सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख

स्वार्थी संसारमा विचारशील छोराछोरी

स्वार्थी संसारमा विचारशील छोराछोरी

हरेक दिन मानिसहरूले अरूको भलाइ गर्ने अनेकौं मौका पाउँछन्‌। तर तिनीहरू त्यसको केही वास्ता गर्दैनन्‌, खाली आफ्नैबारे मात्र सोच्छन्‌। वरपर आँखा डुलाएर हेर्नुभयो भने यस्तै कुरा व्याप्त भएको पाउनुहुनेछ। मानिसहरू लाजै पचाएर दिनदहाडै अरूलाई ठग्छन्‌, झोक्किंदै गाडी चलाउँछन्‌, जे पायो त्यही बोल्छन्‌ अनि अन्धाधुन्ध रिस पोखाउँछन्‌।

स्वार्थी मनोवृत्तिले घरभित्रै पनि जरा गाडेको पाउँछौं। उदाहरणका लागि, कोही-कोही श्रीमान्‌-श्रीमती आफ्नो जोडीलाई तुच्छ सम्झेर अझै राम्रो जोडी छान्‍नतिर लाग्छन्‌ र सम्बन्धविच्छेद गर्छन्‌। कोही-कोही आमाबाबुले चाहिं अनजानमै आफ्नो छोराछोरीको मनमा स्वार्थी मनोवृत्तिको बीउ रोपिरहेका हुन्छन्‌। कसरी? तिनीहरू छोराछोरीले जे भन्यो त्यही पुऱ्‍याइदिन्छन्‌ तर चाहिएको अनुशासनचाहिं दिंदैनन्‌।

तर केही आमाबाबुले भने आफ्ना छोराछोरीलाई विचारशील हुन सिकाइरहेका छन्‌ र यसको नतिजा पनि निकै राम्रो भएको छ। विचारशील छोराछोरीले छिट्टै अरूसित मित्रता गाँस्न सक्छन्‌ र दिगो सम्बन्धको आनन्द उठाउन सक्छन्‌। तिनीहरू अरूको तुलनामा बढी सन्तुष्ट पनि हुन्छन्‌। किन? किनभने परमेश्‍वरको प्रेरणामा लेखिएको बाइबल यसो भन्छ: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

तपाईं आमाबाबु हुनुहुन्छ भने कसरी आफ्ना छोराछोरीलाई दयालु हुन र वरपर फैलिएको स्वार्थी मनोभावबाट जोगाउन सक्नुहुन्छ? तपाईंका छोराछोरीलाई स्वार्थी बनाउन सक्ने तीनवटा पासो र त्यसबाट बच्ने तरिकाहरू विचार गरौं।

१ अति प्रशंसा

समस्या। अहिलेका युवाहरूमा एक प्रकारको गलत सोचाइ व्याप्त भएको कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। त्यो के हो भने, जागिर खाने उमेर पुगेका थुप्रै युवाहरू आफूलाई अति नै योग्य सम्झिन्छन्‌। कुनै काम गर्न थोरै मात्र प्रयास गरे पनि वा प्रयासै नगरे पनि सफल हुन्छु भन्ठान्छन्‌। आफूले गरिरहेको काममा दक्षता हासिल गरेको होस्‌ या नहोस्‌, आजको भोलि नै प्रमोसन पाउँछु भनेर सोच्छन्‌। कोही-कोहीचाहिं आफूलाई अति विशेष सम्झन्छन्‌ र अरूलाई भन्दा विशेष व्यवहार गरिएको चाहन्छन्‌। अनि अरूले त्यस्तो व्यवहार नगरिदिंदा खिन्‍न हुन्छन्‌।

