सीधै सामग्रीमा जाने

आवरण लेख

के अश्‍लील सामग्री हानिकारक छ?

के अश्‍लील सामग्री हानिकारक छ?

अहिले संसारमा अश्‍लील सामग्री * छ्यासछ्यास्ती पाइन्छ। यो विज्ञापन, फेसन, फिल्म, सङ्‌गीत, पत्रपत्रिका, टिभी कार्यक्रम, भिडियो गेम, स्मार्टफोन, ट्याबलेट र वेबसाइटका साथै अनलाइन फोटो सेरिङ साइटहरूमा पनि सजिलै पाइन्छ। अहिले अश्‍लील सामग्री हेर्नु सामान्य भइसकेको छ। अश्‍लील सामग्री हेर्ने मानिसहरूको सङ्‌ख्या पनि बढ्‌दो छ।— “अश्‍लील सामग्रीबारे केही तथ्य” शीर्षकको पेटी हेर्नुहोस्‌।

अश्‍लील सामग्री परिवर्तन हुँदै गएको छ। प्राध्यापक गेल डिन्स लेख्छिन्‌: “पहिला अत्यन्तै छाडा ठानिने तस्बिरहरूले भरिएका अश्‍लील सामग्री अहिले सामान्य भएको छ।”

अश्‍लील सामग्रीप्रति मानिसहरूको यस्तो धारणा तपाईँलाई कस्तो लाग्छ? तपाईँको विचारमा अश्‍लील सामग्री हानिकारक छ कि छैन? येसुले भन्‍नुभयो: “हरेक असल रूखले असल फल फलाउँछ तर हरेक खराब रूखले बिग्रेको फल फलाउँछ।” (मत्ति ७:१७) अश्‍लील सामग्रीले कस्तो फल फलाउँछ? जवाफ पाउनको लागि अश्‍लील सामग्रीसम्बन्धी केही प्रश्‍न छलफल गरौँ।

अश्‍लील सामग्रीले कुनै व्यक्‍तिलाई कसरी असर गर्छ?

विज्ञहरू के भन्छन्‌? अश्‍लील सामग्री हेर्ने कुलत त्याग्न एकदमै गाह्रो हुने भएकोले अनुसन्धानकर्ताहरू र मनोचिकित्सकहरूले यसलाई लागूपदार्थको दुर्व्यसनसित तुलना गर्छन्‌।

विगतमा इन्टरनेटमा अश्‍लील सामग्री हेर्ने बानी बसेका ब्रायन * भन्छन्‌: “मलाई कुनै पनि कुराले रोक्न सक्दैनथ्यो। म निकै लाचार महसुस गर्थेँ। म थरथर काम्थेँ र टाउको दुख्न थाल्थ्यो। मलाई यो बानी त्याग्न वर्षौँ लाग्यो।”

अश्‍लील सामग्री हेर्ने लत बसेकाहरू अक्सर आफ्नो बानी लुकाउन खोज्छन्‌। तिनीहरू अरूले थाह नपाऊन्‌ भनेर गोप्य रूपमा र चलाखीपूर्ण ढङ्‌गमा अश्‍लील सामग्री हेर्छन्‌। तिनीहरू एक्लोपन, लाज, चिन्ता र निराशा महसुस गर्छन्‌ अनि रिसलाई काबूमा राख्न सक्दैनन्‌। कसै-कसैको मनमा भने आत्महत्या गर्ने सोचाइ समेत आउँछ। विगतमा मोबाइल फोनमा दिनदिनै अश्‍लील सामग्री डाउनलोड गरेर हेर्ने गरेका सर्गे भन्छन्‌: “म आफूबारे मात्र सोच्थेँ र मलाई जहिले पनि अश्‍लील सामग्री हेरूँ-हेरूँ लाग्थ्यो। मलाई आफूलाई कामै नलाग्ने र दोषी ठान्थेँ। म एक्लो महसुस गर्थेँ अनि यसबाट उम्कनै सक्दिनँ जस्तो लाग्थ्यो। मलाई कसैसित मदत माग्न पनि असाध्यै अप्ठेरो लाग्थ्यो।”

अश्‍लील सामग्री झुलुक्क हेर्दा मात्र पनि यसले दिमागमा नराम्रो असर पार्न सक्छ। अश्‍लील सामग्रीका दृश्‍यहरू सजिलै बिर्सन नसकिनेगरि दिमागमा बस्छन्‌ भनेर एक प्रख्यात विशेषज्ञ बताउँछिन्‌। इन्टरनेटमा अश्‍लील सामग्री हेर्न पुगेकी १९ वर्षीया सुजन भन्छिन्‌: “ती दृश्‍यहरू मेरो दिमागमा छापिए। कहिलेकाहीँ अचानक ती दृश्‍यहरू याद आउँछन्‌। ती कुराहरू म कहिल्यै पनि आफ्नो दिमागबाट मेटाउन सक्दिनँ जस्तो लाग्छ।”

मुख्य कुरा: अश्‍लील सामग्री हेर्ने लत लागेकाहरू यसको दास बन्छन्‌ र यसले तिनीहरूमा नराम्रो असर पार्छ।—२ पत्रुस २:१९.

