सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कम्प्लुटेन्सियन पोलिग्लट एउटा ऐतिहासिक अनुवाद सहायक

कम्प्लुटेन्सियन पोलिग्लट एउटा ऐतिहासिक अनुवाद सहायक

कम्प्लुटेन्सियन पोलिग्लट एउटा ऐतिहासिक अनुवाद सहायक

लगभग १४५५ तिर बाइबल प्रकाशनमा एउटा क्रान्ति नै भएको थियो। पहिलो मुद्रित बाइबल उत्पादन गर्न योहानेस गुटेनबर्गले मुभेवल टाइप प्रविधिको मुद्रण छापाखानाको प्रयोग गरे। अन्ततः बाइबल दुई-चारवटा दुर्लभ हस्तलिखित प्रतिहरूमा मात्रै सीमित रहेन। पछि गएर, थोरै खर्चमा नै थुप्रै बाइबलहरू उत्पादन गर्न सकिने भयो। चाँडै नै बाइबल संसारमा सबैभन्दा व्यापक तवरमा वितरित पुस्तक हुने थियो।

गुटेनबर्गको बाइबल ल्याटिन भाषामा थियो। तर केही समयपछि नै युरोपेली शास्त्रविद्‌हरूले मौलिक भाषाहरू—हिब्रू तथा युनानीमा भरपर्दो बाइबलको आवश्‍यकता महसुस गरे। ल्याटिन भल्गेट-का दुइटा मुख्य कमजोरीहरू भए तापनि क्याथोलिक चर्चले यसैलाई एक मात्र स्वीकार्य बाइबल संस्करण ठान्थ्यो। सोह्रौं शताब्दीमा अधिकांश मानिसहरूले ल्याटिन भाषा बुझ्न सक्दैनथे। साथै, हजारौं वर्षको दौडान, भल्गेट-का प्रतिलिपिकहरूले थुप्रै गल्तीहरू गरेका थिए।

अनुवादक तथा विद्वानहरू दुवैलाई मौलिक भाषाको बाइबलका साथै सुधारिएको ल्याटिन अनुवाद चाहिएको थियो। सन्‌ १५०२ मा, स्पेनकी रानी इसाबेल प्रथमका राजनैतिक तथा आध्यात्मिक सल्लाहकार कार्डिनल हिमेनेथ था थिस्नेरोसले एउटै प्रकाशनद्वारा तिनीहरूको आवश्‍यकता पूरा गर्ने निर्णय गरे। यो ऐतिहासिक अनुवाद सहायक कम्प्लुटेन्सियन पोलिग्लटको नाउँले चिनियो। थिस्नेरोसको लक्ष्य हिब्रू, युनानी र ल्याटिनका साथै केही भागहरू अरामीमा पनि भएको सर्वोत्तम पदहरू सहितको एउटा पोलिग्लट वा बहुभाषी बाइबल उत्पादन गर्नु थियो। मुद्रण प्रविधि भर्खरै बामे सर्दै थियो, त्यसैले यो उपलब्धि मुद्रण कलाको लागि पनि एउटा कोसेढुङ्‌गो साबित हुने थियो।

आफ्नो पहाडरूपी कामको सुरुवातमा थिस्नेरोसले स्पेनमा छ्यासछ्यासती पाइने पुरातन हिब्रू पाण्डुलिपिहरू किने। तिनले विभिन्‍न युनानी तथा ल्याटिन पाण्डुलिपिहरू पनि जम्मा गरे। यो नै पोलिग्लट पदको आधार हुने थियो। थिस्नेरोसले यो ग्रन्थ तयार पार्ने काम स्पेनमा भर्खरै स्थापना गरिएको आल्काला था अनारस विश्‍वविद्यालयमा तिनले जम्मा गरेका विद्वानहरूको एउटा समूहलाई सुम्पे। यस काममा सहयोग पुऱ्‍याउनको लागि आग्रह गरिएका विद्वानहरूमध्ये रोटरड्यामका इरेसमस पनि थिए तर यी प्रख्यात भाषाविद्‌ले यो निमन्त्रणा अस्वीकार गरे।

यो पहाडरूपी काम सिध्याउन यी विद्वानहरूलाई दस वर्ष लाग्यो र त्यसपछि छपाइको लागि अरू चार वर्ष लाग्यो। स्पेनी छापाखानामा हिब्रू, युनानी वा अरामी अक्षरहरू नभएकोले थुप्रै प्राविधिक कठिनाइहरू थिए। त्यसैले यी भाषाहरूमा अक्षरहरू तयार पार्न थिस्नेरोसले नामुद मुद्रक आर्नाल्डो गिइर्मो ब्रोकारको सहायता लिए। अन्ततः सन्‌ १५१४ मा छापाखानामा धमाधम बाइबल छाप्न थालियो। कार्डिनलको मृत्यु हुनुभन्दा मात्र चार महिनाअघि जुलाई १०, १५१७ मा छवटा खण्ड तयार भए। यति बेला स्पेनिश इनक्वीजिशन चरमसीमामा पुगिरहेको भए तापनि पूर्ण बाइबलको लगभग छ सय प्रति प्रकाशित गरियो। a

