सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री

रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री

रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री

मानिलिनुहोस्‌, तपाईंले आफ्नो छोराको लागि बुहारी आफै रोज्न सक्नुहुन्छ। तपाईं कस्तो व्यक्‍ति रोज्नुहुन्छ? उनीसित कस्ता योग्यताहरू हुनुपर्छ? के तपाईं सुन्दरी, बुद्धिमान्‌, दयालु र परिश्रमी व्यक्‍ति खोज्नुहुन्छ? वा तपाईं सबैभन्दा पहिला अरू नै कुरालाई ध्यान दिनुहुन्छ?

अब्राहाम यस्तै सङ्‌कटमा परेका थिए। यहोवाले तिनको छोरा इसहाकमार्फत तिनको सन्तान आशीर्वादी हुनेछन्‌ भनी प्रतिज्ञा गर्नुभएको थियो। हामीले विवरण हेर्दै जाने हो भने, अब्राहामको उमेर ढल्किसकेको छ तर तिनको छोराको अझै विवाह भएको छैन। (उत्पत्ति १२:१-३, ७; १७:१९; २२:१७, १८; २४:१) इसहाकले अझै भेट्टाउन बाँकी पत्नी र तिनीहरूबाट हुने सन्तानसँगै आशिष्‌ पाउने भएकोले अब्राहामले इसहाकको लागि सुहाउँदो पत्नी भेट्टाउने प्रबन्ध मिलाउँछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनी यहोवाको सेवक हुनै पर्छ। अब्राहाम बसोबास गर्ने कनानमा त्यस्तो कोही स्त्री भेट्‌टाउन नसकिने भएकोले तिनले अन्त कतै हेर्नुपर्छ। अन्ततः रिबेका छानिन्छिन्‌। उनलाई कसरी भेट्टाइन्छ? के उनी आध्यात्मिक व्यक्‍ति हुन्‌? उनको उदाहरणलाई विचार गर्दा हामी के सिक्न सक्छौं?

योग्य स्त्रीको खोजी

अब्राहामले आफ्नो सबैभन्दा पुरानो नोकर सम्भवतः एलीएजरलाई टाढा मेसोपोटामियामा अब्राहामका कुटुम्ब, यहोवाका सँगी उपासकहरूमध्येबाट इसहाकको लागि पत्नी रोज्न पठाउँछन्‌। यो कुरा अत्यन्तै गम्भीर भएको कारण एलीएजरलाई इसहाकको लागि कनानी केटी पत्नीको रूपमा रोज्नेछैनन्‌ भनी शपथ खान लगाइन्छ। यस सन्दर्भमा अब्राहामले गरेको कर उल्लेखनीय छ।—उत्पत्ति २४:२-१०.

अब्राहामका कुटुम्बहरूको सहरसम्म यात्रा गरेपछि एलीएजरले आफ्ना दसवटा उँट इनारमा ल्याउँछन्‌। यो दृश्‍यलाई कल्पना गर्नुहोस्‌! साँझ परिसकेको छ र एलीएजर यसरी प्रार्थना गर्छन्‌: “हेर्नुहोस्‌, म यो इनारनेर उभिरहेको छु, औ शहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्‌। यसैले यसो होस्‌, जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनूँला, र जसले मलाई ‘खानुहोस्‌, म तपाईका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्‌, तिनलाईनै तपाईंले आफ्नो दास इसहाकको निम्ति रोज्नुभएको रहेछ।”—उत्पत्ति २४:११-१४.

