सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेक्सिकोको अंग्रेजी बोल्ने क्षेत्रमा अनौपचारिक साक्षी दिंदै

मेक्सिकोको अंग्रेजी बोल्ने क्षेत्रमा अनौपचारिक साक्षी दिंदै

मेक्सिकोको अंग्रेजी बोल्ने क्षेत्रमा अनौपचारिक साक्षी दिंदै

आफ्ना परिभ्रमण सहयात्रीहरूलाई एथेन्समा पर्खंदै गर्दाको समयको सदुपयोग गर्दै प्रेरित पावल अनौपचारिक साक्षीकार्यमा सहभागी भए। बाइबल यस्तो रिपोर्ट दिन्छ: “तिनले . . . बजारमा तिनीसँग भेट गर्ने जतिसँग दिनहुँ बहस गर्थे।” (प्रेरित १७:१७) यहूदियादेखि गालीलसम्मको यात्रामा येशूले इनारको छेउमा एउटी सामरी स्त्रीलाई अनौपचारिक साक्षी दिनुभयो। (यूहन्‍ना ४:३-२६) के तपाईं परमेश्‍वरको राज्यको सन्देश बताउने हरेक मौकाको फाइदा उठाउनुहुन्छ?

मेक्सिकोको अंग्रेजी बोल्ने क्षेत्र खास गरी अनौपचारिक साक्षी दिनको लागि उपयुक्‍त छ। पर्यटकहरू यहाँका रिसोर्टहरूमा आउँछन्‌, विश्‍वविद्यालयका विद्यार्थीहरू आउँछन्‌-जान्छन्‌ अनि मेक्सिकोमा आफ्नो अवकाशप्राप्त जीवन बिताउने विदेशीहरू पार्क तथा रेस्टुराँहरूमा आउने गर्छन्‌। अंग्रेजी भाषा जान्‍ने यहोवाका थुप्रै साक्षीहरू यस्ता व्यक्‍तिहरूसित कुराकानी थाल्न खप्पिस भएका छन्‌। वास्तवमा, तिनीहरू विदेशी जस्तो वा अंग्रेजी बोल्ला-बोल्ला जस्तो देखिने जोसुकैसित कुरा गर्न सजग छन्‌। आउनुहोस्‌, तिनीहरूले त्यो कसरी गर्छन्‌, हेरौं।

विदेशबाट आएर यो अंग्रेजी क्षेत्रमा सेवा गरिरहेकाहरूले विदेशी भनेर स्पष्टै चिनिने व्यक्‍तिलाई आफ्नो परिचय दिन्छन्‌ र तिनीहरू कहाँबाट आएका हुन्‌ भनेर सोध्छन्‌। यसो गर्दा स्वतः ती साक्षी मेक्सिकोमा के गर्दैछन्‌ भन्‍ने प्रश्‍न उठ्‌छ अनि तिनले आफ्नो मसीही विश्‍वासबारे अरूलाई बताउने मौका पाउँछन्‌। उदाहरणका लागि, आवश्‍यकता बढी भएको ठाउँ अर्थात्‌ वोक्सकाको अंग्रेजी क्षेत्रमा सेवा गरिरहेकी ग्लोरियालाई विशेष गरी त्यसरी कुराकानी थाल्न सजिलो लाग्छ। बजारमा अनौपचारिक प्रचारकार्य गरेर फर्कंदा ग्लोरियासँग इंग्ल्याण्डबाट आएका एउटा दम्पती कुरा गर्न आए। ती स्त्रीले छक्क पर्दै यसो भनिन्‌: “वोक्सकामा एउटी अश्‍वेत महिला हिंडिरहेको दृश्‍य त ओहो! कस्तो पत्याउनै गाह्रो!” यसो भनेकोमा अपमानित महसुस गर्नुको साटो ग्लोरिया हाँसिन्‌ अनि तिनी मेक्सिकोमा हुनुको कारण बताउन थालिन्‌। ती स्त्रीले ग्लोरियालाई कफी पिउनको लागि आफ्नो घरमा बोलाइन्‌। फेरि भेट्‌ने समय मिलाएपछि ग्लोरियाले प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिका दिइन्‌ तर ती स्त्रीले आफू नास्तिक भएको बताउँदै अस्वीकार गरिन्‌। ग्लोरियाले आफूलाई नास्तिकहरूसित कुरा गर्न रमाइलो लाग्ने कुरा बताइन्‌ अनि “उपासनास्थल—के हामीलाई त्यसको आवश्‍यकता छ?” भन्‍ने लेखबारे उनको धारणा सोधिन्‌। ती स्त्रीले पत्रिका स्वीकार्दै यसो भनिन्‌: “यदि तपाईंले मलाई चित्त बुझाउन सक्नुभयो भने तपाईंले साँच्चै ठूलो उपलब्धि हासिल गर्नुभएको हुनेछ।” कफी खाँदै थुप्रै रोचक कुराकानीहरू भए। ती दम्पती पछि इंग्ल्याण्ड फर्के तर ईमेलद्वारा छलफल कायमै रह्‍यो।

