रोमी १:१-३२

  • अभिवादन (१-७)

  • रोम जाने पावलको इच्छा (८-१५)

  • धर्मी मानिस विश्‍वासले गर्दा नै जिउनेछ (१६, १७)

  • भक्‍तिहीन मानिसहरूसित कुनै बहाना छैन (१८-३२)

    • परमेश्‍वरका गुणहरू सृष्टिमा देखिन्छ (२०)

 म पावल, जो ख्रिष्ट येसुको दास हुँ, तिमीहरूलाई यो पत्र लेख्दै छु। म प्रेषित* बन्‍न बोलाइएको अनि परमेश्‍वरको सुसमाचार सुनाउन अलग पारिएको मानिस हुँ।+ २  यस सुसमाचारबारे परमेश्‍वरले आफ्ना भविष्यवक्‍ताहरूमार्फत पवित्र धर्मशास्त्रमा पहिल्यै प्रतिज्ञा गर्नुभएको थियो। ३  यो सुसमाचार उहाँको छोराको विषयमा हो, जो दाउदको सन्तानबाट+ मानिसको रूपमा जन्मिनुभयो ४  अनि मृत्युबाट फेरि जीवित भएर+ पवित्र शक्‍तिद्वारा परमेश्‍वरको छोरा कहलाइनुभयो।+ हो, उहाँ नै हाम्रा प्रभु येसु ख्रिष्ट हुनुहुन्छ। ५  सबै जातिले उहाँमाथि विश्‍वास गरेर आज्ञाकारी बनून्‌ र यसरी उहाँको नामको महिमा गरून्‌ भनेर+ उहाँद्वारा नै हामीले असीम अनुग्रह पाउनुका साथै प्रेषितको जिम्मेवारी पनि पायौँ।+ ६  तिमीहरू पनि ती जातिहरूमध्येकै हौ र परमेश्‍वरले तिमीहरूलाई पनि येसु ख्रिष्टका हुन बोलाउनुभएको छ। ७  रोममा बस्ने तिमीहरू सबैलाई म लेख्दै छु, जो परमेश्‍वरका प्रिय छन्‌ र जसलाई पवित्र जन बन्‍न बोलाइएको छ: परमेश्‍वर हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌। ८  सर्वप्रथम तिमीहरू सबैको विषयमा येसु ख्रिष्टमार्फत म आफ्ना परमेश्‍वरलाई धन्यवाद दिन्छु किनकि तिमीहरूको विश्‍वासको विषयमा सारा संसारभरि चर्चा भइरहेको छ। ९  म आफ्नो प्रार्थनामा कति अटुट रूपमा तिमीहरूलाई सधैँ समावेश गर्छु भन्‍ने कुराको साक्षी परमेश्‍वर हुनुहुन्छ, जसको छोराको विषयमा सुसमाचार सुनाएर म उहाँलाई तनमनले पवित्र सेवा चढाउँछु।+ १०  अनि परमेश्‍वरको इच्छा भए म जसरी भए पनि तिमीहरूकहाँ आउन सकूँ भनेर उहाँलाई बिन्ती गर्छु। ११  म तिमीहरूलाई भेट्‌न तीव्र इच्छा गर्दै छु ताकि केही आध्यात्मिक वरदान* दिएर तिमीहरूलाई स्थिर बनाउन सकूँ १२  वा भनौँ मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्‍वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।+ १३  ए भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्‌ भन्‍ने म चाहन्छु कि बाँकी अरू गैर-यहुदीको बीचमा बटुलेजस्तै तिमीहरूको बीचमा पनि केही फल बटुल्न सकूँ भनेर धेरै पल्ट म तिमीहरूकहाँ आउन चाहेको थिएँ तर अहिलेसम्म मलाई रोकिराखिएको छ। १४  ग्रीकहरू र विदेशीहरू* दुवैप्रति अनि बुद्धिमान्‌हरू र निर्बुद्धिहरू दुवैप्रति म ऋणी छु। १५  त्यसैले त्यहाँ रोममा भएका तिमीहरूलाई पनि सुसमाचार सुनाउन म उत्सुक छु।+ १६  सुसमाचार सुनाउन म सर्माउदिनँ+ किनकि वास्तवमा यो विश्‍वास गर्नेहरूजति सबैलाई,+ पहिला यहुदीहरूलाई+ अनि त्यसपछि ग्रीकहरूलाई उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम हो।