सबै स्थानीय केटीहरूलाई थाह भएकै कुरा हो, तिर्खाएको उँटले धेरै पानी (१०० लिटरसम्म) पिउन सक्छ। त्यसकारण दसवटा उँटलाई पानी खुवाउन राजी हुने केटी निकै खट्‌न पनि तयार हुनुपर्थ्यो। अरूहरू चाहिं केही मदत नगरी दर्शक मात्र हुने र उनी आफैले सबै गर्दा पक्कै पनि उनको शक्‍ति, धीरज, नम्रता र मानिस अनि पशुप्रति उनको दयाको प्रमाण दिने थियो।

अब के हुन्छ? “त्यसले यो भनिसकेको पनि थिएन, अब्राहामको भाइ नाहोरकी स्वास्नी मिल्काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्‌। कन्या हेर्नमा अत्यन्त सुन्दरी . . . थिइन्‌। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्लेर आइन्‌। तब त्यो दास तिनलाई भेट गर्न दगुऱ्‍यो र भन्यो, ‘कृपागरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।’ तिनले पनि ‘हुजूर, खानुहोस्‌’ भनेर तुरुन्तै गाग्रो उतारी, र आफ्नो हातमा गाग्रो राखेर तिनलाई पानी खुवाइदिइन्‌।”—उत्पत्ति २४:१५-१८.

के रिबेका योग्य छिन्‌?

रिबेका अब्राहामको नातिनी भतिजी हुन्‌ र उनी सुन्दरी हुनुका साथै सद्‌गुणी पनि छिन्‌। उनी बिरानो व्यक्‍तिसित कुरा गर्न हिचकिचाउँदिनन्‌ नता बढ्‌तै मित्रैलो हुन्छिन्‌। एलीएजरले पानी माग्दा उनले दिन्छिन्‌। उनीबाट यस्तो आशा गर्न सकिन्थ्यो किनभने त्यो सामान्य आतिथ्यको चिह्न थियो। तर के रिबेकाले एलीएजरले प्रार्थनामा मागेको दोस्रो कुरा पनि पूरा गर्ने थिइन्‌?

रिबेका यसो भन्छिन्‌: “हुजूर, खानुहोस्‌।” तर कुरा त्यहीं टुङ्‌गिदैन। रिबेका अझ यसो भन्छिन्‌: “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकूञ्जेल म पानी उघाएर दिनेछु।” उनीबाट सामान्यतया आशा गरिनेभन्दा बढी गर्न उनी तयार हुन्छिन्‌। खुसीसाथ ‘गाग्रोको पानी डूँड़मा खन्याएर फेरि पानी उघाउन उनी इनारतिर कुदेर गइन्‌। तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइरहिन्‌।’ उनी अत्यन्तै व्यस्त छिन्‌। ‘त्यो मानिसले चाहिं डिठ लाएर तिनलाई हेरिरह्‍यो’ भनी विवरणले बताउँछ।—उत्पत्ति २४:१९-२१.

ती युवती अब्राहामको नाता पर्छिन्‌ भनी थाह पाएपछि एलीएजर शिर निहुराएर भक्‍तिसाथ यहोवालाई धन्यवाद चढाउँछन्‌। तिनले उनको पिताको घरमा तिनी र तिनीसँग आएका अरूको लागि रात काट्‌न कोठा छ कि छैन भनेर सोध्छन्‌। रिबेकाले छ भन्‍ने जवाफ दिन्छिन्‌ र पाहुनाहरूको खबर सुनाउन दगुर्दै घरमा जान्छिन्‌।—उत्पत्ति २४:२२-२८.

एलीएजरको कुरा सुनेपछि रिबेकाका दाइ लाबान र बुबा बतूएलले यी सबैको पछाडि यहोवाको डोऱ्‍याइ छ भनेर बुझ्छन्‌। साँच्चै, रिबेका इसहाकको लागि नियुक्‍त भएकी हुन्‌। तिनीहरू यसो भन्छन्‌, “त्यसलाई लिएर जाऊ, र परमप्रभुले भन्‍नुभए जस्तैगरी त्यो तिम्रा मालिकका छोराको पत्नी होस्‌।” रिबेकाले कस्तो महसुस गर्छिन्‌? उनी तुरुन्तै जान तयार छन्‌ कि छैनन्‌ भनी सोध्दा तिनले एउटै हिब्रू शब्दमा यस्तो जवाफ दिन्छिन्‌: “म जान्छु।” यो प्रस्ताव स्वीकार्न उनलाई कुनै करकाप थिएन। “त्यो केटी[ले] . . . आउन इच्छा गरीन भने” एलीएजरलाई यो शपथ लाग्नेछैन भनेर अब्राहामले स्पष्ट पारेका थिए। तर रिबेकाले पनि यसमा परमेश्‍वरको डोऱ्‍याइ देख्छिन्‌। त्यसैले उनले ढिलासुस्ती नगरी आफ्नो आमाबाबुको घर छोडेर आफूले कहिल्यै नभटेको मानिससँग विवाह गर्न अग्रसर हुन्छिन्‌। त्यस्तो साहसिक निर्णयले विश्‍वासको उल्लेखनीय प्रमाण दिन्छ। उनी पक्कै पनि सही छनौट हुन्‌।—उत्पत्ति २४:२९-५९.

