सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल

पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल

पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल

विश्‍व परिक्रमा गरिसकेको एउटा अनौठो “काष्ठफल” छ। यसले भोजन र जल दुवै प्रदान गर्छ। यो काष्ठफल फलाउने रूखको अनुपम आकार, उष्ण कटिबन्धीय टापुहरूको चिनारी हो। हामी यहाँ कुन काष्ठफलबारे कुरा गर्दैछौं? नरिवल—पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल हो। a

उष्ण कटिबन्धीय इलाकामा बसोबास नगर्ने मानिसहरूको लागि नरिवलको बोट छुट्टी मनाउन जाने उष्ण कटिबन्धीय इलाकाको प्रतीक मात्र हुन सक्छ। तर उष्ण कटिबन्धीय ठाउँमा बस्नेहरूको लागि त्यसो होइन। इन्डोनेसियालीहरूले यसको फल “विविध कार्यको लागि उपयोगी चीज” हो भन्‍ने गर्छन्‌। फिलिपिन्समा यसो भनिन्छ: “नरिवलको बोट रोप्ने मानिसले आफ्नोलागि भाँडाकुँडा, लत्ताकपडा, भोजन, पेय पदार्थ र बास अनि आफ्नो सन्तानको लागि एउटा सम्पदाको प्रबन्ध गर्छ।”

यो कुनै बढाइचढाइ गरिएको कुरा होइन। कोकोनट—ट्री अफ लाइफ नामक पुस्तकअनुसार नरिवलको बोटले “भोजन, पानी र पकाउनको लागि तेल मात्र नभई छाना छाउनको लागि पात, डोरी र चटाई बनाउने त्यान्द्रो, भाँडाकुँडा र गहनाको रूपमा प्रयोग गर्न सकिने खोल अनि चिनी र मद्य बनाउन मिल्ने गुलियो झोल दिन्छ।” उक्‍त पुस्तक अझ यसो भन्छ: “काठ पनि सही तरिकामा काटिएको छ भने उपयोग गर्न सकिन्छ।” भनौं भने, हिन्द महासागरको माल्दिभ्स टापुका बासिन्दाहरूले नरिवलको बोटबाट डुंगा बनाए अनि भनिन्छ, त्यसैमा चढेर तिनीहरू अरेबिया र फिलिपिन्ससम्म पुगे। तर नरिवल खेती गर्ने व्यक्‍तिहरूभन्दा यो फल नम्बर एक समुद्री यात्रु बन्‍न पुगेको छ।

सामुद्रिक यात्रा गर्ने बीउ

नरिवलको बोट, उष्ण कटिबन्धीय टापुका किनाराहरूमा पर्याप्त वर्षा भएको खण्डमा राम्ररी फस्टाउँछ। स्थानीय बासिन्दाहरूले बहुउपयोगी नरिवलको बोट रोपे तापनि यो फल संसारका एकदमै पृथक इलाकाहरूसम्म पुगेको छ। विभिन्‍न तरिकाद्वारा यसको बीउ छरिन्छ तर नरिवलले समुद्रको पानीलाई काममा लगाएको छ। यसैकारण, यो विश्‍वभरि यात्रा गर्न सफल हुन सकेको हो।

नरिवल पाकेपछि भुइँमा खस्छ। कुनै-कुनै अवस्थामा भने पाकिसकेको फल समुद्री किनाराबाट गुड्‌दै गुड्‌दै पानीमा पुग्छ। अनि उच्च ज्वारभाटाले नरिवललाई समुद्रमा बगाउँछ। यसको रेशादार खोस्टोमा प्रशस्त हावा भरिएको हुने हुँदा पानीमा सजिलै तैरन्छ। प्रशान्त महासागरीय सिपीको टापुमा नरिवल पुग्दा यो पल्लो छेउसम्म मात्र पुग्न सक्छ। तर यो खुला समुद्रमा पुग्यो भने नरिवलले निकै लामो यात्रा गर्न सक्छ।

नुनिलो पानीले प्रायजसो बीउलाई बिगार्छ तर नरिवलको बाक्लो खोस्टोबाट पानी भित्र छिर्न निकै समय लाग्छ। नरिवल समुद्रमा तीन महिनासम्म आरामसित कहिलेकाहीं हजारौं किलोमिटर तैरन सक्छ अनि उपयुक्‍त समुद्रीतट फेला परेपछि अंकुराउँछ। सायद यसरी नै नरिवलले संसारका थुप्रै उष्ण कटिबन्धीय प्रदेशहरूलाई आफ्नो उपनिवेश बनाउन सकेको होला।

उष्ण कटिबन्धीय प्रदेशको स्वाद

उष्ण कटिबन्धीय इलाकाबाहिरका मानिसहरूलाई नरिवल भनेको कुनै मिठाइ वा बिस्कुटलाई स्वादिलो बनाउने फल मात्र जस्तो लाग्न सक्छ। तथापि, तपाईं दक्षिणपूर्वी इलाकातिर जानुभयो भने नरिवल कत्तिको बहुउपयोगी छ भनेर थाह पाउनुहुनेछ। प्यासिफिक एण्ड साउथइस्ट एसियन कुकिङ नामक पुस्तकअनुसार “हवाइ टापुदेखि बैंककसम्मका देश तथा प्रदेशहरूमा पकवानको एउटा अत्यावश्‍यक सामग्री नरिवल हो।” त्यही पुस्तकले बताएअनुसार ती इलाकाका बासिन्दाहरूको लागि “नरिवल, जीवनको आवश्‍यकता हो जसबाट तिनीहरूले अनगिन्ती प्रकारका भोजन तथा पकवानबाट पोषण पाउँछन्‌।”

