सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

येशू ख्रीष्टले वास्तवमा ख्रीष्टियनहरू कस्तो हुनुपर्छ भनेर सिकाउनुभएको थियो। उहाँका चेलाहरूले त्यसैअनुरूप चले। हामी यहोवाका साक्षीहरू पनि त्यसैअनुसार जीवन बिताउने कोसिस गर्छौं। यस लेखमा हाम्रो विश्‍वासबारे सारांशमा बताइएको छ।

  1.  १. ईश्‍वर। हामी एक मात्र साँचो ईश्‍वरको उपासना गर्छौं। उहाँ सर्वशक्‍तिमान्‌ र सृष्टिकर्ता हुनुहुन्छ। बाइबलमा उहाँको नाम यहोवा भनेर लेखिएको छ। (मर्कूस १२:२९; प्रकाश ४:११) अब्राहाम, मोशा र येशूले उपासना गर्ने ईश्‍वर उहाँ नै हुनुहुन्छ।—प्रस्थान ३:६; ३२:११; यूहन्‍ना २०:१७.

  2.  २. बाइबल। बाइबल ईश्‍वरको प्रेरणाद्वारा लेखिएको किताब हो भनेर हामी विश्‍वास गर्छौं। यसमा मानिसहरूका लागि ईश्‍वरको सन्देश पाइन्छ। (यूहन्‍ना १७:१७; २ तिमोथी ३:१६) हाम्रो विश्‍वास बाइबलमा आधारित छ। बाइबललाई “पुरानो नियम” र “नयाँ नियम” भनेर दुई भागमा विभाजन गरिएको छ। यसमा ६६ वटा किताब छ। प्राध्यापक जेसन डि. बेडून्‌ले यहोवाका साक्षीहरूबारे यस्तो लेखे, “तिनीहरू निष्कपट भएर बाइबल अध्ययन गर्छन्‌ र बाइबलमा जे छ त्यसैलाई आधार बनाएर आफ्नो विश्‍वास र चालचलन कायम राख्छन्‌। बाइबलले यस्तो भनेको हुनुपर्ने हो भनेर आफूले मान्दै आएको विचारधाराअनुसार निर्णय गर्दैनन्‌।” a

     हुन त हामी बाइबलमा लेखिएको एक-एक कुरामा विश्‍वास गर्छौं तर हामी कट्टरपन्थीचाहिं होइनौं। बाइबलको कुनै-कुनै कुराको प्रतीकात्मक अर्थ लाग्ने किसिमले लेखिएको छ र त्यसलाई जस्ताको तस्तै लिन मिल्दैन।​—प्रकाश १:१.

  3.  ३. येशू। हामी येशूको अनुकरण गर्न र उहाँको शिक्षाअनुसार चल्न कोसिस गर्छौं। त्यसैले हामीलाई ख्रीष्टियन भनिन्छ। (प्रेषित ११:२६) उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ। उहाँले मात्र हामीलाई पाप र मृत्युबाट छुटकारा दिन सक्नुहुन्छ। (मत्ती २०:२८; प्रेषित ५:३१) बाइबलमा कतै पनि येशू सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनेर लेखिएको छैन। साथै त्रिएकको शिक्षा बाइबलमा आधारित छैन भनेर हामीले बुझेका छौं।—यूहन्‍ना १४:२८.

  4.  ४. परमेश्‍वरको राज्य। कसै-कसैले विश्‍वास गरेजस्तै परमेश्‍वरको राज्य भनेको मन भित्रको अवस्था होइन, यो स्वर्गमा भएको वास्तविक सरकार हो। यस सरकारले मानिसको सरकारलाई हटाउनेछ र परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्नेछ। (दानियल २:४४; मत्ती ६:९, १०) बाइबलको भविष्यवाणीले हामी “अन्तको दिनमा” बाँचिरहेका छौं भनेर बताउँछ। त्यसैले परमेश्‍वरले आफ्नो उद्देश्‍य चाँडै पूरा गर्नुहुनेछ।—२ तिमोथी ३:१-५; मत्ती २४:३-१४.

     स्वर्गमा भएको परमेश्‍वरको राज्यको राजा येशू हुनुहुन्छ। उहाँले सन्‌ १९१४ मा शासन सुरु गर्नुभयो।—प्रकाश ११:१५.

