकारी पाउँछौं? हो, थुप्रै जानकारी पाउन सक्छौं। यूसुफले आफ्नो परिवारमा शिरको रूपमा नेतृत्व लिइरहे। किनभने त्रुटिरहित भए पनि येशूले यूसुफको अख्तियारको आदर गर्नुभयो र उहाँ तिनको अधीनमा बस्नुभयो।

२९ येशू पछि झन्‌-झनै बुद्धिमान्‌ हुँदै जानुभयो भनेर हामी थाह पाउँछौं। यसमा यूसुफको पनि ठूलो हात छ भनेर हामी भन्‍न सक्छौं। त्यतिबेलाको समाजमा यहूदीहरूमाझ एउटा भनाइ प्रचलित थियो। त्यो भनाइ यहूदी किंवदन्तीमा अहिले पनि पाइन्छ। त्यस भनाइअनुसार धनीमानी मात्र बुद्धिमान्‌ हुन सक्छन्‌, सानोतिनो काम गरेर खाने मान्छेहरू, जस्तै: व्यापारी, सिकर्मी, किसान अनि लोहारको काम गर्ने मानिसहरू “ठीक बेठिक छुट्याउन र न्याय गर्न सक्दैनन्‌। अनि तिनीहरू शिक्षा दिने ठाउँमा देखिनु हुँदैन।” तर पछि येशूले यो भनाइलाई झूटो साबित गरिदिनुभयो। उहाँको बुबा गरिब सिकर्मी भए तापनि तिनले परमेश्‍वरको नजरमा “असल र खराब” के हो भनेर प्रभावकारी रूपमा सिकाएको येशूले सानैदेखि देख्नुभएको थियो। येशूले एक चोटि मात्र होइन तर बारम्बार यसरी नै सिक्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

३०. यूसुफले आजका परिवारका शिरहरूको लागि कस्तो उदाहरण बसाले?

३० येशूको शारीरिक वृद्धिमा पनि हामी यूसुफको योगदान देख्न सक्छौं। सानैदेखि राम्रो हेरचाह पाएकोले येशू पछि बलियो र स्वस्थ व्यक्‍ति हुन सक्नुभयो। त्यसबाहेक यूसुफले येशूलाई आफ्नो सीपमा पोख्त पनि बनाए। येशू सिकर्मीको छोराको रूपमा मात्र होइन, “सिकर्मी”-को रूपमा पनि चिनिनुहुन्थ्यो। (मर्कू. ६:३) यूसुफ आफ्नो छोरालाई तालिम दिन सफल भए। यूसुफको अनुकरण गर्दै आजका परिवारका शिरहरूले पनि आफ्ना छोराछोरीको स्वास्थ्यको राम्रो हेरचाह गर्छन्‌ र भविष्यमा तिनीहरू आफ्नो खुट्टामा आफै उभिन सकून्‌ भनेर आवश्‍यक तालिम दिन्छन्‌।

३१. (क) यूसुफको मृत्युबारे प्रमाणहरूले के देखाउँछ? ( पेटी हेर्नुहोस्‌) (ख) यूसुफले हाम्रो लागि कस्तो उदाहरण बसाले?

३१ येशूले लगभग ३० वर्षको उमेरमा बप्तिस्मा गर्नुभयो। यतिबेलाको विवरणमा हामी यूसुफबारे केही पनि चर्चा गरिएको पाउँदैनौं। येशूले सेवाको काम सुरु गर्दा मरियम विधवा भइसकेकी थिइन्‌ भनेर प्रमाणहरूले देखाउँछ। ( “यूसुफको मृत्यु कहिले भयो?” शीर्षकको पेटी हेर्नुहोस्‌) जेहोस्‌, यूसुफले एउटा अमेट छाप छोडेर गए। तिनी आफ्नो परिवारलाई अन्तसम्म नै जोगाउने, उनीहरूको आवश्‍यकता पूरा गरिदिने र गाह्रो भए पनि आफ्नो जिम्मेवारी पूरा गर्ने व्यक्‍तिको रूपमा चिनिएका छन्‌। हरेक बुबा, परिवारको शिर वा अरू ख्रीष्टियनले पनि यूसुफको विश्‍वास अनुकरण गर्नुपर्छ।

^ अनु. 4 त्यतिबेला मगनीलाई पनि विवाह गरेको सरह ठानिन्थ्यो।

^ अनु. 8 त्यो “तारा” आकाशमा भएको साधारण तारा थिएन। साथै त्यो परमेश्‍वरले पठाउनुभएको तारा पनि थिएन। कुरा प्रस्ट छ, येशूलाई मार्ने षड्यन्त्र गर्दै सैतानले त्यो तारा देखा पारेको थियो।

^ अनु. 11 येशूले बप्तिस्मा गरिसकेपछि मात्र “पहिलो चमत्कार” गर्नुभएको थियो भनेर बाइबलले प्रस्टै बताएको छ।—यूह. २:१-११.