समस्याको जड। कुनै मानिसले किन आफूलाई बढ्‌तै महत्त्व दिन्छ भन्‍ने कुरा ऊ कसरी हुर्किएको हो, त्यसमा पनि भर पर्छ। हालैका दशकहरूमा, ‘छोराछोरीको आत्मबल बढाउनुपर्छ’ भन्‍ने धारणा एकदमै लोकप्रिय भएको छ। यो धारणालाई समर्थन गर्नेहरूले सुरुमा यस्तो तर्क गर्ने गर्थे: ‘थोरै प्रशंसा गर्दा त छोराछोरीको आत्मबल बढ्‌छ भने, झन्‌ धेरै प्रशंसा गऱ्‍यो भने कति राम्रो होला?’ यस्तो तर्कले गर्दा यो धारणा जायजै हो जस्तो सुनिन थाल्यो। त्यसकारण यो धारणाले बिस्तारै-बिस्तारै थुप्रै आमाबाबुमा नकारात्मक असर पार्दै गयो। साथै, छोराछोरीको कुरामा अलिकति मात्र असहमति जनाउनु भनेको पनि उनीहरूलाई निरुत्साहित बनाउनु हो भन्‍ने सोचाइ व्याप्त भयो। ‘छोराछोरीको आत्मबल बढाउनुपर्छ’ भन्‍ने लहडको पछि नलाग्ने आमाबाबुलाई मानिसहरूले गैरजिम्मेवार ठान्‍न थाले। छोराछोरीलाई कहिल्यै निकम्मा महसुस गराउनु हुँदैन भनेर आमाबाबुलाई सिकाइयो।

नतिजास्वरूप, छोराछोरीले खासै प्रशंसायोग्य काम नगरेको बेलामा समेत आमाबाबुहरूले उनीहरूमाथि प्रशंसाको ओइरो लगाउन थाले। छोराछोरीले गरेको जतिसुकै सानो कामको लागिसमेत प्रशंसाको ढोल पिट्‌न थाले अनि ठूलठूला गल्तीहरूप्रति भने आँखा चिम्लन थाले। हरेक गल्तीको बेवास्ता गर्नु र हरेक कामको प्रशंसा गर्नु नै आत्मबल बढाउने सबैभन्दा राम्रो तरिका हो भनेर आमाबाबुहरूले विश्‍वास गर्न थाले। आमाबाबुले आफ्ना छोराछोरीलाई तिनीहरूले हासिल गरेका नगण्य उपलब्धिप्रति समेत गमक्क पर्न सिकाउन थाले तर साँच्चिकै गर्व गर्नुपर्ने कुरा के हो, त्यो सिकाउनदेखि भने चुके।

बाइबल के भन्छ? बाइबलले बताएअनुसार चाहिएको बेला प्रशंसा गर्नु राम्रो कुरा हो। (मत्ती २५:१९-२१) तर छोराछोरीलाई खुसी पार्नकै लागि भनेर फोस्रो प्रशंसा गर्दा उनीहरूले आफूलाई बढ्‌तै महत्त्व दिन थाल्छन्‌। बाइबलले भनेको यो कुरा ठीकै हो: “यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने उसले आफैलाई धोका दिइरहेको हुन्छ।” (गलाती ६:३) बाइबलले यसो पनि भन्छ: “बालकलाई अनुशासन गर्न नछोड, त्यसलाई खुब बेंत लगाइस्‌ भने पनि त्यो मरिजाँदैन।” *हितोपदेश २३:१३.

तपाईं के गर्न सक्नुहुन्छ? आवश्‍यक परेको बेला अनुशासन दिने र साँच्चै प्रशंसायोग्य काम गरेको बेला मात्र प्रशंसा गर्ने लक्ष्य राख्नुहोस्‌। छोराछोरीलाई मक्ख पार्नकै लागि प्रशंसा नगर्नुहोस्‌। त्यसो गरेर केही फाइदा छैन। मपाईं पुस्ता (अङ्‌ग्रेजी) किताब यसो भन्छ: ‘अरूले “तिमी महान्‌ छौ” भन्दैमा आत्मबल बढ्‌ने हैन, साँचो आत्मबल त आफूमा भएको क्षमतालाई तिखार्नको लागि मेहनत गर्दा र कुनै नयाँ कुरा सिक्दा प्राप्त हुन्छ।’

