रोमी १०:१-२१

  • परमेश्‍वरको नजरमा कसरी धर्मी ठहरिने (१-१५)

    • जनसमक्ष घोषणा (१०)

    • यहोवाको नाम पुकार्नेले उद्धार पाउँछ (१३)

    • प्रचारकहरूका सुन्दर खुट्टा (१५)

  • सुसमाचारलाई तिरस्कार गरियो (१६-२१)

१०  भाइहरू हो, इस्राएलीहरूले उद्धार पाऊन्‌ भन्‍ने मेरो मनैदेखिको सदिच्छा छ र म परमेश्‍वरसित पनि यही उत्कट बिन्ती गर्छु।+ २  किनकि तिनीहरूसित परमेश्‍वरको लागि जोस त छ+ तर सही ज्ञानअनुरूप छैन भन्‍ने कुराको म साक्षी छु। ३  किनकि परमेश्‍वरको नजरमा कसरी धर्मी ठहरिने+ भनी थाह नभएकोले तिनीहरूले आफूले आफैलाई धर्मी ठहराउन खोजे।+ त्यसैले धर्मी ठहरिन पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको अधीनमा तिनीहरू बसेनन्‌।+ ४  किनकि विश्‍वास गर्ने हरेक मानिस धर्मी ठहरियोस्‌ भनेर ख्रिष्टमै मोसाको व्यवस्थाको अन्त भयो।+ ५  किनकि व्यवस्थाबमोजिम धर्मी ठहरिने विषयमा मोसा यस्तो लेख्छन्‌: “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+ ६  तर विश्‍वासद्वारा धर्मी ठहरिने विषयमा चाहिँ यस्तो लेखिएको छ: “आफ्नो मनमा यसो नभन,+ ‘को स्वर्ग उक्लनेछ?’+ अर्थात्‌ ख्रिष्टलाई तल ल्याउन को स्वर्ग उक्लनेछ? ७  वा ‘को अगाध खाडलमा ओर्लिनेछ?’+ अर्थात्‌ ख्रिष्टलाई मृत्युबाट उठाउन को अगाध खाडलमा ओर्लिनेछ?” ८  धर्मशास्त्र के भन्छ? “व्यवस्थाको यो सन्देश तिमीहरूको नजिक, तिमीहरूकै मुखमा र तिमीहरूकै हृदयमा छ”;+ त्यो विश्‍वासको “सन्देश” हो, जुन हामी प्रचार गर्दै छौँ। ९  यदि तिमी येसु नै प्रभु हुनुहुन्छ भनेर मुखले जनसमक्ष घोषणा गर्छौ+ अनि परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो भनेर आफ्नो मनमा विश्‍वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। १०  किनकि मनदेखि विश्‍वास गरेर मानिस धर्मी ठहरिन्छ तर त्यो विश्‍वास मुखले जनसमक्ष घोषणा गरेर+ चाहिँ उसले उद्धार पाउँछ। ११  किनकि धर्मशास्त्र भन्छ: “उहाँमाथि विश्‍वास गर्ने कोही पनि निराश हुनेछैन।”+ १२  यहुदी र ग्रीकबीच कुनै भिन्‍नता छैन+ किनकि सबैका प्रभु एकै जना हुनुहुन्छ, जसले उहाँलाई पुकार्नेहरूजति सबैलाई प्रशस्त* आशिष्‌ दिनुहुन्छ। १३  किनकि “हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”+ १४  तथापि जसमाथि तिनीहरूले विश्‍वास राखेकै छैनन्‌, उहाँलाई कसरी पुकार्ने? अनि जसको विषयमा सुनेकै छैनन्‌, उहाँमाथि तिनीहरूले कसरी विश्‍वास राख्ने? अनि प्रचार गर्ने कोही छैन भने तिनीहरूले कसरी सुन्‍ने? १५  अनि कसैले नपठाईकन तिनीहरूले कसरी प्रचार गर्ने?+ जस्तो लेखिएको छ: “असल कुराहरूको सुसमाचार घोषणा गर्नेहरूका खुट्टा कत्ति सुन्दर!”+ १६  यद्यपि तिनीहरू सबैले त सुसमाचार स्विकारेनन्‌। जस्तो यसैया भन्छन्‌: “हे यहोवा,* हाम्रो कुरा* कसले विश्‍वास गर्छ?”+ १७  सन्देश सुनेपछि विश्‍वास पलाउँछ।+ अनि सन्देश तब सुन्‍न पाइन्छ, जब कसैले ख्रिष्टबारे बताउँछ। १८  तर म सोध्छु, के तिनीहरूले सुनेनन्‌? किन नसुन्‍नु, भनौँ भने “सन्देश सुनाउनेहरूको स्वर सारा पृथ्वीभरि गुञ्जियो अनि उनीहरूको सन्देश पृथ्वीको कुनाकाप्चासम्म पुग्यो।”+ १९  यद्यपि म सोध्छु, के इस्राएलले बुझेन?+ पहिला मोसा भन्छन्‌: “जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिमीहरूमा डाह उत्पन्‍न गराउनेछु। एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई असाध्यै रिस उठाउनेछु।”+ २०  तर यसैया निर्धक्क भई यसो भन्छन्‌: “मलाई खोज्दै नखोजेका मानिसहरूले मलाई भेट्टाए;+ मेरो विषयमा सोधपुछ नै नगरेका मानिसहरूसामु म देखा परेँ।”+ २१  तर इस्राएलको विषयमा तिनी भन्छन्‌: “मैले अनाज्ञाकारी र हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ।”+

फुटनोटहरू

वा “उदार भई।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “हाम्रो खबर।”