अश्‍लील सामग्रीले परिवारलाई कसरी असर गर्छ?

विज्ञहरू के भन्छन्‌? “अश्‍लील सामग्रीले वैवाहिक र पारिवारिक सम्बन्धलाई बिगार्छ।”—वेन्डी र लेरी मोल्ट्‌सको किताब अश्‍लील सामग्रीको पासो (अङ्‌ग्रेजी)।

अश्‍लील सामग्रीले यसरी परिवारलाई नराम्रो असर गर्छ:

  • विवाहित जोडीबीचको भरोसा, आत्मीयता र प्रेमलाई कमजोर बनाउँछ।—हितोपदेश २:१२-१७.

  • यस्तो कुलत बसेकाहरू स्वार्थी हुन्छन्‌, आफ्नो जोडीबाट भावनात्मक रूपमा टाढिन्छन्‌ र आफ्नो जोडीसित असन्तुष्ट हुन्छन्‌।—एफिसी ५:२८, २९.

  • अस्वाभाविक यौनइच्छालाई बढावा दिन्छ।—२ पत्रुस २:१४.

  • यस्तो कुलत बसेकाहरूमा आफ्नो जोडीलाई आपत्तिजनक तरिकामा यौनसम्बन्ध राख्न दबाब दिने चाहना आउँछ।—एफिसी ५:३, ४.

  • आफ्नो विवाहित जोडीबाहेक अरूसित भावनात्मक रूपमा नजिकिन र अवैध यौनसम्बन्ध राख्न उक्साउँछ।—मत्ति ५:२८.

बाइबलले विवाहितहरूलाई आफ्नो पति वा पत्नीलाई “धोका नदेओ” भन्छ। (मलाकि २:१६) अवैध यौनसम्बन्ध राख्ने पति वा पत्नीले आफ्नो जोडीलाई धोका दिइरहेका हुन्छन्‌। यसले गर्दा तिनीहरू एकअर्काबाट छुट्टिएर बस्नुपर्ने वा सम्बन्धविच्छेद गर्नुपर्ने हुन सक्छ। नतिजास्वरूप छोराछोरीमा नराम्रो असर पर्छ।

अश्‍लील सामग्रीले केटाकेटीमा प्रत्यक्ष रूपमा पनि प्रभाव पार्न सक्छ। यस लेखमा उल्लेख गरिएका ब्रायन भन्छन्‌: “म लगभग १० वर्षको हुँदा लुकामारी खेलिरहेको बेला मैले अश्‍लील तस्बिरहरूले भरिएका बुबाका पत्रिकाहरू भेट्टाएँ। म ती लुकीछिपी हेरिरहने गर्थेँ। मलाई किन त्यस्ता कुराहरू हेरूँ-हेरूँ लाग्थ्यो, मलाई नै थाह थिएन। यो कुलत मैले वयस्क हुँदासम्म पनि त्याग्न सकिनँ।” अध्ययनहरूले देखाएअनुसार अश्‍लील सामग्री हेर्दा किशोरकिशोरीहरू सानै उमेरबाट यौनसम्बन्ध राख्न थाल्छन्‌। साथै तिनीहरू धेरै जनासित यौनसम्बन्ध राख्न, हिंसात्मक तरिकामा यौनसम्बन्ध राख्न अनि भावनात्मक र मानसिक रूपमा अस्थिर हुन पुग्छन्‌।

मुख्य कुरा: अश्‍लील सामग्री विषजस्तै हो। यसले गर्दा पारिवारिक सम्बन्ध बिग्रिन्छ अनि दुःख-पीडा सहनुपर्ने हुन्छ।—हितोपदेश ६:२७.

अश्‍लील सामग्रीबारे बाइबल के भन्छ?

परमेश्‍वको वचन भन्छ: “तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, अनियन्त्रित कामवासना, खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।”—कलस्सी ३:५.