ग्लोरियाले वासिङ्‌टन डी.सी.-बाट आएकी विद्यार्थी सारोनसित पनि कुराकानी थालिन्‌। उनी वोक्सकामा त्यहाँका रैथाने महिलाहरूसित स्वयम्‌सेवा गरेर आफ्नो स्नातकोत्तरको पढाइ पूरा गर्दै थिइन्‌। सारोनका प्रयासहरूको तारिफ गरेपछि ग्लोरियाले आफू मेक्सिकोमा बस्नुको कारण बताइन्‌। यसले गर्दा बाइबलको बारेमा अनि परमेश्‍वरले गरिबको लागि मात्र होइन तर सबैको लागि के गर्नुहुनेछ भन्‍ने विषयमा राम्रो छलफल भयो। सारोनले आफू संयुक्‍त राज्य अमेरिकामा छँदा एक चोटि पनि साक्षीहरूसित कुरा गर्ने मौका नपाएकी तर मेक्सिकोमा भेटेको पहिलो व्यक्‍तिहरूमध्ये एक जना चाहिं यहोवाका साक्षी हुनु कस्तो अनौठो हो भन्‍ने टिप्पणी गरिन्‌! सारोनले बाइबल अध्ययन स्वीकारिन्‌ अनि तुरुन्तै मसीही सभाहरू धाउन थालिन्‌।

थुप्रै विदेशीहरू एक प्रकारको प्रमोदवनको खोजीमा मेक्सिकोका समुद्री किनाराका रिसोर्टहरूमा बसाइँ सरेका छन्‌। यस्तो प्रमोदवनको चाहलाई नै लरेलले आकापुल्कोमा कुराकानी सुरु गर्न प्रयोग गर्छिन्‌। उनीहरू आएको ठाउँभन्दा आकापुल्को प्रमोदवनजस्तै छ भनी सोध्नुका साथै उनीहरूलाई यहाँको कुन कुरा मन पऱ्‍यो भनेर सोध्छिन्‌। त्यसपछि अब चाँडै सारा पृथ्वी प्रमोदवन हुनेछ भनेर तिनी बताउँछिन्‌। तिनले पशु-चिकित्सालयमा भेटेकी एउटी क्यानेडियाली महिलासित यसरी नै कुराकानी थाल्दा बाइबल अध्ययन स्थापना भयो। के तपाईं बस्नुहुने इलाकामा पनि यस्तै किसिमको प्रस्तुति प्रभावकारी हुन सक्ला?

‘सडक तथा चोकहरूमा’

सडक तथा चोकहरूमा यस्तो प्रश्‍न सोधेर अक्सर कुराकानी सुरु हुन्छ: “के तपाईं अंग्रेजी बोल्नुहुन्छ?” प्रायजसो मेक्सिकालीहरू पेसाले गर्दा वा संयुक्‍त राज्य अमेरिकामा बसेको हुँदा अंग्रेजी बोल्छन्‌।

नर्सको सहायता लिंदै ह्वीलचेयरमा गइरहेकी वृद्धासित एक साक्षी दम्पतीले कुरा गरे। तिनीहरूले उनी अंग्रेजी बोल्छिन्‌ कि भनेर सोधे। उनले बोल्छु भन्‍ने जवाफ दिइन्‌ किनभने उनी संयुक्‍त राज्य अमेरिकामा निकै वर्ष बसेकी थिइन्‌। उनले प्रहरीधरहराब्यूँझनुहोस्‌! स्वीकारिन्‌ जुन पहिला कहिल्यै पढेकी थिइनन्‌ र आफ्नो नाउँ कन्स्वेलो हो भनेर बताउनुका साथै ठेगाना पनि दिइन्‌। चार दिनपछि उनलाई भेट्‌न जाँदा तिनीहरूले यो त क्याथोलिक ननहरूले चलाइरहेको नर्सिङ होम पो रहेछ भनेर थाह पाए। सुरुमा कन्स्वेलोलाई भेट्‌न गाह्रो भयो किनभने ती ननहरूले ती साक्षी दम्पतीलाई शङ्‌कालु दृष्टिकोणले हेरे अनि कन्स्वेलोले भेट्‌न सक्दिनन्‌ भनेर बताए। यी दम्पतीले आफूहरू यहाँ आएको अनि कन्स्वेलोलाई अभिवादन गर्न चाहेको कुरा उनलाई बताइदिन आग्रह गरे। कन्स्वेलोले तिनीहरूलाई तुरुन्तै भित्र बोलाइन्‌। त्यसबेलादेखि ८६ वर्षीया यी महिलाले ननहरूको नकारात्मक टिप्पणीको बावजुद नियमित बाइबल अध्ययन गर्दैछिन्‌। उनी केही मसीही सभाहरूमा पनि उपस्थित भएकी छिन्‌।

