युहन्‍नाका अनुसार १:१-५१

  • वचन मानिस हुनुभयो (१-१८)

  • बप्तिस्मा गराउने युहन्‍नाले दिएको साक्षी (१९-२८)

  • येसु—परमेश्‍वरको पाठो (२९-३४)

  • येसुका सुरुका चेलाहरू (३५-४२)

  • फिलिप र नथनेल (४३-५१)

 सुरुमा वचन हुनुहुन्थ्यो+ अनि वचन परमेश्‍वरसित हुनुहुन्थ्यो+ र वचन ईश्‍वर* हुनुहुन्थ्यो।+ २  उहाँ सुरुमा परमेश्‍वरसित हुनुहुन्थ्यो। ३  सबै थोक उहाँद्वारै अस्तित्वमा आए,+ उहाँविना एउटै थोक पनि अस्तित्वमा आएन। उहाँद्वारा जे अस्तित्वमा आयो, ४  त्यो जीवन थियो र त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।+ ५  अनि त्यो ज्योति अन्धकारमा चम्किरहेको छ+ तर अन्धकारले त्यसलाई दबाउन सकेको छैन। ६  परमेश्‍वरले आफ्नो प्रतिनिधिको रूपमा पठाउनुभएको एक जना मानिस देखा परे। तिनको नाम युहन्‍ना थियो।+ ७  ती मानिस ज्योतिको गवाही दिन साक्षीको रूपमा आए+ ताकि तिनीद्वारा हरकिसिमका मानिसले विश्‍वास गर्न सकून्‌। ८  तिनी त्यो ज्योति थिएनन्‌+ बरु त्यस ज्योतिको साक्षी दिन आएका थिए। ९  हरकिसिमका मानिसलाई ज्योति दिने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो।+ १०  उहाँ संसारमा हुनुहुन्थ्यो+ अनि उहाँद्वारै संसार अस्तित्वमा आयो+ तर संसारले उहाँलाई चिनेन। ११  उहाँ आफ्नो घरमा आउनुभयो तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई स्विकारेनन्‌। १२  तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्तान बन्‍ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्‍वास गरेका थिए;+ १३  अनि तिनीहरू न रगतद्वारा न शारीरिक इच्छाद्वारा न मानिसको इच्छाद्वारा तर परमेश्‍वरद्वारा जन्मिएका थिए।+ १४  यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्‍वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। १५  (युहन्‍नाले उहाँको विषयमा साक्षी दिए। हो, तिनी यसो भन्दै कराए: “उहाँ तिनै हुनुहुन्छ, जसबारे मैले यसो भनेको थिएँ, ‘मपछि आउने मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’”)+ १६  हामी सबैले उहाँबाट प्रशस्त गरी असीम अनुग्रह पायौँ किनकि उहाँ असीम अनुग्रहले भरिपूर्ण हुनुहुन्छ। १७  किनकि मोसाद्वारा व्यवस्था दिइयो+ तर येसु ख्रिष्टद्वारा भने असीम अनुग्रह+ र सत्य आयो।+ १८  परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्‍वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+ १९  तब यहुदीहरूले यरुसलेमबाट पुजारी अनि लेवीहरू पठाए र युहन्‍नालाई “तिमी को हौ?” भनी सोध्न लगाए।+ २०  तिनले त्यसको जवाफ दिन इन्कार गरेनन्‌ अनि “म ख्रिष्ट होइनँ” भनी खुलेआम स्विकारे। २१  अनि उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ त? के तिमी एलिया हौ?”+ तिनले जवाफ दिए: “होइनँ।” “के तिमी भविष्यवक्‍ता हौ त?”+ तिनले जवाफ दिए: “होइनँ!” २२  तब उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ? हामीलाई भन र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सक्नेछौँ। आफ्नो विषयमा तिमी के भन्छौ?” २३  तिनले जवाफ दिए: “भविष्यवक्‍ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+ २४  तिनीकहाँ यी मानिसहरूलाई फरिसीहरूले* पठाएका थिए। २५  त्यसैले उनीहरूले यसो भन्दै प्रश्‍न गर्न थाले: “यदि तिमी ख्रिष्ट वा एलिया वा भविष्यवक्‍ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” २६  युहन्‍नाले तिनीहरूलाई जवाफ दिए: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। २७  उहाँ मपछि आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।”+ २८  यी घटनाहरू यर्दन नदीपारि बेथानीमा भएका हुन्‌, जहाँ युहन्‍नाले बप्तिस्मा गराउँथे।