सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीले आफ्नो छनौट गर्ने स्वतन्त्रता कसरी प्रयोग गर्नुपर्छ?

हामीले आफ्नो छनौट गर्ने स्वतन्त्रता कसरी प्रयोग गर्नुपर्छ?

बाइबलको दृष्टिकोण

हामीले आफ्नो छनौट गर्ने स्वतन्त्रता कसरी प्रयोग गर्नुपर्छ?

प रमेश्‍वरले प्रथम मानवहरू आदम र हव्वालाई आफै निर्णय गर्न सक्ने क्षमता दिनुभएको थियो। उहाँले अदनको बगैंचा हेरचाह गर्ने जिम्मा आदमलाई दिनुभयो। आदमको एउटा काम, सबै जनावरहरूलाई नाउँ दिनु पनि थियो। (उत्पत्ति २:१५, १९) सबैभन्दा महत्त्वपूर्ण कुरा, आदम र हव्वाले परमेश्‍वरको आज्ञा पालन गर्ने वा नगर्ने निर्णय गर्न सक्थे।—उत्पत्ति २:१७, १८.

त्यो समयदेखि मानिसहरूले अरबौं निर्णयहरू गरिसके—तीमध्ये कतिपय असल थिए, कति अनुचित तथा अरू कतिपय पूरै दुष्ट पनि थिए। मानिसले गरेका कुनै-कुनै गलत निर्णयहरूले बित्यासजनक परिणाम निम्त्याएको छ। तैपनि, छनौट गर्ने हाम्रो अधिकारमाथि परमेश्‍वरले कहिल्यै हस्तक्षेप गर्नुभएको छैन। मायालु पिताको हैसियतमा परमेश्‍वरले हामीलाई सही निर्णय गर्न बाइबलमार्फत मदत दिनुहुन्छ। उहाँले हामीलाई खराब छनौटका परिणामबारे पनि चेतावनी दिनुहुन्छ। बाइबलले बताएअनुसार हामी जे रोप्छौं, त्यसैको कटनी गर्नेछौं।—गलाती ६:७.

व्यक्‍तिगत मामिलामा निर्णय

कुनै-कुनै विषयमा परमेश्‍वरले आफ्नो इच्छा स्पष्टसित प्रकट गर्नुभएर उहाँले तोकेरै निर्देशन दिनुभएको छ। तथापि, बाइबलले प्रायजसो विषयमा हाम्रा सबै व्यक्‍तिगत मामिलाहरू समेट्‌ने नियमहरू दिएको छैन। बरु, व्यक्‍तिगत रुचि र इच्छाअनुसार गर्न सक्ने डोऱ्‍याइ प्रदान गर्नुभएको छ। उदाहरणका लागि, यसले मनोरञ्जनबारे के भन्छ, ध्यान दिनुहोस्‌।

धर्मशास्त्रले यहोवालाई “परमधन्य परमेश्‍वर” भन्छ। (१ तिमोथी १:११) उहाँको वचनले “हाँस्ने एउटा समय” र “नाच्ने एउटा समय” छ भनेर बताउँछ। (उपदेशक ३:१, ४) बाइबलले हामीलाई राजा दाऊदले अरूको लागि बाजा बजाएको कुरा बताउँछ। (१ शमूएल १६:१६-१८, २३) येशू एउटा विवाह भोजमा उपस्थित हुनुभयो अनि पानीलाई दाखमद्यमा परिणत गरिदिनुभएर त्यस उत्सवलाई अझ रमाइलो बनाउनुभयो।—यूहन्‍ना २:१-१०.

तथापि, बाइबलको निम्न चेतावनी उपयुक्‍त छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) “ठट्टा” र अनैतिक गतिविधिले परमेश्‍वरको अपमान गर्छ अनि उहाँसित हाम्रो सम्बन्ध बिगार्न सक्छ। (एफिसी ५:३-५) सामाजिक समारोहहरूमा कुनै रोकटोकविना मद्य उपलब्ध गराइँदा गम्भीर समस्याहरू हुन सक्छन्‌। (हितोपदेश २३:२९-३५; यशैया ५:११, १२) यहोवाले हिंसालाई पनि घृणा गर्नुहुन्छ।—भजन ११:५; हितोपदेश ३:३१.

यी बाइबल शास्त्रपदहरूले मनोरञ्जनप्रति परमेश्‍वरको दृष्टिकोण राख्न मदत गर्छ। छनौट गर्दा मसीहीहरूले बाइबलको दृष्टिकोणलाई विचार गर्छन्‌। निस्सन्देह, हामी प्रत्येकले आफ्ना निर्णयहरूको असल वा खराब परिणाम भोग्नेछौं।—गलाती ६:७-१०.