हितोपदेश १:२० यसो भन्छ: “बुद्धि खुला सडकहरू तिर कराउँछ, त्यसले चोकहरूतिर आफ्नो सोर उचाल्छ।” सान मिगेल डे आयेन्डाको चोकमा के भयो, ध्यान दिनुहोस्‌। बिहान सबेरै राल्फले बेन्चमा बसिरहेका एक जना अधबैंसे मानिससित कुरा गरे। प्रहरीधरहराब्यूँझनुहोस्‌! पाउँदा यी मानिस छक्क परे अनि राल्फलाई आफ्नो कथा सुनाए।

उनले भियतनाम युद्धमा लडेका रहेछन्‌ अनि त्यतिबेला धेरै मरेको देखेको कारण भावनात्मक तनावले गर्दा सैन्य सेवामा छँदा मानसिक सन्तुलन गुमाएका रहेछन्‌। उनलाई सेनाको अग्रपंक्‍तिबाट आधार शिविरमा पठाइएछ। त्यहाँ, उनलाई मरेका सिपाहीहरूको लास संयुक्‍त राज्य अमेरिकामा पठाइनुअघि सफा गर्ने काममा लगाइएछ। अहिले ३० वर्षपछि पनि उनी दुःस्वप्ना र त्रासका भावनाहरूले पीडित रहेछन्‌। त्यस बिहान उनी त्यहाँ चोकमा बसेर मनमनै मदतको लागि प्रार्थना गरिरहेका रहेछन्‌।

यी भूतपूर्व सैनिकले साहित्यका साथै राज्यभवनमा आउने निम्तो पनि स्वीकारे। राज्यभवनमा दुई घण्टा बस्दा तिनले ३० वर्षमा पहिलो चोटि शान्तिको अनुभूति गरेको कुरा सभा सकिएपछि बताए। यी मानिस सान मिगेल डे आयेन्डामा केही हप्ताको लागि मात्र आएका थिए तर उनले निकै चोटि बाइबल अध्ययन गर्नुका साथै घर फर्कुन्जेल सबै सभाहरूमा उपस्थित भए। उनको अध्ययनलाई निरन्तरता दिन प्रबन्धहरू मिलाइयो।

काम गर्ने ठाउँ र स्कूलमा अनौपचारिक साक्षी दिने

के तपाईंले काम गर्ने ठाउँमा आफू एक जना यहोवाको साक्षी हुँ भनेर थाह दिंदै हुनुहुन्छ? केप सान लुकासमा बिदा मनाउन आउनेहरूका लागि अपार्टमेन्ट भाडामा दिने काम गर्ने एड्रियनले यसो गर्छन्‌। यसको फलस्वरूप के भयो, तिनकी सहकर्मी जुडी बताउँछिन्‌: “तीन वर्षअघि कसैले मलाई ‘तिमी यहोवाको साक्षी बन्छौ’ भनेर सोधेको भए मैले यसो भन्‍ने थिएँ, “अहँ, कहिल्यै बन्दिनँ!” तर अहिले मलाई बाइबल पढ्‌ने इच्छा जाग्न थाल्यो। मैले सोचें, ‘त्यति गाह्रो नहोला किनभने मलाई पढ्‌न मन पर्छ।’ तर छ पाना जति मात्र के पढेको थिएँ मैले अरू कसैको मदत चाहिने महसुस गरें। मेरो दिमागमा आएको एउटै मान्छे, मेरो सहकर्मी एड्रियन थियो। मलाई उसित कुरा गर्न मन पर्थ्यो किनभने हामी काम गर्ने ठाउँमा भलादमी मान्छे भनेको ऊ मात्रै थियो।” एड्रियनले तुरुन्तै आफ्नो मङ्‌गेतर क्येटीसित आउने अनि जुडीका सबै प्रश्‍नहरूको जवाफ दिने प्रबन्ध मिलाए। क्येटीले उनीसित बाइबल अध्ययन सुरु गरिन्‌ अनि धेरै समय बित्न नपाउँदै जुडी एक जना बप्तिस्माप्राप्त साक्षी बनिन्‌।