पुस्तकको स्वरूप

पोलिग्लटको हरेक पृष्ठ जानकारीको खानी थियो। हिब्रू धर्मशास्त्रका चारवटा खण्डमा हरेक पृष्ठको बीचमा भल्गेट-का पदहरू थिए; बाहिरपट्टिको हरफमा हिब्रू भाषाका पदहरू थिए अनि भित्रपट्टिको हरफमा युनानी पदहरू तथा ल्याटिन भाषामा गरिएको यसको शाब्दिक अनुवाद थियो। पृष्ठको छेउ-छेउमा थुप्रै हिब्रू अभिव्यक्‍तिहरूका मूल शब्दहरू दिइएका थिए। अनि पेन्टाटुकका हरेक पृष्ठको मुन्तिर सम्पादकहरूले टार्गम अफ अंकलस (बाइबलका प्रथम पाँच पुस्तकको अरामी भाषामा भावानुवाद) तथा यसको ल्याटिन अनुवाद पनि समावेश गरे।

पोलिग्लटको पाँचौं खण्डमा हरेक पृष्ठमा दुई पङ्‌क्‍ति हुने गरी युनानी धर्मशास्त्र थियो। एउटा पङ्‌क्‍ति युनानी भाषामा थियो भने अर्को पङ्‌क्‍तिमा त्यही पद भल्गेट-बाट ल्याटिन भाषामा दिइएको थियो। दुई भाषाका पदहरूबीच सम्बन्ध देखाउन ससाना अक्षरहरू प्रयोग गरिएका थिए जसले पाठकहरूलाई हरेक पङ्‌क्‍तिका समान शब्दहरू कुन-कुन हुन्‌ भनी चिन्‍न मदत गर्थ्यो। युनानी पदहरू भएको पोलिग्लट, युनानी धर्मशास्त्र वा “नयाँ नियम[को]” पहिलो मुद्रित सँगालो थियो र यसको केही समयपछि इरेसमसद्वारा तयार पारिएको संस्करण आयो।

पाँचौं खण्डको शुद्धाशुद्धिमा विद्वान्‌हरूले यति धेरै ध्यान दिए कि जम्मा ५० वटा मात्रै गल्ती देखापऱ्‍यो। यी विद्वान्‌हरूले यति राम्ररी ध्यान दिएको कारण वर्तमान समयका समालोचकहरूले यसलाई इरेसमसको प्रख्यात युनानी अनुवादभन्दा उत्कृष्ट मानेका छन्‌। हेर्दै मन लोभ्याउने युनानी अक्षरहरूले घुमाउरो अक्षरमा लेखिएका पुरातन पाण्डुलिपिहरूको सौन्दर्य झल्काउँथे। आफ्नो पुस्तक द प्रिन्टिङ अफ ग्रीक इन द फिफ्टिन्थ सेन्चुरी-मा (अंग्रेजी) आर. प्राक्टर यसो भन्छन्‌: “पहिलो पल्ट युनानी अक्षर बनाउने श्रेय स्पेनलाई जान्छ र निस्सन्देह त्यति बेलाको सबैभन्दा सुन्दर युनानी अक्षर यही नै थियो।”

पोलिग्लटको छैटौं खण्डमा बाइबल अध्ययनका लागि विभिन्‍न सहायकहरू थिए: हिब्रू र अरामी शब्दकोश, युनानी, हिब्रू र अरामी नाउँहरूको अनुवाद, हिब्रू व्याकरण अनि शब्दकोशको लागि एउटा ल्याटिन सूची। त्यसैले कम्प्लुटेन्सियन पोलिग्लटलाई “मुद्रणकला तथा धर्मशास्त्रीय विज्ञानको स्मारक” भनेर प्रशंसा गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।

आफ्नो पुस्तकले “धर्मशास्त्र अध्ययन गर्ने चासो पुनः जगाउनेछ” भन्‍ने आशा थिस्नेरोसले गरेका भए तापनि तिनको इच्छा सर्वसाधारणलाई बाइबल उपलब्ध गराउनु थिएन। “परमेश्‍वरको वचन साधारण मानिसहरूले बुझ्न नसक्ने गरी होसियारपूर्वक गोप्य राख्नुपर्छ” भन्‍ने तिनको सोचाइ थियो। साथै तिनको विश्‍वासअनुसार “धर्मशास्त्रलाई क्रुसमा टाँगिनुभएको आफ्नो पुत्रको शिरमाथिको पाटीमा परमेश्‍वरले कुँदिन दिनुभएको तीनवटा पुरातन भाषामा मात्र सीमित राख्नुपर्थ्यो।” b यसैकारणले गर्दा, कम्प्लुटेन्सियन पोलिग्लटमा कुनै स्पेनी अनुवाद समावेश गरिएको थिएन।