उष्ण कटिबन्धीय भान्छाघरहरूमा नरिवलले यत्तिको महत्त्व पाउनुको कारण सरल छ: यसले पानी, दूध र पकाउने तेल दिन्छ। काँचो, हरियो काष्ठफलमा हुने सफा, गुलियो झोल पदार्थलाई नरिवल पानी वा नरिवलको सर्बत भनिन्छ। यो अत्यन्तै स्वादिलो तथा स्फूर्तिदायी पेय पदार्थ हो र उष्ण कटिबन्धीय प्रदेशको सडक छेउका पसलहरूमा प्रायः बिक्री गरिन्छ। अर्कोतर्फ, घोटेर मसिनो पारिएको नरिवललाई पानीसित मिसाई झोल निकालेर नरिवल दूध बनाइन्छ। नरिवल दूधले सुरुवा, चटनी र रोटीलाई स्वादिलो तथा बास्नादार बनाउँछ।

नरिवलबाट पकाउने तेल निकाल्न किसानहरूले पाकेको काष्ठफल फोडेर घाममा सुकाउँछन्‌। सुकिसकेपछि नरिवलको गुदी अर्थात्‌ कोप्रालाई खोस्टोबाट छुट्याएर तेल निकाल्न सकिन्छ। उष्ण कटिबन्धीय प्रदेशमा प्रायजसो नरिवल तेलमा नै खाना पकाइन्छ जबकि पश्‍चिमी मुलुकहरूमा यो प्रायजसो मार्जरिन, आइस-क्रिम र बिस्कुटहरूमा प्रयोग गरिन्छ।

नरिवलको कटनी गर्नु सजिलो काम होइन। कटनी गर्न कतिपयले टुप्पामा चक्कू बाँधिएको लामो लट्ठी प्रयोग गर्छन्‌। प्रायजसो, मानिसहरू रूखमा चढेर फल हाँगाबाट छिनाल्छन्‌। इन्डोनेसियामा यो काम गर्न बाँदरहरूलाई तालिम दिइएको छ। सबैभन्दा सजिलो तरिका, फललाई रूखबाट आफै झर्न दिनु हो र धेरैजसोले यही तरिका रुचाउँछन्‌।

जुनसुकै तरिका अपनाएर कटनी गरिएको भए तापनि नरिवलको बहुउपयोगिताले यसलाई पैसा आर्जनको माध्यम बनाउनुका साथै धेरैको निम्ति भोजनको अनमोल स्रोत भएको छ। त्यसकारण अर्को पटक तपाईंले तस्वीरमा वा साँच्चिकै नरिवलको बोट देख्नुहुँदा यो उष्ण कटिबन्धीय प्रदेशलाई सिंगार्ने गहनारूपी रूख मात्र होइन भनेर सम्झनुहोस्‌। तपाईंले पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल फलाउने रूखलाई हेरिरहनुभएको हुनेछ। (g03 3/22)

[फुटनोट]

a कुनै-कुनै मुलुकमा नरिवललाई काष्ठफलको रूपमा नलिइए तापनि थुप्रैले यस फलको बीउलाई काष्ठफल नै मान्छन्‌।

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

नरिवलका रोचक पक्षहरू

नरिवल गंगटो नरिवलको महत्त्व बुझेको प्राणी मानिस मात्र होइन। नरिवल गंगटो जमिनमुनिको प्वालमा दिनभरि बस्छ तर रातभरि नरिवल खान्छ। नरिवल फोड्‌न मानिसहरूलाई तीखो चक्कू चाहिन्छ तर यो सक्षम गंगटोले ढुंगामा बेस्सरी बजारेर नफोरुन्जेल निकै प्रयास गर्छ। मुख्यतया नरिवल भएको भोजन यस प्राणीको लागि उपयुक्‍त देखिन्छ—यो ३० वर्षभन्दा बढी बाँच्न सक्छ!

श्रृंगार सामग्रीमा नरिवल छालाको लागि नरिवलको तेल उपयुक्‍त हुने हुँदा उत्पादकहरूले लिपस्टिक वा घाम छेक्ने क्रिमहरूमा प्रयोग गर्छन्‌। तपाईं निकै फिंज आउने अनि सजिलै जमिनमा मिसिने साबुन वा स्याम्पु चलाउनुहुन्छ भने त्यसको एउटा महत्त्वपूर्ण तत्त्व, नरिवलको तेल हुन सक्छ।

[चित्र]

नरिवलले समुद्री यात्राहरू सजिलै पार गर्न सक्छ

नरिवल गंगटो

नरिवलको बोट

[स्रोत]

Godo-Foto

[पृष्ठ २१-मा भएको चित्रको स्रोत]

Top right inset: Godo-Foto