स्कूलमा अनौपचारिक साक्षी दिने बारेमा नि? दुई जना साक्षीले विश्‍वविद्यालयमा स्पेनी भाषा सिक्दै थिए तर मसीही सम्मेलनमा उपस्थित हुन एक दिन कक्षामा गयल भए। तिनीहरू कक्षामा फर्कंदा तिनीहरूले त्यो दिन के गरे भनी स्पेनी भाषामा बताउन लगाइयो। तिनीहरूले यो मौकाको फाइदा उठाउन यथासक्दो प्रयास गर्दै स्पेनी भाषामा साक्षी दिए। शिक्षिका, सिल्भियाको बाइबलका भविष्यवाणीहरूमा निकै चासो थियो। तिनी अंग्रेजी भाषामा बाइबल अध्ययन गर्न राजी भइन्‌ अनि अहिले सुसमाचारको प्रकाशक भएकी छिन्‌। तिनको परिवारका थुप्रै सदस्यहरू पनि अध्ययन गर्दैछन्‌। सिल्भिया यसो भन्छिन्‌: “मैले जिन्दगीभर जे खोजिरहेकी थिएँ, त्यो पाएँ।” हो, अनौपचारिक साक्षीकार्यले राम्रो फल फलाउन सक्छ।

अन्य मौकाहरूका सदुपयोग गर्दै

पाहुना सत्कार गर्दा पनि साक्षी दिने मौका खुल्न सक्छ। सान कार्लोस, सोनोरामा सेवा गरिरहेका जिम र गेलले यसको सत्यता अनुभव गरे। बिहान छ बजेतिर आफ्नो कुकुरलाई डुलाउन लगिरहेकी आइमाई तिनीहरूको राम्रो बगैंचा हेर्न एकछिन रोकिइन्‌। जिम र गेलले तिनलाई कफी खान भित्र बोलाए। तिनले ६० वर्षमा पहिलो चोटि यहोवा अनि अनन्त जीवनको प्रत्याशाबारे सुनिन्‌। बाइबल अध्ययन सुरु भयो।

त्यसै गरी, एड्रिन पनि परदेशीहरूसित दयालु व्यवहार गर्छिन्‌। तिनी कानकुनको एउटा रेस्टुराँमा खाइरहेकी बेला एउटा केटोले तिनी क्यानाडाकी हुन्‌ की भनेर सोधे। तिनले हो भन्‍ने जवाफ दिएपछि उनले आफ्नी बहिनीलाई क्यानेडियालीहरू सम्बन्धी रिपोर्ट तयार पार्न आफू र आफ्नो आमाले मदत गरिरहेको कुरा बताए। अंग्रेजी बोल्ने आमा कुराकानी गर्न आइन्‌। क्यानेडियालीहरूबारे तिनको प्रश्‍नको जवाफ धैर्यपूर्वक दिइसकेपछि एड्रिनले भनिन्‌: “तर म क्यानाडाबाट यहाँ आउनुको एउटा एकदमै महत्त्वपूर्ण कारण छ—त्यो हो, मानिसहरूलाई बाइबलबारे सिक्न मदत दिनू। के तपाईं त्यो जान्‍न चाहनुहुन्छ?” ती आइमाईले चाहन्छु भनिन्‌। उनले दस वर्षअघि चर्च छोडेकी रहिछन्‌ अनि आफैले बाइबल अध्ययन गर्ने प्रयास गरिरहेकी थिइन्‌। उनले एड्रिनलाई आफ्नो फोन नम्बर र ठेगाना दिइन्‌ अनि एउटा इनामदायी बाइबल अध्ययन सुरु भयो।

“आफ्नो अन्‍न पानीमा फालिदेऊ”