इसहाकलाई भेट्‌दा उनले अधीनताको प्रमाण स्वरूप घुम्टो हाल्छिन्‌। इसहाकले उनलाई आफ्नी पत्नीको रूपमा स्वीकार्छन्‌ र निस्सन्देह, उनका अत्यन्तै असल गुणहरूको कारण तिनको उनीसँग मायाप्रिती बस्छ।—उत्पत्ति २४:६२-६७.

जुम्ल्याहा छोराहरू

रिबेका विवाह गरेको झन्डै १९ वर्षसम्म निस्सन्तान हुन्छिन्‌। अन्ततः उनको पेटमा जुम्ल्याहाको गर्भ रहन्छ तर गर्भावस्थामा धेरै गाह्रो हुन्छ किनभने गर्भमा बालकहरू लडन्त गर्न लाग्छन्‌ जसको कारण रिबेकाले परमेश्‍वरलाई पुकार्नुपर्छ। हामीले पनि जीवनमा अत्यन्तै कष्ट आइपर्दा त्यस्तो गरौंला। यहोवाले रिबेकाको पुकार सुन्‍नुहुन्छ र उनलाई आश्‍वासन दिनुहुन्छ। उनी दुई जातिहरूकी आमा हुनेछिन्‌ र “जेठाले कान्छाको सेवा गर्नेछ।”—उत्पत्ति २५:२०-२६.

रिबेकाले आफ्नो कान्छो छोरा याकूबलाई बढी माया गर्नुको कारण त्यो मात्र नहुन सक्छ। केटाहरू फरक-फरक स्वभावका छन्‌। याकूब “शान्त स्वभावका” छन्‌ तर एसावको आध्यात्मिक कुराहरूप्रति पटक्कै झुकाव छैन, यसैले तिनले एक छाकको लागि आफ्नो ज्येष्ठ अधिकार अर्थात्‌ परमेश्‍वरका प्रतिज्ञाहरू पाउने अधिकार याकूबलाई बेच्छन्‌। एसावले दुई हित्ती स्त्रीहरूसित विवाह गरेर आध्यात्मिक कुराहरूप्रति बेवास्ता र अनादर समेत देखाउँछन्‌ जसले गर्दा तिनका आमाबाबु असाध्यै दुःखी हुन्छन्‌।—उत्पत्ति २५:२७-३४; २६:३४, ३५.