स्पष्टसित भन्‍नुपर्दा यहोवा * परमेश्‍वर अश्‍लील सामग्रीलाई घृणा गर्नुहुन्छ। तर यसको मतलब यहोवा यौनलाई नै गलत ठान्‍नुहुन्छ भन्‍ने होइन। विवाहित जोडीहरू आनन्द हुन, एकअर्कासित भावनात्मक रूपमा नजिक हुन र छोराछोरी जन्माउन सकून्‌ भनेर यहोवाले मानिसलाई यौनसम्बन्ध राख्ने क्षमतासहित सृष्टि गर्नुभयो।—याकुब १:१७.

त्यसोभए हामी किन यहोवा अश्‍लील सामग्रीलाई घृणा गर्नुहुन्छ भन्‍न सक्छौँ? केही कारण विचार गर्नुहोस्‌:

  • अश्‍लील सामग्रीले हाम्रो जीवन बरबाद गर्न सक्छ भनेर उहाँलाई थाह छ।—एफिसी ४:१७-१९.

  • उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र अश्‍लील सामग्रीले गर्दा पुग्ने हानिबाट जोगाउन चाहनुहुन्छ।—यसैया ४८:१७, १८.

  • यहोवा वैवाहिक र पारिवारिक सम्बन्धलाई सुरक्षित राख्न चाहनुहुन्छ।—मत्ति १९:४-६.

  • हामी नैतिक रूपमा स्वच्छ रहेको र अरूको अधिकारप्रति आदर देखाएको उहाँ चाहनुहुन्छ।—१ थिस्सलोनिकी ४:३-६.

  • हामीले आफ्नो प्रजनन शक्‍तिको कदर गरेको र यसलाई मर्यादित ढङ्‌गमा प्रयोग गरेको उहाँ चाहनुहुन्छ।—हिब्रू १३:४.

  • अश्‍लील सामग्रीले यौनप्रति अनुचित, स्वार्थी र सैतानको जस्तै दृष्टिकोण राख्न लगाउँछ भनेर यहोवालाई थाह छ।—उत्पत्ति ६:२; यहुदा ६, ७.

मुख्य कुरा: अश्‍लील सामग्रीले परमेश्‍वरसितको सम्बन्धमा नराम्रो असर पार्छ।—रोमी १:२४.

यहोवा अश्‍लील सामग्रीको कुलत त्याग्न प्रयास गरिरहेका मानिसहरूलाई सहानुभूति देखाउनुहुन्छ। बाइबल भन्छ: “यहोवा कृपालु र दयालु हुनुहुन्छ, उहाँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ। किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्‍नुहुन्छ; हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।” (भजन १०३:८, १४) उहाँ नम्रहरूलाई “चाहिएकै बेला [उहाँबाट] मदत पाउन” अनि “उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न” प्रोत्साहन दिनुहुन्छ।—हिब्रू ४:१६;  “अश्‍लील सामग्री हेर्ने कुलत त्याग्नुहोस्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।

थुप्रैले परमेश्‍वरको मदत स्विकारेका छन्‌। के उहाँको मदत पाएर तिनीहरू सफल भएका छन्‌? खराब बानी त्यागेकाहरूबारे बाइबल भन्छ: “परमेश्‍वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ, पवित्र पार्नुभएको छ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्‍तिद्वारा धर्मी ठहराउनुभएको छ।” (१ कोरिन्थी ६:११) यसमा सफल भएका मानिसहरूले पावलले जस्तै यसो भन्‍न सक्छन्‌: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलिप्पी ४:१३.

अश्‍लील सामग्री हेर्ने कुलत त्याग्न सफल भएकी सुजन भन्छिन्‌: “तपाईँलाई सही बाटोमा लाग्न मदत गर्न सक्ने व्यक्‍ति यहोवा मात्र हुनुहुन्छ। तपाईँले उहाँको मदत र डोऱ्‍याइ खोज्नुभयो भने उहाँसामु सफा अन्तस्करण कायम गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई निराश पार्नुहुनेछैन।”

^ “अश्‍लील सामग्री” भन्‍ने अभिव्यक्‍तिले यौन उत्तेजना जगाउने उद्देश्‍यले तयार पारिएको सामग्रीलाई बुझाउँछ। यसमा दृश्‍य सामग्रीहरूका साथै लेखहरू र श्रव्य रेकर्डिङहरू पनि पर्छन्‌।

^ यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

^ बाइबलअनुसार परमेश्‍वरको नाम यहोवा हो।