‘आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढी नसम्झ तर सन्तुलित विचारले सोच।’—रोमी १२:३, NRV

२ अति सुरक्षा

समस्या। जागिर खाने उमेर पुगेका थुप्रै युवा जीवनमा आइपर्ने बाधा-अडचनको सामना गर्न तयार छैनन्‌ जस्तो देखिन्छ। अरूले आफ्नोबारेमा छिसिक्क केही भनिदियो भने कसै-कसैलाई सहनै गाह्रो पर्छ। कसै-कसैको स्वभावचाहिं, जुनसुकै कामबारे पनि “यो भएन/त्यो भएन” भनेर किचकिच गर्ने खालको हुन्छ। कोहीचाहिं आफूले भनेजस्तो काम पाइयो भने गर्ने, नत्र नगर्ने विचार गर्छन्‌। यसको एउटा ज्वलन्त उदाहरण कहिल्यै अन्त नहुने किशोरावस्थाबाट मुक्‍ति (अङ्‌ग्रेजी) नामको किताबमा पाइन्छ। त्यस किताबमा डा. जोसेफ आलनले एक जना जवान मानिसको अन्तरवार्ता लिंदाको अनुभव बताएका छन्‌। अन्तरवार्ता दिने क्रममा ती जवान मानिसले डा. आलनलाई यसो भने रे: “तपाईंको कुरा सुन्दा त यो काम अलि बोरिङ होला जस्तो छ। बोरिङ कामचाहिं मलाई मन पर्दैन।” ती जवानको बारेमा डा. आलनले पछि यसो भने: “सधैं रमाइलो हुने काम त कहाँ पाइन्छ र? जुनसुकै काम पनि त्यै त हो नि! तेइस वर्ष पुगिसकेको केटालाई त्यति कुरा पनि थाह नहुनु रे, कस्तो अचम्म!”

समस्याको जड। हालैका दशकहरूमा थुप्रै आमाबाबुहरू आफ्ना छोराछोरीले समस्याको “स” पनि भोग्नु नपरोस्‌ भन्‍ने महसुस गर्छन्‌। तपाईंकी छोरी जाँचमा फेल भइन्‌ भने तपाईं के गर्नुहुन्छ? शिक्षककहाँ गएर अङ्‌क बढाइदिनुस्‌ भनेर अनुरोध गर्नुहुन्छ कि? ट्राफिक पुलिसले छोराको लाइसेन्स लियो भने के गर्नुहुन्छ? आफै गएर जरिबाना तिरिदिनुहुन्छ कि? छोरा वा छोरीले कसैसित झगडा गरेर आएमा के गर्नुहुन्छ? दोषजति सबै अर्को व्यक्‍तिलाई थोपर्नुहुन्छ कि?

हुनत आमाबाबुले आफ्ना छोराछोरीलाई सुरक्षा दिनु स्वाभाविकै हो तर अति सुरक्षा दिने गरेमा तिनीहरूको बानी बिग्रन सक्छ। आफूले गरेको कुनै पनि कामको लागि जबाफदेही हुनुपर्दैन भनेर तिनीहरूले सोच्न सक्छन्‌। किशोरकिशोरीका लागि उचित अनुशासन (अङ्‌ग्रेजी) किताब यसो भन्छ: “निराशाजनक परिस्थिति वा दुःखको बाबजुद पनि जीवन जिउन सकिन्छ भनेर सिक्नुको साटो त्यस्ता केटाकेटीहरू अत्यन्तै स्वार्थी हुन पुग्छन्‌ र आमाबाबुले अनि पूरै संसारले तिनीहरूको ठूलै ऋण खाइदिएका छन्‌ जस्तो व्यवहार गर्छन्‌।”

बाइबल के भन्छ? सबैको जीवनमा उतार-चढाव आइपर्छ। बाइबलअनुसार सबै जना “दुर्दशामा फेला पर्छन्‌।” (उपदेशक ९:१२) दुर्दशाको फेला पर्ने यस्ता मानिसहरूमा असल मानिसहरू पनि पर्छन्‌। येशूको अनुयायी बनेका प्रेषित पावलले पनि सेवाको काम गर्दा विभिन्‍न प्रकारका दुःखकष्ट भोगे। तैपनि आफूले भोगेको दुःखकष्टबाट तिनले पाठ सिके! तिनले लेखे: “जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु। . . . पेट टन्‍न हुँदा होस्‌ वा भोकै रहँदा अनि प्रशस्ततामा होस्‌ वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु।”—फिलिप्पी ४:११, १२.