भल्गेट र मौलिक भाषाहरूबीच तुलना

पोलिग्लटको बनोटले विद्वान्‌हरूबीच केही मतभेद उत्पन्‍न गरायो। पोलिग्लट बाइबलमा समावेश गरिने भल्गेट पदहरू संशोधन गर्ने जिम्मेवारी प्रख्यात स्पेनी विद्वान्‌ एन्टोनियो डे नेब्रिहालाई  c दिइएको थियो। क्याथोलिक चर्चले जेरोमको भल्गेट-लाई एक मात्र आधिकारिक संस्करण ठान्‍ने भए तापनि नेब्रिहाले भल्गेट र मौलिक हिब्रू, अरामी तथा युनानी पदहरूबीच तुलना गर्नुपर्ने आवश्‍यकता देखे। तिनी अस्तित्वमा रहेका भल्गेट-का प्रतिहरूमा घुसेका स्पष्ट गल्तीहरू सच्याउन चाहन्थे।

भल्गेट तथा मौलिक भाषाहरूबीच देखा पर्ने कुनै पनि मतभिन्‍नता सुल्झाउनको लागि नेब्रिहाले थिस्नेरोसलाई यस्तो आग्रह गरे: “हाम्रो धर्मका निभिरहेका दुईवटा ज्योति, हिब्रू तथा युनानी भाषा पुनः एक पटक बाल्नुहोस्‌। आफूलाई यस काममा समर्पित गर्नेहरूलाई पुरस्कृत गर्नुहोस्‌।” अनि तिनले यस्तो सुझाव पनि दिए: “नयाँ करारका ल्याटिन पाण्डुलिपिहरूमा भिन्‍नता देखापर्दा हामीले सधैं यसलाई युनानी पाण्डुलिपिहरूसित तुलना गर्नुपर्छ। पुरानो करारका विभिन्‍न ल्याटिन पाण्डुलिपिहरू वा ल्याटिन तथा युनानी पाण्डुलिपिहरूबीच मतभेद देखापर्दा यथार्थताको लागि हामीले सधैं भरपर्दो हिब्रू स्रोतमा खोज्नुपर्छ।”

थिस्नेरोसले कस्तो प्रतिक्रिया देखाए? पोलिग्लट बाइबलको प्रस्तावनामा थिस्नेरोसले आफ्नो धारणा स्पष्टसित उल्लेख गरे। “रोमन वा ल्याटिन चर्चको प्रतीक येशूलाई दुई जना चोरको बीचमा लट्‌काइएजस्तै, हामीले माननीय जेरोमको ल्याटिन अनुवादलाई सभाघर [हिब्रू पद] तथा पूर्वीय चर्चहरूको [युनानी पदहरू] बीचमा राखेका छौं।” यसैले थिस्नेरोसले ल्याटिन भल्गेट-लाई मौलिक भाषाहरूको पदअनुसार सच्याउन नेब्रिहालाई अनुमति दिएनन्‌। अन्ततः यो त्रुटिपूर्ण संस्करणसित आफ्नो नाउँ जोड्‌नुभन्दा यो परियोजना नै परित्याग गर्ने निर्णय नेब्रिहाले गरे।

कोमा योहानेम

बाइबलको मौलिक भाषामा परिमार्जित पद प्रकाशन गर्ने सन्दर्भमा आल्काला था अनारसको पोलिग्लट बाइबलले एउटा ठूलो फड्‌को मारेको भए तापनि कहिलेकाहीं विद्वताभन्दा परम्पराले नै प्राथमिकता पायो। भल्गेट-को यति धेरै आदर गरिन्थ्यो कि सम्पादकहरूले यसमा गल्ती भेटेको खण्डमा यसलाई सच्याउनुको सट्टा तिनीहरू “नयाँ करार[को]” युनानी पदलाई सच्याएर ल्याटिनको जस्तै बनाउन बाध्य महसुस गर्थे। त्यसका उदाहरणहरूमध्ये एउटा कोमा योहानेम भनेर चिनिने प्रख्यात भ्रामक पद हो। d कुनै पनि प्रारम्भिक युनानी पाण्डुलिपिहरूमा यो वाक्यांश पाइँदैन; प्राप्त प्रमाणअनुसार यो कुरा यूहन्‍नाले आफ्नो पत्र लेखेको निकै शताब्दीपछि थपिएको थियो; न त यो भल्गेट-का पुराना पाण्डुलिपिहरूमै पाइन्छ। त्यसैले यो थपथाप गरिएको कुरालाई इरेसमसले आफ्नो युनानी “नयाँ करार[मा]” हटाए।