+ १७  यसै सुसमाचारद्वारा परमेश्‍वरले आफ्नो भलाइ प्रकट गर्नुहुन्छ। अनि जोसित विश्‍वास छ, उसले त्यो देख्छ र त्यसले उसको विश्‍वासलाई अझ बलियो बनाउँछ+ किनकि यस्तो लेखिएको छ: “तर धर्मी मानिस विश्‍वासैले गर्दा जिउनेछ।”+ १८  सत्यलाई गलत तरिकामा दबाइरहेका मानिसहरूको सबै भक्‍तिहीनता र खराबीविरुद्ध+ स्वर्गबाट परमेश्‍वरको क्रोध+ प्रकट भइरहेको छ। १९  परमेश्‍वरबारे जे-जति जान्‍न सकिन्छ, त्यो तिनीहरूसामु छर्लङ्‌गै छ किनकि परमेश्‍वरले तिनीहरूलाई त्यो प्रकट गर्नुभएको छ।+ २०  उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति+ र ईश्‍वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्‌। २१  तिनीहरूले परमेश्‍वरलाई चिनेको भए तापनि उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन्‌ न त उहाँलाई धन्यवाद नै दिए। तर तिनीहरूले व्यर्थको तर्क गरे र तिनीहरूको अबुझ हृदय झन्‌ अँध्यारो भयो।+ २२  आफू बुद्धिमान्‌ भएको दाबी गरे तापनि तिनीहरू मूर्ख भए २३  अनि अविनाशी परमेश्‍वरलाई दिनुपर्ने महिमा नाशवान्‌ मानिस, चराचुरुङ्‌गी, चारखुट्टे जनावर र घस्रने जन्तुहरूको प्रतिमालाई दिए।+ २४  त्यसैले तिनीहरूले आफ्नै शरीरको अनादर गरून्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको हृदयको इच्छाअनुसारै अशुद्धतामा छोडिदिनुभयो। २५  परमेश्‍वरको सत्यलाई विश्‍वास गर्नुको सट्टा तिनीहरूले झूटलाई विश्‍वास गरे अनि सृष्टिकर्तालाई उपासना र पवित्र सेवा चढाउनुको सट्टा सृष्टिको उपासना गरे र त्यसैलाई पवित्र सेवा चढाए। तर सृष्टिकर्ता मात्र सदासर्वदा प्रशंसा पाउन योग्यको हुनुहुन्छ। आमिन। २६  परमेश्‍वरले तिनीहरूलाई पतित कामवासनामै डुबिरहून्‌ भनी छोडिदिनुभयो+ किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक यौनसम्बन्ध राख्न छोडेर अप्राकृतिक सम्बन्ध राखे।+ २७  त्यसैगरि पुरुषहरूले पनि स्त्रीहरूसित प्राकृतिक सम्बन्ध राख्न छोडे बरु एकअर्कासित अर्थात्‌ पुरुषहरूसितै+ कामेच्छाले जलेर निर्लज्ज काम गरे अनि तिनीहरूले आफ्नो कर्तुतको पूरापूर उचित दण्ड पाए।+ २८  तिनीहरूले परमेश्‍वरलाई चिन्‍न* आवश्‍यक ठानेनन्‌। त्यसैले तिनीहरूले अनुचित काम नै गरिरहून्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई त्यस्तो भ्रष्ट मनस्थितिमै छोडिदिनुभयो।+ २९  तिनीहरू हरप्रकारका कुकर्म,+ दुष्टता, लोभ,+ खराबी, ईर्ष्या,+ हत्या,+ कलह, छल+ र द्वेषले भरिए+ अनि तिनीहरू चुक्ली लगाउने, ३०  कुरा काट्‌ने,+ परमेश्‍वरलाई घृणा गर्ने, बेसोमती, अहङ्‌कारी, धक्कु लगाउने, दुष्ट कुरा रचिहिँड्‌ने, आमाबुबाको आज्ञा नमान्‍ने,+ ३१  बेसमझका,+ विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका र निर्दयी भए। ३२  यस्ता काम गर्नेहरू मृत्युको लायक हुन्छन्‌+ भन्‍ने परमेश्‍वरको न्यायोचित उर्दी तिनीहरूलाई राम्ररी थाह छ तैपनि तिनीहरू यस्ता कामहरू गरिरहन्छन्‌ र गर्नेहरूलाई पनि मन्जुरी दिन्छन्‌।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “परमेश्‍वरको तर्फबाट केही वरदान।”
वा “गैर-ग्रीकहरू।”
वा “परमेश्‍वरको सही ज्ञान लिन।”