तपाईं के गर्न सक्नुहुन्छ? आफ्ना छोराछोरी कत्तिको परिपक्व भए भन्‍ने कुरालाई विचार गर्दै बाइबलको यो सिद्धान्त पछ्याउने कोसिस गर्नुहोस्‌: “हरेकले आफ्नो भारी आफै बोक्नेछ।” (गलाती ६:५) ट्राफिक पुलिसले छोराको लाइसेन्स लियो भने, उसकै कमाइ वा पकेट-खर्चबाट जरिबाना तिर्न लगाउनुहोस्‌। तपाईंकी छोरी जाँचमा फेल भइन्‌ भने अर्कोपटक अझ मेहनत गर्न तिनलाई सम्झाउनुहोस्‌। तपाईंको छोराको कसैसित झगडा पऱ्‍यो भने उसलाई सम्झाइबुझाइ गर्नुहोस्‌। उसको रिस मरेपछिचाहिं यो कुरा मनन गर्न लगाउनुहोस्‌: ‘कतै मेरो पनि गल्ती थियो कि?’ आफै अघि सरेर समस्या सुल्झाउने छोराछोरीहरू जीवनका चुनौतीहरूको सामना गर्न अझै दृढ हुन्छन्‌ र तिनीहरूको आत्मबल पनि बढ्‌छ। तर समस्या आइपर्दा सधैं अरूले नै जोगाइदिने गऱ्‍यो भने तिनीहरूमा यस्ता गुणहरू विकास हुन पाउँदैन।

‘हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले रमाउने कारण पाउनेछ।’—गलाती ६:४

३ अति सुविधा

समस्या। भर्खरै वयस्क अवस्थामा पाइला टेकेका ठिटाठिटीहरूको एउटा सर्वेक्षणमा ८१ प्रतिशतले आफ्नो जीवनको मुख्य लक्ष्य भनेकै ‘टन्‍न पैसा कमाउनु हो’ भने। तिनीहरू अरूलाई मदत गर्नुभन्दा पैसा कमाउनु नै महत्त्वपूर्ण छ भन्‍ने सोचाइ राख्छन्‌ भनेर यसबाट देखिन्छ। तर पैसाको पछि लाग्दैमा सन्तुष्टि पाइँदैन। अनुसन्धानले के देखाएको छ भने, भौतिक कुराहरूको पछि लाग्ने मानिसहरू अझै बेखुसी अनि निराश हुन्छन्‌। तिनीहरूमा शारीरिक र मानसिक समस्या पनि एकदमै धेरै पाइएको छ।

समस्याको जड। कोही-कोही छोराछोरी भौतिकवादले जकडिएको परिवारमा हुर्कन्छन्‌। अहम्‌ताको महामारी (अङ्‌ग्रेजी) नामक पुस्तक यसो भन्छ: ‘आमाबाबुहरू आफ्ना छोराछोरी खुसी भएको हेर्न चाहन्छन्‌ अनि छोराछोरीहरूचाहिं आमाबाबुबाट नानाकिसिमका चिजबीज चाहन्छन्‌। त्यसैले छोराछोरीको खुसीको लागि तिनीहरूले चाहेको हर चिज किनिदिन आमाबाबु तयार हुन्छन्‌। यसले गर्दा छोराछोरी खुसी त हुन्छन्‌ तर धेरै समयको लागि होइन। तिनीहरू फेरि अर्को नयाँ चिज किनिदिन आमाबाबुलाई किचकिच गर्छन्‌।’