+ २९  भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्‍वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+ ३०  उहाँ तिनै हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ: ‘मपछि आउने एक जना मानिस मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’+ ३१  मैले पनि उहाँलाई चिनेको थिइनँ तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै म पानीमा बप्तिस्मा गराउँदै आएँ।”+ ३२  युहन्‍नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+ ३३  मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+ ३४  अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”+ ३५  त्यसको भोलिपल्ट फेरि युहन्‍ना आफ्ना दुई जना चेलासित उभिरहेका थिए। ३६  अनि येसु हिँड्‌दै गर्नुभएको देखेपछि तिनले भने: “हेर, परमेश्‍वरको पाठो!”+ ३७  तिनको कुरा सुनेपछि ती दुई जना चेला येसुको पछि लागे। ३८  तब येसुले फर्केर हेर्दा तिनीहरू आफ्नो पछिपछि आइरहेको देख्नुभयो अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के चाहन्छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “हे रब्बी (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “गुरुज्यू”), तपाईँ कहाँ बस्दै हुनुहुन्छ?” ३९  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आओ अनि तिमीहरूले देख्नेछौ।” त्यसैले तिनीहरू गए र उहाँ बस्नुभएको ठाउँ देखे अनि त्यो दिन तिनीहरू पनि उहाँसितै बसे। त्यतिखेर लगभग दसौँ घडी* भएको थियो। ४०  युहन्‍नाको कुरा सुनेर येसुको पछि लाग्ने ती दुई चेलामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास+ थिए। ४१  सबैभन्दा पहिला, तिनले आफ्नो दाइ सिमोनलाई भेटे र तिनलाई भने: “हामीले मसीहलाई+ (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “ख्रिष्ट”) भेट्टाएका छौँ।” ४२  तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्‍नुभयो: “तिमी युहन्‍नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।” ४३  त्यसको भोलिपल्ट उहाँ गालिल जान चाहनुभयो। तब उहाँले फिलिपलाई+ भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” ४४  फिलिप बेथसेदाका बासिन्दा थिए, जुन अन्द्रियास अनि पत्रुसको पनि सहर थियो। ४५  फिलिपले नथनेललाई+ भेटे अनि तिनलाई भने: “हामीले युसुफको छोरा+ नासरतका येसुलाई भेट्टाएका छौँ, जसबारे मोसाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।” ४६  तर नथनेलले तिनलाई सोधे: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई जवाफ दिए: “आएर तिमी आफै हेर।” ४७  नथनेललाई आफूतिर आउँदै गरेको देखेर येसुले तिनीबारे भन्‍नुभयो: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।”+ ४८  नथनेलले उहाँलाई भने: “तपाईँले मलाई कसरी चिन्‍नुभयो?” येसुले तिनलाई जवाफ दिनुभयो: “फिलिपले तिमीलाई बोलाउनुअघि नै मैले तिमीलाई अन्जिरको रूखमुनि देखेको थिएँ।” ४९  नथनेलले उहाँलाई भने: “रब्बी, तपाईँ परमेश्‍वरका छोरा हुनुहुन्छ; तपाईँ इस्राएलका राजा हुनुहुन्छ।”+ ५०  येसुले तिनलाई भन्‍नुभयो: “मैले तिमीलाई अन्जिरको रूखमुनि देखेँ भनेकोले नै के तिमीले विश्‍वास गरेका हौ? तिमीले यीभन्दा पनि ठूलठूला कुराहरू देख्नेछौ।” ५१  तब उहाँले तिनलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्‍वरका दूतहरूलाई मानिसको छोराकहाँ ओर्लिँदै र उक्‌लिँदै गरेको देख्नेछौ।”+

फुटनोटहरू

वा “ईश्‍वरजस्तो।”
वा “असीम अनुग्रह।”
वा “काखमा बस्नुहुने।” यसले विशेष अनुमोदन पाएको कुरालाई जनाउँछ।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
दिउँसो ४ बजेतिर।