  5.  ५. उद्धार। येशूले फिरौतीको बलिदान नदिनुभएको भए हामी पाप र मृत्युबाट छुटकारा पाउन सक्दैनथ्यौं। (मत्ती २०:२८; प्रेषित ४:१२) बाइबलले हाम्रो विश्‍वास कामविना मरेको हुन्छ भनेर बताउँछ। (याकूब २:२४, २६) त्यसैले यस बलिदानबाट लाभ उठाउन येशूमा विश्‍वास गरेर मात्र पुग्दैन, आफ्नो जीवन परिवर्तन गरेर बप्तिस्मा पनि गर्नुपर्छ। (मत्ती २८:१९, २०; यूहन्‍ना ३:१६; प्रेषित ३:१९, २०) तर त्यसो भन्दैमा हाम्रो असल कामहरूले गर्दा उद्धार पाउन सकिन्छ भन्‍ने होइन। यो त “परमेश्‍वरको असीम अनुग्रह”-ले गर्दा मात्र पाउन सक्छौं।—गलाती २:१६, २१.

  6.  ६. स्वर्ग। यहोवा परमेश्‍वर, येशू र वफादार स्वर्गदूतहरू स्वर्गमा बस्नुहुन्छ b (भजन १०३:१९-२१; प्रेषित ७:५५) पृथ्वीबाट १ लाख ४४ हजार जनाको एउटा समूहलाई स्वर्ग लगिनेछ। तिनीहरूले येशूसितै स्वर्गबाट शासन गर्नेछन्‌।—दानियल ७:२७; २ तिमोथी २:१२; प्रकाश ५:९, १०; १४:१, ३.

  7.  ७. पृथ्वी। परमेश्‍वरले पृथ्वी मानिसहरूको लागि सृष्टि गर्नुभएको थियो। पृथ्वी कहिल्यै नाश हुनेछैन। (भजन १०४:५; ११५:१६; उपदेशक १:४) भविष्यमा उहाँले पृथ्वीलाई फेरि सुन्दर बगैंचा बनाउनुहुनेछ। त्यतिबेला परमेश्‍वरको स्तरअनुसार चल्ने मानिसहरूलाई उहाँले कहिल्यै बिरामी हुन नपर्ने अनि मर्नु नपर्ने जीवन दिनुहुनेछ।—भजन ३७:११, ३४.

  8.  ८. दुष्टता र दुःखकष्ट। एक जना स्वर्गदूतले परमेश्‍वरविरुद्ध विद्रोह गरेपछि दुष्टता र दुःखकष्टको सुरुवात भयो। (यूहन्‍ना ८:४४) त्यस स्वर्गदूतले विद्रोह गरेपछि त्यसलाई “सैतान” र “दियाबल” भन्‍ने नाम दिइयो। त्यसले पहिलो मानव दम्पतीलाई बहकायो। तिनीहरूले विद्रोहमा साथ दिएकोले तिनीहरूको सन्तानले दुःखदायी नतिजा भोग्नुपऱ्‍यो। (उत्पत्ति ३:१-६; रोमी ५:१२) शासन गर्ने अधिकार परमेश्‍वरको मात्र हो भनेर प्रमाणित गर्न उहाँले दुष्टता र दुःखकष्ट रहिरहन दिनुभएको हो। तर उहाँले सधैंभरि यस्तो भइरहन दिनुहुनेछैन।

  9.  ९. मृत्यु। मानिस मरेपछि उसको कुनै अस्तित्व रहँदैन। (भजन १४६:४; उपदेशक ९:५, १०) उसले नरकमा सधैंभरि सास्ती भोग्दैन।

     परमेश्‍वरले मरिसकेका लाखौं मानिसलाई पुनर्जीवित गर्नुहुनेछ। (प्रेषित २४:१५) तर पुनर्जीवित भएकाहरू परमेश्‍वरको स्तरअनुरूप चल्न चाहेनन्‌ भने उनीहरूलाई नाश गरिनेछ। त्यसपछि उनीहरू कहिल्यै जीवित हुनेछैनन्‌।—प्रकाश २०:१४, १५.

  10.  १०. परिवार। विवाह एक जना लोग्नेमान्छे र एक जना स्वास्नीमान्छेबीच मात्र हुनुपर्छ भनेर बाइबल बताउँछ। हामी यही सिद्धान्तअनुसार चल्छौं। सम्बन्धविच्छेद गर्न सकिने एक मात्र आधार अवैध यौनसम्बन्ध हो। (मत्ती १९:४-९) बाइबलमा पाइने सल्लाहले पारिवारिक जीवन सुखी बनाउँछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।—एफिसी ५:२२–६:१.

