सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख | तपाईं ईश्वरको साथी बन्न सक्नुहुन्छ

ईश्वरको नाम थाह पाउनुहोस् र प्रयोग गर्नुहोस्

ईश्वरको नाम थाह पाउनुहोस् र प्रयोग गर्नुहोस्

के तपाईंको यस्तो कोही साथी छ, जसको नाम तपाईंलाई थाहै छैन? सायद छैन होला। त्यसैगरि बुल्गेरियाकी एक महिलाले भनेझैं “ईश्वरको नामै थाह छैन भने उहाँसित घनिष्ठ हुन असम्भव छ।” खुसीको कुरा, यसअघिको लेखमा बताइएझैं तपाईं ईश्वरसित नजिक भएको उहाँ चाहनुहुन्छ। त्यसैले त उहाँले बाइबलमार्फत तपाईंलाई आफ्नो परिचय दिनुभएको छ। बाइबलमा यसो लेखिएको पाउँछौं: ‘यहोवा हाम्रा ईश्वर एक मात्र यहोवा हुनुहुन्छ।’—मर्कूस १२:२९.

बाइबलमार्फत ईश्वरले तपाईंलाई आफ्नो परिचय दिनुभएको छ। बाइबलमा यसो लेखिएको पाउँछौं: ‘यहोवा हाम्रा ईश्वर एक मात्र यहोवा हुनुहुन्छ।’—मर्कूस १२:२९

मानिसहरूले यहोवाको नाम थाह पाऊन्‌ या नपाऊन्‌ अथवा प्रयोग गरून्‌ या नगरून्‌, के त्यसले उहाँलाई फरक पार्छ र? यो कुरा विचार गर्नुहोस्: टेट्राग्रामटन भनेर चिनिने चार वटा हिब्रू अक्षरमा लेखिएको यहोवा नाम मूल हिब्रू धर्मशास्त्रमा झन्डै ७,००० पटक उल्लेख गरिएको पाइन्छ। बाइबलमा यत्ति धेरै पटक उल्लेख गरिएको अरू कुनै नाम छैन। हो, यहोवा हामीले उहाँको नाम थाह पाएको र त्यसलाई प्रयोग गरेको चाहनुहुन्छ। *

एकअर्काको नाम थाह पाउनु मित्रताको पहिलो खुट्किलो हो। के तपाईंलाई ईश्वरको नाम थाह छ?

तर कसै-कसैलाई भने ईश्वर पवित्र अनि सर्वशक्तिमान्‌ हुनुभएकोले उहाँको नाम लिनु भनेको उहाँको अनादर गर्नु हो जस्तो लाग्न सक्छ। हो, जसरी हामी आफ्नो घनिष्ठ साथीको नाम दुरुपयोग गर्दैनौं त्यसरी नै ईश्वरको नाम पनि अनुचित ढङ्गमा लिनु गलत हो। तर यहोवा स्वयम् नै उहाँलाई माया गर्नेहरूले उहाँको नामको आदर गरून्‌ र त्यसबारे अरूलाई बताऊन्‌ भन्ने चाहनुहुन्छ। (भजन ६९:३०, ३१; ९६:२, ८) यो कुरा पनि सम्झनुहोस्, येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभएको थियो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्।” हामीले पनि उहाँको नामबारे अरूलाई बताएर यो नाम पवित्र पार्ने काममा भाग लिन सक्छौं। यसो गर्दा हामी उहाँसित अझ घनिष्ठ हुन्छौं।—मत्ती ६:९.

बाइबलमा ईश्वरले ‘उहाँको नाउँको मान गर्नेहरूलाई’ विशेष ध्यान दिनुहुन्छ भनेर लेखिएको छ। (मलाकी ३:१६, NRV) उहाँको नामको कदर गर्ने मानिसहरूको विषयमा उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसले मेरो पुकार गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु।” (भजन ९१:१४, १५, NRV) यदि हामी यहोवासित घनिष्ठ हुन चाहन्छौं भने उहाँको नाम थाह पाउनु अनि प्रयोग गर्नु अत्यावश्यक छ।

^ अनु. 4 दुःखको कुरा, प्रायः पुरानो नियम भनेर चिनिने हिब्रू धर्मशास्त्रमा ईश्वरको नाम यत्ति धेरै पटक उल्लेख गरिएको भए तापनि थुप्रै बाइबल अनुवादमा भने ईश्वरको नाम पाइँदैन। बरु ईश्वरको नामको ठाउँमा “परमप्रभु” अथवा “प्रभु” जस्ता उपाधि प्रयोग गरिएको पाइन्छ। यस विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ १९५-१९७ हेर्नुहोस्।