त्यसरी नै, मसीहीहरूलाई पहिरन, विवाह, आमाबाबु बन्‍ने जिम्मेवारी र व्यापारिक कारोबारजस्ता विषयहरूमा बाइबल सिद्धान्तअनुरूपका निर्णयहरू गर्न प्रोत्साहन दिइएको छ। यसमा धर्मशास्त्रमा किटेरै नबताइएका विषयहरू पनि समावेश छन्‌ तर दिइएका सिद्धान्तहरूले अन्तस्करणको आधारमा निर्णयहरू गर्न मदत गर्छ। (रोमी २:१४, १५) मसीहीहरूले गर्ने सबै व्यक्‍तिगत निर्णयहरूमा यहाँ दिइएको स्तर लागू गर्नुपर्छ: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.

यही विषयमा कुरा गर्दा मसीहीहरूले ‘आफ्नो आफ्नो काम गर्ने’ सिद्धान्तलाई विचार गर्नु बेस हुनेछ। (१ थिस्सलोनिकी ४:११) मसीहीहरूले परमेश्‍वरको इच्छासित मेल नखाने थुप्रै विषयहरूमा छनौट गर्नुपर्ने हुन्छ। यसर्थ, एक जना मसीहीको छनौट अर्को मसीहीसित मेल नखान सक्छ। आफ्ना सेवकहरूले एक अर्काको न्याय गर्न थाल्यो भने परमेश्‍वर खुसी हुनुहुन्‍न। (याकूब ४:११, १२) बाइबलले यस्तो बुद्धिमान्‌ सल्लाह दिन्छ: “तिमीहरूमध्ये कसैले पनि . . . अर्काको कुरामा हात हाल्नेले झैं दुःख नभोग।”—१ पत्रुस ४:१५.

परमेश्‍वरको सेवा गर्ने निर्णय

बाइबलले परमेश्‍वरप्रति आज्ञाकारी हुनुका लाभहरू प्रकाश पार्छ। तैपनि, परमेश्‍वरले मानिसहरूलाई उहाँको उपासना गर्न जबरजस्ती गर्नुहुन्‍न। बरु, आफ्ना मानव प्राणीहरूलाई उहाँको उपासक हुने निमन्त्रणा दिनुहुन्छ। उदाहरणका लागि, बाइबल यसो भन्छ: “आओ, दण्डवत्‌ गरौं र निहुरौं। हाम्रा सृष्टिकर्ता, परमप्रभुकै सामु घुँडा टेकौं।”—भजन ९५:६.

पुरातन इस्राएललाई त्यस्तो निमन्त्रणा दिइएको थियो। लगभग ३,५०० वर्षअघि इस्राएल राष्ट्र सीनै पर्वतसामु खडा भएको बेला परमेश्‍वरले ती लाखौं मानिसहरूलाई मोशालाई दिइएको व्यवस्थाले समेट्‌ने साँचो धर्मबारे बताउनुभयो। अब तिनीहरूले एउटा छनौट गर्नुपर्ने भयो: तिनीहरूले परमेश्‍वरको सेवा गर्ने वा नगर्ने? तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? एकै स्वरमा तिनीहरूले यसो भने: “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।” (प्रस्थान २४:७) यहोवाको उपासना गर्ने निर्णय तिनीहरूको आफ्नै थियो।

प्रथम शताब्दीमा येशूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने कार्य थाल्नुभयो। (मत्ती ४:१७; २४:१४) उहाँले यो काममा भाग लिन कसैलाई जबरजस्ती गर्नुभएन। बरु, सबैलाई मायालु ढंगमा यस्तो आग्रह गर्नुभयो: “मेरो पछि लाग।” (मर्कूस २:१४; १०:२१) थुप्रैले उहाँको निमन्त्रणा स्वीकारे अनि उहाँलाई प्रचारकार्यमा साथ दिए। (लूका १०:१-९) केही समयपछि कसै-कसैले येशूलाई छोड्‌ने निर्णय गरे। यहूदाले उहाँलाई धोका दिने निर्णय गऱ्‍यो। (यूहन्‍ना ६:६६; प्रेरित १:२५) पछि, प्रेरितहरूको डोऱ्‍याइमा अरू थुप्रै चेला बने र यो कुनै डरधम्की देखाएर नभई तिनीहरूको आफ्नै स्वेच्छाले भएका थिए। तिनीहरू “नियुक्‍त भएकाहरू” थिए र “विश्‍वास गरे।” (प्रेरित १३:४८; १७:३४) आज पनि साँचो मसीहीहरू स्वेच्छाले परमेश्‍वरको वचन पालन गर्छन्‌ र येशूका शिक्षाहरू पछ्याउँछन्‌।

स्पष्टतः हामीले छनौट गर्ने क्षमता प्रयोग गरेको परमेश्‍वर चाहनुहुन्छ। उहाँले हामीलाई सही निर्णयहरू गर्न चाहिने डोऱ्‍याइ बाइबलमा प्रदान गर्नुभएको छ। (भजन २५:१२) व्यक्‍तिगत निर्णयहरू गर्ने क्षेत्रमा भने प्रत्येक मसीहीले ईश्‍वरप्रदत्त सिद्धान्तहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ। केवल यसो गरेको खण्डमा मात्र हामी आफ्नो तर्कशक्‍ति प्रयोग गरेर परमेश्‍वरलाई ‘पवित्र सेवा’ चढाउन सक्छौं।—रोमी १२:१. (g03 3/8)