याकूबको लागि आशिष्‌ प्राप्त गर्नु

एसावले याकूबको सेवा गर्नुपर्छ भन्‍ने कुरा इसहाकलाई थाह छ कि छैन, बाइबलले केही पनि बताउँदैन। जेहोस्‌, रिबेका र याकूबलाई आशिष्‌ तिनले नै पाउनेछन्‌ भनेर थाह थियो। एसावले सिकारबाट ल्याएको मासु आफ्नो पितालाई लैजान लाग्दा इसहाकले एसावलाई आशिष्‌ दिने कुरा थाह पाएपछि रिबेकाले तुरुन्तै कदम चाल्छिन्‌। उनले युवावस्थामा देखाएको निर्णायकपन र जोस अझै यथावत्‌ थियो। दुइटा पाठा ल्याएर ‘मैले भनेबमोजिम’ गर्नू भनी उनले याकूबलाई आज्ञा गर्छिन्‌। त्यसपछि याकूबले आशिष्‌ पाउन एसाव जस्तै भएर जानुपर्ने थियो। याकूबले विरोध गर्छन्‌। तिनको पिताले यस्तो चाल चलेको थाह पाइहाल्छन्‌ र तिनलाई सराप दिनेछन्‌! रिबेकाले जिद्दी गर्छिन्‌। “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथिनै परोस्‌” भनी उनले भन्छिन्‌। त्यसपछि उनले खाना तयार पार्छिन्‌, याकूबलाई एसाव जस्तै बनाउँछिन्‌ र आफ्नो पतिकहाँ पठाउँछिन्‌।—उत्पत्ति २७:१-१७.

रिबेकाले यस्तो कदम चाल्नुको कारण बताइएको छैन। थुप्रैले उनको कदमको भर्त्सना गर्छन्‌ तर न बाइबलले न त इसहाकले याकूबले आशिष्‌ पाएको कुरा थाह पाएपछि विरोध जनाए। बरु, इसहाकले अझ थप आशिष्‌ दिन्छन्‌। (उत्पत्ति २७:२९; २८:३, ४) यहोवाले आफ्ना छोराहरूबारे गर्नुभएको भविष्यवाणी रिबेकालाई थाह थियो। त्यसैले जुन आशिष्‌ याकूबको थियो, त्यो उसैले पाओस्‌ भनेर पक्का गर्छिन्‌। यो निश्‍चय पनि यहोवाको इच्छा अनुरूप छ।—रोमी ९:६-१३.

याकूबलाई हारान पठाइन्छ

अब रिबेकाले याकूबलाई तिनको दाइको रिस शान्त नभएसम्म भाग्न लगाएर एसावको योजनालाई विफल बनाइदिन्छिन्‌। याकूबलाई पठाउनुअघि उनले इसहाकको अनुमति माग्छिन्‌ तर एसावको रिसबारे उल्लेख नगरी कुरा राम्ररी बताउँछिन्‌। बरु, याकूबले कनानीहरूसँग बिहे गऱ्‍यो भने के होला भनी कौशलतापूर्वक आफ्नो पतिलाई चिन्ता व्यक्‍त गर्छिन्‌। याकूबलाई त्यस्तो विवाह गर्न नदिई तिनको लागि ईश्‍वरभीरु पत्नी भेट्टाउन रिबेकाको माइतीघरतिर पठाउन त्यो कुरा उल्लेख गर्नु मात्र पर्याप्त छ। याकूबले फेरि रिबेकालाई भेट्‌छन्‌ कि भेट्‌दैनन्‌ कुनै रेकर्ड छैन तर उनको कार्य भावी इस्राएल राष्ट्रको लागि ठूलो आशिष्‌ साबित हुन्छ।—उत्पत्ति २७:४३–२८:२.

हामीलाई रिबेकाबारे जे जति थाह छ, त्यसले हामीलाई उनको सराहना गर्न उत्प्रेरित गर्छ। उनी असाध्यै सुन्दरी थिइन्‌ तर उनको खास सुन्दरता भनेको उनको ईश्‍वरीय भक्‍ति थियो। अनि यही कुरा नै अब्राहामले आफ्नो बुहारीमा खोजेका थिए। सम्भवतः उनका अन्य असल गुणहरू अब्राहामले आशा गरेभन्दा धेरै थियो। ईश्‍वरीय डोऱ्‍याइ पालन गर्न उनको विश्‍वास र साहस अनि उनको जोस, विनम्रता र उदार आतिथ्य जस्ता गुणहरू सबै मसीही स्त्रीहरूले अनुकरण गर्नुपर्ने गुणहरू हुन्‌। साँच्चै उदाहरणीय स्त्रीहरूमा यहोवाले हेर्नुहुने गुणहरू पनि यिनै हुन्‌।