  11.  ११. हाम्रो उपासना। हामी उपासनामा न त क्रस चलाउँछौं न कुनै किसिमको मूर्ति नै। (व्यवस्था ४:१५-१९; १ यूहन्‍ना ५:२१) हामीले गर्ने उपासनामा निम्न कुराहरू समावेश छ:

  12.  १२. हाम्रो सङ्‌गठन। हाम्रो सङ्‌गठन मण्डलीहरू मिलेर बनेको छ। हरेक मण्डलीको हेरचाह एल्डरहरूको निकायले (परिपक्व पुरुषहरू) गर्छ। तर एल्डरहरू भनेको चर्चको पादरीहरू जस्ता होइनन्‌। तिनीहरूले तलब पनि पाउँदैनन्‌। (मत्ती १०:८; २३:८) हाम्रो सभामा दशांश लिइँदैन अनि चन्दा पनि उठाइँदैन। (२ कोरिन्थी ९:७) सङ्‌गठनमा हुने विभिन्‍न खर्च स्वैच्छिक अनुदानद्वारा बेहोरिन्छ। क-कसले अनुदान दिए भन्‍ने कुरा गोप्य नै रहन्छ।

     परिचालक निकाय भनेर चिनिने एउटा सानो समूहले संसारभरि रहेका यहोवाका साक्षीहरूलाई निर्देशन दिने काम गर्छ।—मत्ती २४:४५.

  13.  १३. हाम्रो एकता। संसारभरका यहोवाका साक्षीहरूको विश्‍वास एउटै भएकोले तिनीहरूबीच एकता छ। (१ कोरिन्थी १:१०) हामी मानिसको रूपरङ्‌ग, जात र आर्थिक अवस्थाको आधारमा भेदभाव गर्दैनौं। (प्रेषित १०:३४, ३५; याकूब २:४) हामी सबैको रुचि फरक-फरक छ तैपनि हामी एक छौं। किनभने हरेकले बाइबलको सिद्धान्त केलाएर त्यसैअनुसार निर्णय गर्छन्‌।—रोमी १४:१-४; हिब्रू ५:१४.

  14.  १४. हाम्रो चालचलन। हामी मानिसहरूलाई निःस्वार्थ माया गर्न हर प्रयास गर्छौं। (यूहन्‍ना १३:३४, ३५) परमेश्‍वरलाई मन नपर्ने चलन तथा रीतिरिवाजअनुसार चल्दैनौं। यसमा रगतको दुरुपयोग पनि समावेश छ। (प्रेषित १५:२८, २९; गलाती ५:१९-२१) हामी कुनै पनि युद्धमा भाग लिंदैनौं किनभने हामी शान्ति रुचाउने मानिस हौं। (मत्ती ५:९; यशैया २:४) हामी जुन देशमा बस्छौं, त्यहाँको कानुन पालन गर्छौं। तर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाउने खालको नीतिनियम भने पालन गर्दैनौं।—मत्ती २२:२१; प्रेषित ५:२९.

  15.  १५. अरूसितको सम्बन्ध: येशूले यस्तो आज्ञा दिनुभयो, “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” त्यसैले “हामी सबैको भलाइ” हुने काम गर्ने कोसिस गर्छौं। (मत्ती २२:३९; गलाती ६:१०) उहाँले ख्रीष्टियनहरू “यस संसारका होइनन्‌” पनि भन्‍नुभयो। त्यसैले हामी राजनैतिक मामिलामा तटस्थ रहन्छौं अनि अन्य धर्मको गतिविधिमा भाग लिंदैनौं। (यूहन्‍ना १७:१६; २ कोरिन्थी ६:१४) तर राजनीति र धर्मसम्बन्धी अरूको निर्णयको हामी आदर गर्छौं।—रोमी १४:१२.

 यहोवाका साक्षीहरूको विश्‍वासबारे अझ धेरै जान्‍न चाहनुहुन्छ भने हाम्रो वेबसाइटमा पाइने जानकारी पढ्‌नुहोस्‌, हाम्रो अफिसमा सम्पर्क गर्नुहोस्‌, तपाईंलाई नजिक पर्ने हाम्रो राज्यभवनको सभामा उपस्थित हुनुहोस्‌ वा तपाईंको घर नजिकै बस्ने यहोवाको साक्षीलाई सोध्नुहोस्‌

a ट्रुथ इन ट्रान्सलेसन पृष्ठ १६५ हेर्नुहोस्‌।

b तर दुष्ट स्वर्गदूतहरूलाई भने परमेश्‍वरले स्वर्गबाट पृथ्वीमा फालिदिनुभएको थियो।—प्रकाश १२:७-९.