विज्ञापनहरूले भौतिकवादको पछि लाग्ने सकसकीलाई अझै मलजल गर्ने गरेको छ। ‘किनेर त हेर्नुस्‌, अनि चाख्नुहुनेछ जीवनको वास्तविक मज्जा!’, ‘यो संसारकै नम्बर वान्‌ उत्पादन हो, तपाईंकै लागि बनेको!’ विज्ञापनजगत्‌ले फैलाउने यस्ता अफवाहहरूमा थुप्रै युवाले आँखा चिम्लेर विश्‍वास गरेका छन्‌ र ऋणमा चुर्लुम्मै डुबेका छन्‌। फलस्वरूप, “जीवनको मज्जा” चाख्न तिनीहरूले जुन ऋण लिएका थिए, त्यो तिर्नको लागि वर्षौंसम्म हड्डी घोट्‌नुपरेको छ।

बाइबल के भन्छ? पैसा आवश्‍यक छ भन्‍ने कुरा बाइबलले पनि स्वीकारेको छ। (उपदेशक ७:१२, NRV) तर “पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो” भनेर पनि बाइबलले बताएको छ। बाइबल अझै यसो भन्छ: ‘यही प्रेमको पछि लागेर कसै-कसैले आफूलाई थुप्रै पीडाले चोटै-चोट पुऱ्‍याएका छन्‌।’ (१ तिमोथी ६:१०) बाइबलले हामीलाई धनसम्पत्तिको पछि लाग्न होइन तर जीवनका आधारभूत आवश्‍यकताहरूमै सन्तुष्ट हुन सल्लाह दिन्छ।—१ तिमोथी ६:७, ८.

“जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌।”—१ तिमोथी ६:९

तपाईं के गर्न सक्नुहुन्छ? आमाबाबु हो, पैसा र यसबाट प्राप्त गर्न सकिने कुराहरूप्रति तपाईंको दृष्टिकोण कस्तो छ, पहिला त्यो केलाउनुहोस्‌। सही कुरालाई प्राथमिकता दिनुहोस्‌ र छोराछोरीलाई पनि त्यसै गर्न मदत गर्नुहोस्‌। माथि उल्लेख गरिएको अहम्‌ताको महामारी (अङ्‌ग्रेजी) किताब यस्तो सल्लाह दिन्छ: “आमाबाबु र छोराछोरी मिलेर यस्ता प्रश्‍नहरू विचार गर्नु बेस हुन्छ। जस्तै, ‘कुनै सामान सेलमा राखिएको छ भन्दैमा किनिहाल्नु बुद्धिमानी हो र?’ ‘ब्याज भनेको के हो, बुझेका छौ?’ ‘अरूको लहैलहैमा लागेर कुनै सामान किनेका छौ कि?’”

अनेक किसिमको “चिजबीज” किनेर थुपारिदिंदैमा परिवारको समस्या समाधान हुने होइन। सुख-सुविधाको मोल (अङ्‌ग्रेजी) किताब यसो भन्छ: ‘भौतिक सरसामान किनेर समस्यालाई टाल्न खोज्नु भनेको समस्याको वास्तविक समाधान होइन। समस्याको समाधान गर्न विवेकी हुनुपर्छ, सोचविचार गर्नुपर्छ र एकअर्काको भावना बुझ्ने कोसिस गर्नुपर्छ; समस्या आउनेबित्तिकै पर्स बोकेर जुत्ताको फित्ता कस्दैमा त्यसको समाधान हुँदैन।’ (g13-E 01)

^ बाइबलले बालबालिकालाई शारीरिक तथा भावनात्मक दुर्व्यवहार गर्ने कुरालाई प्रश्रय दिंदैन। (एफिसी ४:२९, ३१; ६:४) आमाबाबुले छोराछोरीलाई अनुशासन दिनुको उद्देश्‍य सही कुरा सिकाउनु हो, रिस पोखाउनु होइन।