हरेक मौकामा बाइबलको सत्यबारे कुरा गर्दा अक्सर परमेश्‍वरको राज्यसन्देशबारे कम मात्र सुन्‍ने मौका पाएका वा सुन्दै नसुनेका मानिसहरूलाई साक्षी दिने मौका मिल्छ। सिवाटेन्को नाउँको एउटा बन्दरगाहको व्यस्त क्याफेमा एक जना साक्षीले दुई जना विदेशीलाई आफ्नो टेबलमा बस्न बोलाइन्‌ किनभने त्यहाँ मान्छे खचाखच थिए। यी दम्पतीले समुद्री यात्रा गरेर विभिन्‍न ठाउँमा गएको सात वर्ष भइसकेको रहेछ। तिनीहरूले यहोवाका साक्षीहरूबारे आफ्नो नकारात्मक भावना व्यक्‍त गरे। क्याफेमा भएको भेटपछि ती साक्षी उक्‍त दम्पतीलाई तिनीहरूकै डुङ्‌गामा भेट्‌न गइन्‌ र तिनीहरूलाई आफ्नो घरमा बोलाइन्‌। तिनीहरूले २० वटा भन्दा बढी पत्रिका र ५ वटा पुस्तक लिए अनि तिनीहरू जाने अर्को ठाउँमा साक्षीहरूलाई खोज्ने प्रतिज्ञा गरे।

जेफ र डेबले कानकुनको सपिङ सेन्टरको फुड कोर्डमा एउटा परिवारले राम्रो बच्चा बोकिरहेको देखे। तिनीहरूले बच्चाबारे टिप्पणी गरेपछि ती आमाबाबुले सँगै पिजा खान बोलाए। यो परिवार भारतबाट आएको रहेछ। तिनीहरूले यहोवाका साक्षीहरूबारे कहिल्यै सुनेका थिएनन्‌ अनि हाम्रा साहित्यहरू पनि देखेका थिएनन्‌। तिनीहरू त्यस सपिङ सेन्टरबाट जाँदा साक्षीहरूसित केही प्रकाशनहरू लिए।

युकाटानको तटवर्ती इलाकामा पर्ने एउटा टापुमा पनि यस्तै एउटा घटना भयो। एक नवविवाहित चिनियाँ दम्पतीले जेफलाई तिनीहरूको तस्विर खिचिदिन आग्रह गरे र त्यो तिनले खुसीसाथ गरे। त्यसपछि तिनले यी दम्पती संयुक्‍त राज्य अमेरिकामा बसेको १२ वर्ष भइसकेको, तैपनि यहोवाका साक्षीहरू कहिल्यै नदेखेको वा तिनीहरूबारे नसुनेको कुरा थाह पाए! एउटा रोचक कुराकानी सुरु भयो। जेफले तिनीहरूलाई घर फर्केपछि साक्षीहरूलाई खोज्न प्रोत्साहन दिए।

तपाईंको इलाकामा आयोजना गरिने कुनै विशेष घटनाले अनौपचारिक साक्षी दिने मौका खुल्न सक्छ। संयुक्‍त राज्य अमेरिकाका राष्ट्रपति, मेक्सिकोका राष्ट्रपतिको ग्वानाहोतो निवासमा आउँदा संसारभरिका संवाददाताहरूले यस घटनाबारे रिपोर्ट गरे। एउटा परिवारले यो मौकाको सदुपयोग गर्दै अंग्रेजीमा प्रचार गर्ने निर्णय गरे। प्रतिक्रिया सकारात्मक थियो। उदाहरणका लागि, एक जना संवाददाताले थुप्रै युद्धहरूबारे रिपोर्ट गरेका रहेछन्‌, जस्तै कोसोभो र कुवेत। तिनका एक जना साथी स्नाइपरको गोली लागेर तिनकै काखमा मरेका रहेछन्‌। पुनरुत्थानको विषयमा सुनेपछि तिनले जीवनको उद्देश्‍य छ भनेर थाह दिएकोमा आँखाभरि आँसु पार्दै परमेश्‍वरलाई धन्यवाद दिए। तिनले यी साक्षी दम्पतीलाई फेरि नभेट्‌ने भए तापनि बाइबलको यो सुसमाचार कहिल्यै नबिर्सने, सधैं आफ्नो मनमा राख्ने कुरा बताए।

यी सबै अनुभवहरूले देखाएझैं यस्ता साक्षीकार्यले कस्तो परिणाम ल्याउनेछ भनेर अक्सर थाह हुँदैन। तथापि, बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “आफ्नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ।” तिनले थप यसो पनि भने: “बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान्‌ भनी तिमी जान्दैनौ।” (उपदेशक ११:१, ६, नयाँ संशोधित संस्करण) हो, जोसिलो भएर पानीमा ‘अन्‍न फाल्नुहोस्‌’ अनि पावल र येशू अनि मेक्सिकोका अंग्रेजी बोल्ने क्षेत्रका आधुनिक साक्षीहरूले झैं कन्जुस्याइँ नगरी ‘बीउ छर्नुहोस्‌।’