शताब्दीयौंदेखि परम्परागत भल्गेट-को एउटा भागको रूपमा रहिआएको पदलाई परिवर्तन गर्न पोलिग्लटका सम्पादकहरू इच्छुक भएनन्‌। त्यसैले तिनीहरूले ल्याटिन भाषामा भएको यो भ्रामक पदलाई जस्ताको तस्तै अनुवाद गरेर युनानी पदमा समावेश गर्ने निर्णय गरे ताकि दुईवटा पङ्‌क्‍तिहरू एक आपसमा मेल खाने थिए।

नयाँ बाइबल अनुवादहरूका लागि एउटा आधार

सेप्टुआजिन्ट सहितको पूर्ण युनानी धर्मशास्त्रको पहिलो मुद्रित संस्करण भएको कारणले गर्दा मात्र कम्प्लुटेन्सियन पोलिग्लट मूल्यवान्‌ भएको होइन। इरेसमसको युनानी भाषाको “नयाँ करार” युनानी धर्मशास्त्रको मान्यता प्राप्त पद (थुप्रै अनुवादकहरूको लागि अरू भाषाहरूमा अनुवाद गर्ने आधार) भएजस्तै पोलिग्लटको हिब्रू पदले हिब्रू-अरामी धर्मशास्त्रको लागि मौलिक पदको प्रबन्ध गऱ्‍यो। e अंग्रेजी भाषामा बाइबल अनुवाद गर्दा विलियम टिन्डेलले आफ्नो अनुवादको आधारको रूपमा यही पोलिग्लट चलाए।

यसैले कम्प्लुटेन्सियन पोलिग्लट उत्पादन गर्ने समूहको विद्वतापूर्ण कार्यले धर्मशास्त्रीय ज्ञानको प्रगतिमा महत्त्वपूर्ण योगदान पुऱ्‍यायो। युरोपभरि बाइबलप्रति बढ्‌दै गरेको चासोले जनसाधारणले बुझ्ने भाषामा बाइबल अनुवाद गर्न प्रेरित गर्न थालेकै समयमा यो प्रकाशित भयो। युनानी तथा हिब्रू पदहरूलाई परिमार्जन गर्न तथा सुरक्षित राख्न योगदान पुऱ्‍याउने सन्दर्भमा पोलिग्लट एउटा थप कदम साबित भयो। यी सबै प्रयत्नहरू ‘परमप्रभुको प्रमाणित वचन,’ अर्थात्‌ ‘हाम्रा परमप्रभुको वचन’ सधैंभरि अटल रहनेछ भन्‍ने ईश्‍वरीय उद्देश्‍य अनुरूप छन्‌।—भजन १८:३०; यशैया ४०:८; १ पत्रुस १:२५.

[फुटनोटहरू]

a छ सय प्रति कागजमा तयार पारिएको थियो र छ प्रति चर्मपत्रमा तयार पारिएको थियो। सन्‌ १९८४ मा सीमित मात्रामा यसका दुरुस्त नक्कल प्रतिहरू छापिएका थिए।

b हिब्रू, ग्रीक अर्थात्‌ युनानी र ल्याटिन।—यूहन्‍ना १९:२०.

c नेब्रिहालाई स्पेनका मानवतावादीहरू (उदार विद्वानहरू) मध्ये अग्रणी मानिन्छ। सन्‌ १४९२ मा तिनले आफ्नो पहिलो पुस्तक ग्रामाटिका कास्टिल्याना (क्यस्टिलियन भाषाको व्याकरण) प्रकाशित गरे। तीन वर्षपछि तिनले आफ्नो बाँकी जीवन पवित्र धर्मशास्त्रहरूको अध्ययनमा बिताउने निधो गरे।

d कुनै-कुनै बाइबल अनुवादहरूमा १ यूहन्‍ना ५:८ मा यस्तो भ्रामक कुरा थपिएको छ: “स्वर्गमा पिता, वचन र पवित्र आत्मा छन्‌ र ती तीन एकै हुन्‌।”

e इरेसमसले गरेका कामहरूको विवरणको लागि द वाचटावर, सेप्टेम्बर १५, १९८२, पृष्ठ ८-११ हेर्नुहोस्‌।

[पृष्ठ २९-मा भएको चित्र]

कार्डिनल हिमेनेथ था थिस्नेरोस

[स्रोत]

Biblioteca Histórica. Universidad Complutense de Madrid

[पृष्ठ ३०-मा भएको चित्र]

एन्टोनियो डे नेब्रिहा

[स्रोत]

Biblioteca Histórica. Universidad Complutense de Madrid

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Biblioteca Histórica. Universidad Complutense de Madrid